| मङ्लबार, कार्तिक २४, २०८३

लागु पदार्थले चुँडेको एउटा कोपिला !

नरहरि सापकोटा :

गोरखा नगरपालिका ८ आलेगाउँका २० वर्षीय अनिश आले असार ३० गते खोलखोलेस्थित सडकको नालीमा मृत भेटिए । सदरमुकामको खोलखोलेदेखि गोरखा नगरपालिकातर्फ जाने नयाँबस्ती टोलको सडक छेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरीले आलेको मृत्यूको पुष्टि ग¥यो ।

गोरखा अस्पतालमा पोष्टमार्टम भयो । टाउकोमा बाहिरपट्टिबाट सामान्य चोट देखिए पनि भित्रि गहिरो चोटका कारण उनको मृत्यू भएको पोष्टमार्टम रिपोर्ट उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

शव भेटिएपछि उनको मृत्यूको कारण थाहा पाउन प्रहरीले सूक्ष्म अनुसन्धान थाल्यो । आलेको हत्या भएको हुन सक्ने आशंकापछि अनुसन्धानमा अघि बढेको प्रहरीले सात जनालाई पक्राउ ग¥यो । अघिल्लोरात सँगै खानपिन गरेका साथीहरुबाट उनको हत्या भएको निश्कर्षसहित प्रहरीले जिल्ला अदालतमा मुद्धा दायर ग¥यो । अदालतले सातै जनालाई पुर्पक्षका लागि सोमवार थुनामा पठाउन आदेश दिएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका ८ का २० बर्षीय शिशिर थापा, पालुङ्टार ८ का १९ बर्षीय सचिनबाबु कोईराला, पालुङटार २ का १९ बर्षीय सुलभ राना मगर, धार्चे ५ का २३ बर्षीय सुरेश सुनार, बारपाक सुलिकोट ४ का २१ बर्षीय बिष्णु बिक, बन्दिपुर गापा ६ घर भई गोरखा सदरमुकाम बस्ने प्रथम गुरुङ, दाङ घर भई गोरखामा मजदुरी गर्दै आएका नरेश बुढा मगर रहेका छन् ।

प्रहरीले संकलन गरेको प्रारम्भिक अनुसन्धानको निश्कर्ष अनुसार ४२ बर्षीय नरेश बुढामगरबाहेक अन्य सबै असार २९ गते दिउँसोदेखि सँगै थिए । करिब १ बजे अन्य सात जनाको भेट भएको थियो । तीमध्ये चार जनाले ज्याला मजदुरी गर्थे । उनीहरु बीच मजदुरी गरेका साथीको यसअघि काम गरेको भुक्तानी लिन बाँकी पैसा उठाउन जाने सहमति भयो । ज्याला बापतको चार हजार रुपैयाँ बुझेपछि उनीहरु लागु औषधको खोजीमा लागे ।

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित एक मेडिकलबाट रुघाखोकी, ज्वारो, शरीर दुखेको औषधी खरिद गरे । फरक–फरक औषधीलाई लागु औषधको रुपमा उनीहरुले एकै पटक प्रयोग गरे । सँगै हरियो गाँजालाई पनि लागु औषधको रुपमा युवाहरुले प्रयोग गरे । साँझ करिब ६ बजेतिर उनीहरु गोरखा नगरपालिका ६ स्थित हार्डवेयरको स्टोरमा आईपुगे । त्यहाँ काम गर्ने ४२ बर्षीय नरेश बुढाले यसअघि पनि युवाहरुलाई गाँजा खाने ठाउँको रुपमा त्यहाँ बस्न दिने गर्थे । त्यो दिन पनि सात जना युवाहरु साँझ त्यहाँ पुगे ।

