
गोरखामा अब २ हजार काठेपोल हटाउन बाँकी
गोरखामा काठेपोल विस्थापन कार्य करिब अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार काठेपोल विस्थापन कार्य अन्तिम चरणमा पुगेको हो ।
जिल्लाभर करिब २ हजार भन्दा बढी काठेपोल विस्थापन गर्न बाँकी रहेको गोरखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानले बताए । उनका अनुसार गोरखा नगरपालिका भित्रका वडा नं ३, ४, १३ र १४, पालुङटार नगरपालिकाका १, ६, ७, ९ र १० का केही स्थानमा काठेपोल विस्थापना गर्नुपर्ने देखिएको छ । त्यस्तै, अन्य पालिकाहरु भीमसेनथापा, सिरानचोक, आरुघाट, बारपाक सुलिकोट लगायतका गाउँपालिकामाहरु काठेपोल विस्थापन गर्नुपर्ने देखिएको उनले बताए ।
गोरखामा करिब ६ प्रतिशत काठेपोल विस्थापना गर्न बाँकी रहेको उनले जानकारी दिए ।
गोरखा जिल्लामा प्रदेश अन्तरगका कार्यालयहरु पनि विद्युतको फलामका पोलहरु खरिद गरेर स्थानीय तहलाई वितरण गरिरहेका छन् । त्यस्तै, स्थानीय निकाय आपैmले पनि खरिद गरेर ल्याएका फलामका पोल धेरै ठाउँमा नगाडी राखिएकाले जिल्लाभर कति काठेपोल विस्थापन भयो भनेर यकिन तथ्यांक नभएको न्यौपानेले जानकारी दिए ।
अझ यसमा जिल्लाका विभिन्न स्थानमा रहेको सातवटा सामुदायिक विद्युत केन्द्रहरु नसमेटिएको उनले बताए । सामुदायिक विद्युत केन्द्रमा माथि केन्द्रबाट नै काठेपोल विस्थापन कार्यक्रम संचालन हुने उनको भनाइ छ । त्यसैल ती ठाउँमा धेरै काठेपोल हुन सक्ने अनुमान गरिएको छ । गोरखाको सिरानचोक, भीमसेन, आरुघाट, बारपाकसुलिकोट लगायतका गाउँपालिकाका विभिन्न टोलबस्तीहरुमा गरी सात वटा सामुदायिक विद्युत केन्द्र रहेको छन् ।
यसमा सरकारको ९० प्रतिशत र समुदायको १० प्रतिशत लगानी रहेको हुन्छ ।
त्यस्तै, सरकारको लक्ष्य अनुसार नै काठेपोल विस्थापन गरी फलामको पोल राख्ने कार्यलाई प्राथमिकता साथ अगाडि बढाएको समेत उनले जानकारी दिए ।




