
गोरखा बजार ढल ब्यवस्थापनको टेण्डर फाराम दर्ता, मूल्याङ्कन हुँदै, बारपाक ढल ब्यवस्थापन ठेक्का लागेन
गोरखा बजारको ढल ब्यवस्थापनको तेस्रोपटक आव्हान गरिएको टेण्डरमा जम्मा एकजनाको फर्म दर्ता भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले दुईपटकसम्म आह्वान गर्दा एउटा पनि फर्म दाखिला हुन सकेको थिएन । तेस्रो पटक साउन १७ गतेसम्म अन्तिम म्याद राखेर कार्यालयले टेण्डर खुलाएको थियो ।
गोरखा बजार र बारपाकको ढल ब्यवस्थापनका लागि टेण्डर आह्वान गरिएपनि बारपाकको ठेक्का लागेन । गोरखामा ढल ब्यवस्थापनका लागि ५७ करोड र बारपाकको ढल ब्यबस्थापनका लागि ३७ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो ।
‘हिमडुङ एण्ड ठोकर प्राली काठमाण्डौँले गोरखा बजारको ढल ब्यवस्थापनका लागि टेण्डर दाखिला गरेको कार्यालयका सुचना अधिकारी इन्जिनियर साहिल कुमार मण्डलले बताए । ‘अहिले प्राविधिक मूल्याङ्कनको चरणमा छौँ, यसपछि आर्थिक मूल्याङ्कन हुनेछ’ उनले भने ‘९० दिन भित्र सबै प्रक्रिया सकिन्छ, मागे अनुसार कागजात पुगेको खण्डमा सम्झौता भएर काम सुरु हुन्छ ।’
बारपाकको हक भने पुन टेण्डर हुनेछ । ‘हामीले अहिलेको दररेट अनुसार दशैँ अघि सम्म पुन टेण्डर गर्ने गरी योजना बनाएका छौँ’ संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङका प्रमुख शेखरचन्द्र केसीले भने ।
तेस्रो पटक टेण्डर आह्वान गर्दा खरिद नियमावलीको १२ औँ संशोधन आएकाले दुईवटा विषयमा लचिलो भएर टेण्डर आह्वान गरिएको थियो । गोरखाको तीन वर्ष र बारपाकको साँढे दुई वर्षभित्र काम सक्ने योजनामा टेण्डर आह्वान गरिएको थियो । तर गोरखा बजारको ढल ब्यवस्थापनको ठेक्का प्रक्रिया सुरु भएपनि सम्झौता हुने चरण बाँकी छ । बारपाकको ढल ब्यवस्थापन भने अन्यौलमा छ ।
गोरखाको सतिपिपलदेखि आहालेसम्मको बस्तीलाई ढल ब्यवस्थापनमा समेट्ने योजना संघीय कार्यालयको छ । अहिले नाली खोल्सीमा फालिएको ढल पाईपलाईनबाट एकैठाउँमा जम्मा गरिन्छ । एकै ठाउँमा जम्मा भएको ढल गोरखा नगरपालिका भन्दा तल वडा नम्बर ८ र ९ को सिमानामा प्रशोधन गरिन्छ ।
प्लास्टिकको पाईपबाट ढल संकलन गरेर प्रशोधन गरिन्छ । ढललाई पानीमा मिसाउन योग्य बनाउने गरी ‘प्लान्ट’ ले काम गर्छ । ढल प्रशोधन गरेपछि बजार, बस्ती क्षेत्रको दुर्गन्ध हटाउन मद्धत पुग्छ । भौगोलिक अवस्थाका कारण भने ढल ब्यवस्थापनको योजना पूरा गर्न सहज छैन । अहिले जोडिएको पाईप लाईनमा पछि बनेका घरहरुको पनि ढल मिसाउन मिल्ने गरी तयार गरिनेछ । बारपाक वडा नम्बर १ र २ को मुख्य बस्तीबाट संकलन भएको ढललाई प्रशोधन गर्नेगरी योजना बनेको छ । बाक्लो बस्ती रहेको त्यहाँ ढल ब्यवस्थापन नगर्दा दुर्गन्धसँगै महामारीको खतरा रहेकाले पनि बारपाक प्राथमिकतामा परेको थियो ।