गाँजा र लागुऔषधले लठ्ठ भएका उनीहरुले नगरपालिका चोक नजिकै रहेको एउटा होटलमा लोकल मदिरा पिए । युवाहरुले बास दिने नरेश बुढालाई पनि मदिरा सेवनका लागि बोलाए । आठ जनाले सामुहिक रुपमा अत्याधिक मदिरा सेवन गरे । कोही पनि होसमा थिएनन् । मदिरा सेवन गरेर होटलबाट निस्किएपछि कोही हातमा चप्पल बोकेर, एकअर्कोलाई हिर्काउँदै, बोक्दै दिउँसो बसेको ठाउँ (निर्माण सामग्रीको स्टोर) तर्फ लागे ।

‘हामी कोही पनि होशमा थिएनौँ, औषधी, गाँजा र रक्सीले केही थाहा भएन’, पूर्पक्षका लागि थुनामा गएकाहरुको बयान उद्धृत गर्दै प्रहरीले भन्यो, ‘त्यतिबेला घटना भएको देखिन्छ ।’ मदिरा र लागुऔषधले उन्मात युवाहरुबिच हातपातकोे अवस्था सिर्जना भयो । त्यसपछि घटनाबारे आरोपीहरु सबै अनभिज्ञ रहेको बताउँछन् । ७ जना स्टोरमा गएर सुते । बिहान अनिशको शव साथीहरु सुतेको नजिकै नालीमा भेटियो । अपराधको मुख्य कारण लागुऔषध र मदिरा बन्यो ।

मृत्यूको मुख्य कारक प्रहरीले लागुऔषध प्रयोगलाई लिएको छ । ‘रुघाखोकी, ज्वरोको औषधी चिकित्सकको पूर्जी बिना किनबेच गर्छन्’, प्रहरी निरीक्षक सोमदास ढकालले भने, ‘तर लागुऔषधको रुपमा दुब्र्यशनीले प्रयोग गर्ने भएकाले चिकित्सकको अनुमतिबिना औषधी बिक्री बन्द गर्नुपर्छ ।’ लागु पदार्थले उत्तेजना बढाउने हुँदा मानसिक असन्तुलन पैदा गर्छ । त्यतिबेला धेरै अपराधिक घटना हुने गरेको छ ।

यस घटनामा युवा उमेरका संलग्न भएकाले उनीहरुको बानी ब्यवहारबारे परिवारका सदस्य चनाखो हुनुपर्छ । ‘बालवालिका कहाँ गइरहेको छ, कस्तो ब्यवहार देखाइरहेको छ, साथीसंगत कस्तो छ भन्ने बारेमा पनि परिवारका सदस्यले ख्याल गर्नुपर्छ’, गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले भने । लागु औषधको रुपमा प्रयोग हुने गाँजा फडानी गर्ने अभियान जिल्लाभर प्रहरीले चलाएको छ । गाँजालाई लागु औषधका रुपमा प्रयोग गर्ने क्रम धेरै भएकाले अपराध न्यूनिकरण गर्न गाँजा र घरेलु मदिरा नियन्त्रण अभियान चलाइएको एसपी खनालले बताए ।

एकान्तमा बस्ने, टोलाउने, पढाइ वा काममा ध्यान नदिने, अटेरी गर्ने, औसत आवश्यक भन्दा धेरै पैसा माग्ने, फरक ब्यवहार देखाउने गरेमा बालवालिकालाई अभिभाबकले बानी ब्यवहार सुधार गर्न प्रयत्न गर्नुपर्ने सुझाव उनको छ । ‘यो मात्र होइन अधिकांश अपराध लागुऔषध र मदिराले भएको छ’, उनले भने । युवा उमेरमै लागु औषध दुब्र्यशनीमा फस्नेको संख्या बढेको छ । प्रहरीले गोरखा भित्रने नाका आँबुखैरेनी र जिल्लाका बिभिन्न ठाउँमा लागु औषधप्रयोगकर्ताको खोजी र कारवाहीलाई तिब्र बनाएको एसपी खनालले बताए । ‘गोरखा बिक्रीकर्ता भन्दा पनि प्रयोगकर्ता धेरै देखिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्