
एमक्यापको म्याद सकिएको दुई वर्ष नाघ्यो
मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद सकिएको दुई वर्ष नाघिसक्दा म्याद थपको निर्णय हुन सकेको छैन ।
एमक्यापको पहिलो पटक दश÷दोस्रो पटक दश र तेस्रो पटक डेढ वर्ष गरी म्याद थपिएको थियो । एमक्याप गोरखाका संरक्षण अधिकृत तुम्बाहाम्फेले भने ‘हामीले म्याद थपका लागि पटक–पटक अनुरोध ग¥यौँ, तर भएको छैन।’
सरकारले म्याद थप नगरेपनि एमक्यापले गोरखामा काम भने निरन्तर गर्दै आएको छ। म्याद थप नहुँदा एमक्यापले कानुनी रूपमा काम गर्न पाएको छैन। दिगो व्यवस्थापनका लागि कार्यक्रम अगाडि बढाउन नसकिएको उनले बताए। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगत एमक्यापले काम गर्छ। कोषले बन मन्त्रालय मार्फत म्याद थपका लागि अर्थमन्त्रालय पठाएको बताए पनि कुनै निर्णय नआएको एमक्याप गोरखाले जनाएको छ।
प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचार–प्रसारको काम एमक्यापले गर्दै आएको छ। जडीबुटी बिक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षण सम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायतका कामहरू म्याद थप नहुँदा रोकिएको छ । म्याद थपाको निर्णय मन्त्रिपरिषदबाट गर्नुपर्छ ।




