| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा व्यवस्थित पार्किङको समस्या, पार्किङ गर्न भाडा तिर्दै व्यवसायी

केशव गुरुङ :

गोरखा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा जिल्ला भित्रिने र बाहिरिने सवारी साधनहरु व्यवस्थापन तथा पार्किङ गर्न समस्या हुने गरेको छ । सदरमुकाम आसपास क्षेत्रमा व्यवस्थित र फराकिलो पार्किङ गर्ने ठाउँ नहुँदा सवारी चालकले पार्किङ गर्न सधै सास्ती खेप्नुपरेको हो ।

व्यवस्थित बसपार्क नहुँदा अहिले गोरखा सदरमुकाममा सडक छेउ, सवारी धनी वा चालकको घर अगाडि, ग्यारेजमा अब्यवस्थित रुपमा पार्किङ गर्ने क्रम बढेको छ । बारपाक–भच्चेक बस चलाउदै आएका रेशमबहादुर नेपालीले पनि सदरमुकाममा बस पार्किङ गर्न धेरै समस्या रहेको बताए । ‘यो पुरानो बसपार्कमा तीन चार वटाभन्दा धेरै बस अट््दैन । वरिपरि लगेर पार्किङ गर्ने भनिए कतै पनि ठाउँ छैन’, उनले भने, ‘यहाँ बस पार्किङ गर्न धेरै समस्या छ । हामी त सधै प्राइभेट ग्यारेजमा भाडा तिरेर राख्छौँ । यहाँ आफ्नो क्यु आएपछि मात्र ग्यारेजबाट ल्याउछौ ।’ ठाउँ साँघुरो भएकाले धेरै बसहरु हुदा जाम हुने गरेको उनले बताए ।

No description available.

अरु जिल्लामा सुविधायुक्त बसपार्क रहेको तर गोरखामा सुविधायुक्त बसपार्क नहुँदा धेरै समस्या हुने गरेको उनले बताए । सधै ग्यारेजमा बस पार्किङ गर्दा असुरक्षित हुने गरेको पनि उनले बताए । ‘सधै ग्यारोजमा पाकिंङ गर्दा सुरक्षित हुदैन । विभिन्न ठाउँबाट आएका गाडीहरु आउँछन, जान्छन, निकाल्दा छोइदिन्छ । कहीकाही बसमा राखेका सामानहरु हराउछँन्’, उनले भने । बजार क्षेत्र आसपास व्यवस्थित सुविधा सम्पन्न बसपार्क निर्माण गर्नुपर्ने उनले बताए ।

अर्का बस व्यवसायी सभीद महोमद मियाले गोरखा सदरमुकाममा बस पार्किङ गर्न धेरै समस्या हुने गरेको बताए । ‘यहाँ बस पार्किङ गर्ने ठाउँ छैन । यहाँ बस पार्किङ गर्ने ठाउँ नहुँदा पैसा तिरेर निजी जग्गामा पार्किङ गर्नुपरेको छ । अन्य ठाउँमा हेरी हेरी घण्टा वा एक रातको न्यूनतम पचास रुपैयादेखि माथि तिनुपर्छ’, उनले भने । सदरमुकाममा बसपार्क नहुँदा सबैले दिनगन्ती हिसाबले भाडा तिरेर बस पार्किङ गर्नुपरेको उनको गुनासो छ । उनी हाल गोरखा बजारदेखि हर्मीसम्म बस सेवा दिदै आएका छन् । सदरमकाम आसपासमा शौचालय, खानेपानी र सिसि क्यामरा सहित बसपार्क हुनुपर्ने उनले बताए ।

No description available.

अर्का बस व्यवसायी भरत नेपाली बसपार्कमा पार्किङ गर्ने ठाउँ नहुँदा घरमै बस पार्किङ गर्ने गरेका छन् । उनले चोरकाटेमा रहेको घरमा बस पार्किङ गर्ने गरेका छन् । गोरखा भच्चेक र गोरखा बारपाक बस चलाउदै आएका उनी आफ्नो पालो आएपछि मात्र बसपार्कमा बस ल्याउने गरेको बताए ।

