
गोरखामा १३ दशमलव ३ प्रतिशत विद्युत चोरी
गोरखामा विद्युत चोर्नेसँग छलाख भन्दा बढी जरिबाना रकम असुली भएको छ । आर्थिकबर्ष २०७८÷०७९ मा ६ लाख १९ हजार २५ रुपैयाँ जरिवाना रकम असुल गरेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।
धेरै ठाउँमा मिटर बाइपास गरेर र डाइरेक्ट हुकिङ गरेर विद्युत उपभोग गर्ने गरेको भेटिएको उनले बताए । उनका अनुसार जिल्लामा वर्षभरिमा २८ हजार दुईसय ५४ युनिट विद्युत चुहावट भएको छ । विद्युत चहावट गरेका ६४ जनालाई कारबाही गरी उक्त रकम जरिबाना तिराएको उनले जानकारी दिए ।
विद्युत प्राधिकरणका कर्मचारी आएको सुइँको पाउने बित्तिकै हुकिङस्थलबाट तार निकालेर राख्ने गरेका कारण अभैm धेरै चोरी नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ । जिल्लामा समग्रमा विद्युत चुहावट १३ दशमलब ०३ प्रतिशत रहेको उनले जानकारी दिए । अघिल्लो बर्ष २०७७÷०७८ मा जिल्लामा विद्युत चुहावट १५ दशमलब १३ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ दशमलब ९ प्रतिशत विद्युत चुहावट घटाउन सफल भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।
मानिसहरुमा सचेतनाको अभावका कारणले पनि विद्युत चुहावट हुने गरेको प्राधिकरणको बुझाइ छ । तर मासिक ३० रुपैयाँ तिर्नुपर्ने ठाउँमा पनि केही ठाउँका उपभोक्ताहरुको मानसिकतामा परिवर्तन आउन नसक्दा विद्युत चुहावट हुने गरेको न्यौपानेको भनाइ छ ।
विद्युत चोरी नियन्त्रणको अभियान जारी रहने बताउँदै हरेक हप्ता दुई÷तीन पटक कर्मचारीलाई छड्के निरीक्षणमा पठाइरहेको उनले जानकारी दिए । विद्युत चुहावट गरी कुखुरा फर्म, फनिचर उद्योग, ग्रील उद्योग, घरबत्ती लगायतका संचालन गर्ने गरेको उनले बताए । विद्युत चुहावट गरेकाहरुबाट न्यूनतम पाँचहजार देखि ४० हजार रुपैयाँसम्म जरिवाना असुल गरिएको उनले जानकारी दिए ।




