
एघारकिलो, बारपाक सडक योजना कार्यालयको काम कछुवा गतिमा
नरहरि सापकोटा :
आँबुखैरेनी गोरखा सडकको बारकिलोदेखि बारपाकसम्म पक्की सडक निर्माण गर्ने उद्देश्यले एघारकिलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालय नाम दिएर सडक विभागले कार्यालय स्थापना ग¥यो । सडक योजना कार्यालय स्थापना भएको १५ बर्ष भयो, तर अहिलेसम्म सडक स्तरोन्नतिको काम कछुवा गतिमा भइरहेको छ ।
२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री र हिसिला यमी भौतिक योजना मन्त्री हुँदा स्थापना भएको सो कार्यालय मूल उद्देश्य थाती राखी अन्यत्रका टुक्रे कार्यक्रममा भुलिरहेको छ ।
२०७२ असार ३१ गते ठेक्का लागेको गोरखा–बारपाक सडकको २२ देखि ३० किलोमिटरको खण्ड अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । लोहनी एण्ड ब्रदर्श प्रालिले १३ करोड २० लाखमा आठ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । ठेक्का सम्झौता गरेको सात वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले आठ किलोमिटर सडक कालोपत्रे गर्न सकेको छैन ।

उक्त सडक खण्डमा अझै २० प्रतिशत भन्दाबढि काम बाँकी छ । सम्झौता भएको मितिले दुईवर्षभित्र सक्नुपर्ने योजनाको काम यही गतिमाअघि बढ्ने हो भने निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्छ । निर्माण कम्पनीले सम्झौता रकमको ७५ प्रतिशत भुक्तानी लगिसकेको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका इन्जिनियर बिष्णु पाण्डेले बताए । यसअघि पटक–पटक थप भएको म्याद २०७८ चैत ३० गते सकिएको छ ।
सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधनको कारण देखाएर फेरि एकवर्ष म्याद थप्ने तयारी छ । यसअघि भुकम्पको असर, कोरोनाका कारण कामदार अभाव भएको, क्रोनिक ठेक्कालाई एक वर्ष म्याद थप गर्ने सरकारको बिभिन्न पटकको निर्णयले काम नगर्ने निर्माण कम्पनीलाई राहत मिलेको थियो । पटक–पटक समय थपहुँदासमेत काम नगर्ने निर्माण कम्पनीलाई कारवाहीको सट्टा पुरस्कार दिँदा काम समयमै हुन नसकेको भन्दै स्थानीय आक्रोशित छन् ।

३० देखि ४६ किलोमिटरसम्म कालोपत्रेको जिम्मा लिएको रसुवा÷इलाईट÷सूर्य जेभीले पनि काम अलपत्र छाडेको छ । २०७३ असार ३० गते ३५ करोड चार लाखमा कार्यालयसँग सम्झौता गरेको निर्माण कम्पनीले छ वर्षमा ७० प्रतिशत मात्रै काम गरेको छ । १६ किलोमिटर सडक खण्डमध्ये अहिलेसम्म एक किलोमिटर पनि कालोपत्रे थप गरेको छैन । ‘स्टक्चर’ को काम मात्रै भएको छ । ६५ प्रतिशत भुक्तानी भइसकेको इन्जिनियर पाण्डेले बताए । यो योजना पनि म्याद थपको प्रक्रियामा छ । यसअघि काम गर्दै आएको सूर्य र ईलाईटले काम छाड्यो । अब रसुवाले कामको जिम्मा लिएको छ । यो कम्पनीले पनि छाडेको खण्डमा आयोजना अलपत्र पर्ने देखिन्छ ।

बाह«किलोदेखि बारपाक सडकको यो दुई खण्डमा काम नहुँदा कालोपत्रे हुनुपर्ने सडकमा बुङ्बुङ्ती धुलो र वर्षातमा हिलो हुने गरेको छ । पक्की सडकमा यात्रा गर्ने बारपाकीको सपना निर्माण ब्यवशायीकै कारण पूरा हुन सकेको छैन । काम नगर्ने निर्माण ब्यवशायीलाई कार्यालयले उन्मुक्ति दिँदा चरम लापर्वाही बढेको गुनासो स्थानीयको छ । ‘चार, पाँच वर्ष पहिला सडक कालोपत्रे हुन्छ भन्ने सुनेका थियौँ’, बारपाकका स्थानीय जीतबहादुर घलेले भने, ‘ठेक्का लागेको सात÷आठ वर्ष भयो अहिले पनि सजिलो गरी यात्रा गर्न मिल्ने सडक बनेको छैन ।’ जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्न नसक्दा बिकास निर्माणको काम अलपत्र परेको उनले गुनासो गरे ।
बारपाकसम्म सवारी साधन आउजाउ गर्न मुस्किल छ । बर्षातको सिजनमा अहिले बालुवा भन्दा माथि सवारी साधन सहज रुपमा चल्ने अवस्था छैन ।

तर सडक आयोजना कार्यालयका प्रमुख पशुपति ज्ञवाली सो आरोप स्वीकार गर्दैनन् । कोभिड १९ को असर, खरिद ऐनको संशोधन लगायत बिभिन्न बाहनामा राज्यले म्याद थप्ने निर्णय गर्दा कारवाहीमा अघि बढ्न नसकेको ज्ञावलीले बताए । ‘यो पुराना ठेक्का हो, ठेक्का तोडेर फेरिठेक्का लगाउँदा राज्यलाई ब्याय भार पर्छ, त्यसैले राज्यले म्याद थपको सुविधा दिईरहेकाले हामीले तोड्न सक्दैनौँ’, उनले भने । निर्माण ब्यवशायीलाई कार्यालयले काम लगाउन नसक्दा वर्षौँदेखिको यो समस्या उस्तै छ ।




