| मङ्लबार, कार्तिक २४, २०८३

२०७४ को समानुपातिक मत र स्थानीय तहको मतको आधारमा सिट बाँडफाँट गर्दै गठबन्धन दल

सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठकले मंसिर ४ को निर्वाचनमा सिट बाँडफाँट गर्दा के कसरी गर्ने भन्ने खाका बनाउन थालनी गरेको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ सालको निर्वाचनको समानुपातिक मत र वैशाखमा भएको स्थानीय तहको मतलाई आधार बनाउने तयारी गरेको छ। 

‘आज कार्यदलको बैठक बस्यो। चाँडैभन्दा चाँदै गृहकार्य पुरा गर्न कामहरुलाई व्यवस्थित रुपले अघि बढाउँदै छौँ,’ कार्यदलका सदस्य तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ को समानुपातिक मत, २०७९ स्थानीय तहको मतको आधार बनाउने एक खालको सहमति भएको छ।’ 

कार्कीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले २०७४ को निर्वाचन नलडेको कारण त्यसलाई सम्बोधन गर्ने गरी अर्काे मापदण्ड पनि बनाइने जानकारी दिए।  उनले कार्यदलभित्रै सिट बाँडफाँटको कुरा टुंग्याएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी भइरहेको पनि बताए।    

गठबन्धनले बनाएको कार्यदलमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक छन्। कार्यदलमा कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा, कार्की छन्। त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा सदस्य छन् भने  नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल सदस्य छन्। जसपाबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन् भने जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्। 

प्रतिक्रिया दिनुहोस्