त्यस्तै, बारपाक भच्चेक बस चलाउदै आएका पदम लामा पनि बसपार्कमा पार्किङ गर्ने ठाउँ नहुदा पैसा तिरेर अन्य ठाउँमा बस पार्किङ गर्दै आएको बताए । ‘अहिले नयाँबजारमा पैसा तिरेर बस पार्किङ गर्दै आएको छु । एक रात राखेको ५० रुपैया तिर्छु’, उनले भने । बसपार्कमा ठाउँ साँघुरो भएकाले आफ्नो पालो आएपछि मात्र बस ल्याउने गरेको उनले बताए ।
गोरखाको बसपार्कमा ठाउँ साँघुरो भएकाले बस घुमाउन समेत समस्या हुने गरेको गोरखा काठमाडौ बस चलाउदैं आएका विनोद विकले बताए ।

‘यहाँ बस घुमाउन धेरै समस्या हुन्छ । झनै ठुलो बस आउदा घुमाउन धेरै अप्ठारो हुन्छ ।’, उनले भने, ‘ठूलठूला गाडी आयो भने घुमानउने ठाउँ नै छैन । त्यसैले बजार क्षेत्रमा एउटा फराकिलो र व्यवस्थित बसपार्क बनाउनुपर्छ ।’ उनी पनि राती ग्यारेजमा नै बस पार्किङ गर्ने गरेको बताए ।

No description available.

पार्किङ समस्या समाधानका लागि गोरखा नगरपालिका वडा नं ७ स्थित डण्डीडाँडामा बसपार्क निर्माण सुरु गरेको वर्षौ भइसकेको छ । तर हालसम्म बसपार्क निर्माण पूरा नहुँदा संचालन आउन सकेको छैन । तर बसपार्क निर्माणका लागि पर्याप्त बजेट विनियोजना नहुँदा र बसपार्कसम्म सहज सडकको पहुँच नपुग्दा बसपार्क निर्माण कार्यमा ढिलाई भएको संघीय आयोजना कार्यानवय ईकाइ कास्की सबइन्जिनीयर पुरुषोत्तम पंगेनीले बताए । बसपार्कमा हालसम्म रिटेनिङ वाल निर्माण र ग्रावेलको काम भइकेको छ । दुई वटा ब्लकमा कार्यालय, टिकट काउन्टर, शौचालय लगायत गरी पाँचवटा कोठाको भवन निर्माण भइसकेको उनले बताए ।

थप पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा ४५ लाख बजेट विनियोजना भएको छ । उक्त बजेटबाट बसपार्कमा नाली निर्माण गर्ने, बाटो पिच गर्ने, ढलान गर्ने लगायतका पूर्वाधार निर्माणका लागि शिव निर्माण सेवाले जिम्मा लिएको उनले बताए । सम्झौता भएअनुसार आगामी असार मसान्त सम्ममा सबै काम सक्नुपर्ने छ । तर यो बजेट पर्याप्त भने नभएको उनले बताए । गोरखा बजारबाट बसपार्क सम्मको करिब चार किलोमिटर सडक पिच गर्नुपर्ने, सडक फराकिलो बनाउनुपर्ने र बसपार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि करिब पाँच करोड बजेट चाहिने उनले बताए ।

No description available.


सो बसपार्क यस अघि साविकको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हेर्दै आएको थियो । तर भवन डिभिजन कार्यालयले २०७५ सालमा बसपार्क निर्माण जिम्मा संघीय आयोजना कार्यान्वन इकाईलाई सुम्पिएको थियो ।
तीन तहका सरकार बनेपछि बसपार्क निर्माणको योजना संघीय सरकार मार्फत कार्यान्वयन हुने क्रममा संघीय आयोजना कार्यान्वयन इकाई कास्की मातहत निर्माण भएको हो । हाल बसपार्क निर्माणसँगै नयाँबजारमा निर्माणधिन सभाहल संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले हेर्दै आइरहेको छ ।

No description available.

अहिले गोरखाको ग्रामिण सडकमा चल्ने यात्रुबाहक बस घ्याम्पेशाल टिकट काउन्टर, खोलखोलेका ग्यारेज आसपास पार्किङ हुने गरेको छ । पक्की रुटमा चल्ने यात्रुबस यसअघि नयाँ बसपार्कमा पार्किङ हुन्थ्यो भने अहिले सडक छेउको खुल्ला ठाउँमा नयाँ बजार क्षेत्रमा पार्कीङ भएको देखिन्छ । माईक्रोबस भने सवारी धनीको घर अगाडी देखिन्छन् । गोरखा बजार क्षेत्रमा पार्किङ ब्यवस्थित नहुँदा शैक्षिक भ्रमणको सिजनमा यहाँ आएका सवारी साधन ब्यवस्थापनमा समस्या हुने गरेको छ । सडक छेउमा पार्किङ गराउँदा दुर्घटनाको जोखिम समेत बढ्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्