| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा भदौ ३ गते हुने जेसिजको क्षेत्र ख सम्मेलनको उद्घाटन प्रचण्डले गर्ने

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन २०७९ गोरखामा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३ र ४ गते गोरखा सदरमुकाममा स्थित संग्रहालय परिसरमा सम्मेलन हुन लागेको निर्देशक गोरखा जेसिजका पूर्व अध्यक्ष भगवानबाबु मास्केले बताए । सम्मेलनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसिजका पुर्व र वर्तमान पदाधिकारीहरु, नेपाल जेसिज ‘क्षेत्र ख’ का ३९ वटा शाखाबाट, जुनियर जेसिज ४ वटा शाखा गरी ४३ वटा शाखाबाट र क्षेत्र क, ग, घ का प्रतिनिधिहरु पनि सहभागी हुनेछन । सम्मेलनमा सबै गरेर करिब छ सय जना सम्मेलनमा सहभागी हुने अनुमान गरिएको उनले बताए ।

कार्यक्रममा जेसिज क्षेत्र ख का ३९ वटा शाखाका र जुनियर जेसिज शाखाका अध्यक्ष तथा पदाधिकारीहरुलाई निपुर्ण बनाउन नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम संचालन हुने उनले जानकारी दिए । त्यस्तै, गोरखा जिल्लाको ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको प्रचार प्रसार गर्न, जिल्लाको पर्यटन प्रवद्र्धनका साथै यहाँको साँस्कृतिक, भेषभुषा आदिको प्रवद्र्धनमा सम्मेलनले योगदान गर्ने उनले बताए ।
कार्यक्रममा सहभागि हुन आउने पाहुनाहरुलाई होटलसँगै केहीलाई होमस्टेमा राख्ने व्यवस्था गरिएको उनले बताए । ‘यहाँका होटलहरुसँग समन्वय गरेर ब्यवस्थापन गरेका छौँ’ उनले भने, ‘गोरखाको प्रचार प्रसार, पर्यटन प्रवद्र्धनमा सम्मेलनमा मद्दत पुग्छ ।’

सोहि कार्यक्रमको अवसरमा गत वैशाख ३० गतेको स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित जेसिजका पदाधिकारीहरुलाई, हिमाल आरोही गोरखाकी पुर्णिमा श्रेष्ठ र एसईई परिक्षामा चार जिपिए ल्याउन सफल विद्यार्थी लगायतका व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको गोरखा जेसिजका अध्यक्ष शैलेन्द्र भट्टले बताए ।

गोरखा जेसिजको आतिथ्यतामा चौथौ पटक उक्त कार्यक्रम गोरखामा हुन लागेको हो । उनका अनुसार यस अघि सन १९९३, १९९८ र २०११ मा गोरखामा भएको थियो । सम्मेलनमा युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास, समसामयिक विषयमा छलफल, भावी योजना तयार हुने उनले बताए ।

यस्तै, कार्यक्रमा बाग्लुङ, म्याग्दी, स्याङजा, रौतहट, सर्लाही, मगवानपुर लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट जेजिसका पदाधिकारी आउने सम्मेलनका उपनिर्देशक शरण श्रेष्ठले बताए । कार्यक्रम संचालनका लागि करिब ४० लाख लाग्ने अनुमान गरिएको छ । यसका लागि विभिन्न संघसंस्था, स्थानीय तह, संस्थाले प्रकाशित गरेको स्मारिकामा छापेको विज्ञापन आदिबाट रकम संकलन गर्ने उनले बताए । नेपाल जेसिजले पनि एक लाख दिने निर्णय गरेको उनले बताए ।

सम्मेलनको व्यवस्थापनका लागि १५ वटा उपसमिति निर्माण गरिएको छ । सम्मेलनमा उपस्थिति हुने सहभागिहरुको खाना, आवास लगायतका सबै व्यवस्थापन उपसमितिले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्