
गोरखाका पालिकाहरुद्वारा कमशल सेनिटरी प्याड वितरण
गोरखाका पालिकाहरुले सामुदायिक विद्यालयका छात्राहरुलाई गुणस्तरहीन सेनिटरी प्याड वितरण गर्ने गरेको छ । कतै साइजै नमिल्ने र कतै चुहिने सेनिटरी प्याड वितरण गरेको विद्यालयहरुको गुनासो छ ।
‘हाम्रो स्कूलमा त धेरै पातलो र गुणस्तरहीन प्याड आएको छ’, सूर्योदय मावि धार्चेका प्रअ लोकबहादुर गुरुङ भन्छन्, ‘कस्तो कमशल खालको प्याड हो कुन्नि, चुहिन्छ भनेर केटीहरु लगाउनै आनाकानी गर्छन् ।’
च्यातेर हेर्दा प्याडभित्र न्याप्किन पेपरलाई एकसरो ढाकेर बनाएको भेटिएको गोरखा नगरपालिकाको एक विद्यालयका प्रअ बताउँछन् । देशभर आपूर्ति गर्न ठेकेदार कम्पनी र उत्पादक कम्पनीको मिलेमतोमा कमशल सेनिटरी प्याड उत्पादन गरेर आपूर्ति गरिएको उनको तर्क छ । ‘गतबर्ष २४५ एमएमको थियो, अहिले २४० एमएमको छ’, बालमन्दिर माविका प्रअ शिव थापा भन्छन्, ‘बर्षेनी गुणस्तर खस्किँदै छ । साना ठूला सबै विद्यार्थीलाई एउटै साइजको प्याड दिनु र नदिनुको अर्थ छैन ।’
महिनावारी हुँदा असुविधा भएकाले छात्राहरुले विदामा बस्नु पर्ने तथा कतिपयले पढाइ नै छाड्नु पर्ने गुनासो बढ्न थालेपछि सरकारले पाँचर्ष अघिदेखि निशुल्क प्याड वितरणको कार्यक्रम ल्याएको हो ।
‘गाउँपालिकाले छात्राहरुलाई सेनिटरी प्याड दिने कार्यक्रम सञ्चालन गर्न थालेपछि अहिले महिनावारी हुँदा विदामा बस्नु परेको छैन । ‘डूपआउट’ पनि हुँदैनन्’, आहालभञ्ज्याङ मावि थालाजुङका प्रधानाध्यापक केसरसिँह बस्नेत भन्छन्, ‘निशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम धेरै प्रभावकारी बनेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले टेण्डर गरेर एउटै साइजको प्याड किन्ने रहेछ । हाम्रातिर बाहुन समुदाय र गुरुङ समुदायका छात्राहरु छन् । कोही मोटा छन्, कोही दुब्ला पातला । एउटै साइजका प्याड कसरी मिल्छ ?’ गुणस्तरहीन र बेसाइजका सेनिटरी दिने कार्यक्रम खाए खा, नखाए घिच् भनेजस्तो रहेको उनको भनाइ छ ।
गोरखाका सबै पालिकाको स्वास्थ्य शाखाले विद्यालयहरुमा यथेष्ट सेनिटरी प्याड वितरण गरेको छ । स्कूलका छात्राहरुलाई मात्र नभै उनीहरुका घरका आफन्त र शिक्षिकाहरुलाई समेत पुग्ने गरी सेनिटरी प्याड उपलब्ध गराउने गरेका छन् ।
परिमाणमा पर्याप्तता भए पनि गुणस्तरमा कमजोरी रहेको महालक्ष्मी मावि लक्ष्मीबजारका प्रधानाध्यापक चुडामणि काप्रीको भनाइ छ । ‘नगरपालिकाले पर्याप्त मात्रामा सेनिटरी प्याड पठाउँछ । गतबर्ष उब्रेको प्याड हामीले द्रव्यशाह क्याम्पसका छात्राका लागि समेत दुईबोरा दिएका थियौँ’, उनी भन्छन्, ‘यो कार्यक्रम असाध्यै राम्रो छ तर गुणस्तरमा भने समस्या छ । एउटै थैलाभित्र पनि थरीथरी प्याड हुन्छ कि ? कुनै राम्रो, कुनै नराम्रो फेला पारेको छु ।’ गुणस्तर नापजाँच हुनु जरुरी रहेको उनको सुझाव छ । ‘ठेक्का लागेको भन्दा ५० प्रतिशत घटेर ठेक्का पारेका रहेछन्’, उनले भने, ‘त्यसैले कम गुणस्तरका प्याड उपलब्ध गराएका हुनसक्छन् ।’
विभिन्न उमेर र विभिन्न शारीरिक बनोटका छात्राहरुलाई एउटै साइजका सेनिटरी प्याड उपयुक्त नभएको सदरमुकामको शक्ति माविका प्रधानाध्यापक बद्री अर्यालको भनाइ छ । ‘हाम्रो विद्यालयमा पाँचसय जनाजति छात्राहरु छन् । बार्षिक ३० बोरा सेनिटरी प्याड आउँछ’, उनी भन्छन्, ‘घरमा अरु महिनावारी हुनेहरुलाई पनि दिए हुन्छ भनेर पठाउने गरेका छौँ तर जति आएपनि क्वालिटी चाहिँ खत्तम छ । चार–पाँच कक्षा पढ्ने र ११, १२ कक्षा पढ्नेहरुलाई एउटै साइजको प्याड कसरी मिल्छ र ?’ प्रभावकारी कार्यक्रम भएकाले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तर समस्या र सुझाव संकलन गर्नुपर्ने उनले बताए ।
बारपाकको हिमालय माविमा पनि विगत पाँचबर्षदेखि सेनिटरी प्याड वितरण हुन्छ । गुणस्तर र साइजसम्बन्धी गुनासो नआउने गरी प्याड वितरण गर्न सके छात्राहरुका लागि धेरै प्रभावकारी हुने प्रअ जनीबहादुर घलेको भनाइ छ ।
पालिकाले भने तोकिएको मापदण्डअनुसार प्याड वितरण गरेको जनाएको छ । ‘पारिवारिक प्रयोग पनि होओस् भन्ने उद्देश्यले पर्याप्त वितरण गरेका हुन्छौँ । यसमा कतैबाट पनि गुनासो आएको छैन’, गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मी भन्छन्, ‘तर साइज, बाक्लोपन गुणस्तर विभागले नापजाँच गरेर वितरण गरेका हौँ । अब परिवार नियोजनका अस्थायी साधन झैँ विभिन्न साइजका प्याड बक्समा राखेर चाहिएजति लानुस् भन्ने अवधारणा अनुसार वितरण गर्नुपर्छ ।’ उपभोक्ताको सल्लाहसुझाव अनुसार काम गर्दै जाने उनले बताए ।




