
त्रिसुलीमाथि पप्पुको पुल : ८ वर्षमा ११ प्रतिशत काम !
नरहरि सापकोटा :
चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी त्रिुसली नदीमाथि पप्पु कन्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको ८ वर्ष बित्यो । २०७१ असार २९ गते १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का बिरगजं १० पर्साको पप्पु कन्ट्रक्सनले पा¥यो । दुबैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्ट्रक्सनले काम छाडेको छ ।
सम्झौता अनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपथ्र्यो । निर्माण सुरु भएको आठ वर्ष र सम्पन्न भईसक्नुपर्ने पाँच वर्ष सम्म पुलको प्रगती ११ प्रतिशत मात्रै छ । समयमै काम नसक्ने निर्माण ब्यवशायीलाई २०७५ असार २७ गते कार्यालयले करिब दुई करोड भुक्तानी दिएको छ । ‘त्यसयता भुक्तानी भएको छैन, भौतीक प्रगती १४ प्रतिशत छ’ एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका इन्जिनियर बिष्णु पाण्डेले भने ।
निर्माण कम्पनीले पुलको गोरखा तर्फ निर्माण सामग्री लैजाने सडक नभएको भन्दै गरेको दावीका विषयमा कार्यालयसँग बिवाद भयो । बिवादपछि निर्माण ब्यवशायीले सर्वोच्च अदालतमा २०७६ कात्तिकमा मुद्धा दायर गरे । २०७८ मंसिरमा निर्माण कम्पनीले फेरी उच्च अदालतमा मुद्धा दायर ग¥यो । कार्यालयले प्रतिउत्तर पनि पठाईसकेको एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले बताए । मुद्धा फैसला नहुँदा पुल निर्माण थप अन्यौल बनेको छ ।
चार पटक म्याद थप भएको उक्त पुलको अन्तिम म्याद २०७८ चैत ३० गते सम्म रहेको थियो ।भुकम्प, नाकाबान्दी, कोभिड १९, सार्वजनीक खरिद नियमावलीको शंसोधन लागयत कारणले म्याद थप हुँदै आएको छ । त्यसयता पाचौँ म्याद थप भएको छैन । निर्माण सामग्रीको मूल्यवृद्धी, खरिद नियमावलीको १२ औँ शंसोधन देखाउँदै फेरी म्याद थप्ने तयारीमा ब्यवशायी छन् । कार्यालयले ठेक्का तोड्ने, निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने प्रयास गरेपछि ब्यवशायीले मुद्धा दायर गर्ने, माथिल्लो तहबाट दबाव दिने गर्दै आएका छन् ।
पुलको गोरखा तर्फ कच्ची सडक खुलेको छ ।
निर्माण कम्पनीले उक्त सडक भएर मेसिन लैजान नसक्ने भएकाले बेलिब्रज बनाईदिन माग गरेको हो । कार्यालयले भने बाटो खुलेकाले लैजान सकिने बताउँदै आएको छ । ‘अदालतमा मुद्धा दायर भएको रहेछ, हामीले प्रतिउत्तर पनि पठाईसक्यौँ’ आयोजना कार्यालयका प्रमुख ज्ञवालीले भने ।
पक्की पुल नजिकै एक सय मेघावाटको सुपर त्रिसुली जलविद्यूत आयोजना निर्माण हुँदैछ । पप्पुले पुल नबनाउँदा उक्त आयोजना पनि अन्यौलमा छ । अन्ततः जलविद्युत आयोजना निर्माण गर्न लागेको ब्लु इनर्जी कम्पनीले सडक बिभागको समन्वयमा बेलिब्रिज बनाउने बारे एक वर्ष अघि सहमती भएको थियो । तर बेलिब्रिज पनि निर्माण हुन सकेको छैन । जलविद्युत आयोजनाले लागत ब्यहोर्ने र सडक बिभागले बेलिब्रिज उपलब्ध गराउने विषय अहिले अन्यौलमा छ ।
जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले काम छाडेपछि आयोजना काम पनि अलपत्र छ । २०७९ बैशाखमा काम सक्ने गरी बेलिब्रिज बनाउने भनिएको थियो । तर अहिले सम्म केहीपनि काम नभएको सडक आयोजनाले जनाएको छ ।
राजमार्ग जोड्ने बुटार पुल अलपत्र हुँदा गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । त्यहाँका स्थानीय दैनिक डोकोमा तरकारी बोकेर झोलुङ्गे पुलहुँदै आउने जाने गर्छन ।




