| सोमवार, कार्तिक २३, २०८३

बेरुजु अपडेट : नम्स मिच्नेमा अजीरकोट गाउँपालिका पनि

अजीरकोट गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू ६६ लाख ९९ हजार बेरुजू देखिएको छ । सो बर्षको कूल बजेटमा यो ०.८१ प्रतिशत हो ।

गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा अरु पालिकाको जस्तै अजीरकोटमा पनि भेटिएको छ ।

अजीरकोट गाउँपालिकाका विभिन्न २८ वटा आयोजनाका उपभोक्ता समितिले विकास निर्माणको कामका लागि सिमेण्ट खरिद गर्दा भ्याट बिलमा उल्लेखित दररेट भन्दा पालिकाले बढि दररेट कायम गरी बढी रकम भुक्तानी दिएको पाइएको छ । यसबापत पालिकालाई छ लाख ५२ हजार रुपैयाँ अतिरिक्त व्यायभार बढ्न गएकाले सो रकम बेरुजु देखिएको छ ।

पालिकाले भच्चेक वडा कार्यालय देउराली सडक योजनामा निर्धारित समयभित्र काम नगर्ने निर्माण कम्पनी गोरखकाली कन्स्टूक्शनसित निश्चित दरमा क्षतिपूर्ति असुल गर्नुपर्ने व्यवस्था थियो । तर निर्धारित समय भन्दा ७३ दिनपछि सम्पन्न भएको सो काममा ८७ हजार रुपैयाँ क्षतिपूर्ति लिनुपर्नेमा नलिएकाले बेरुजु देखाइएको छ ।

त्यस्तै गाउँपालिकाको प्रिफ्याव भवन निर्माण गर्दा सम्झौता अवधिभन्दा ढिला सम्पन्न भएकाले कानूनअनुसार ०.५ प्रतिशत प्रति दिनका दरले क्षतिपूर्ति तिराउनु पर्नेमा नतिराएकाले सोबापतको एकलाख ८५ हजार रुपैयाँ बेरुजु देखाइएको छ । अजीरकोट गाउँपालिकाले आर्थिक ऐनअनुसार असुल उपर गरेको प्राकृतिक स्रोतको आय तथा रोयल्टी १३ लाख २६ हजार संकलन गरेकोमा सोको ४० प्रतिशतले हुन आउने रकम पाँचलाख ३० हजार रुपैयाँ प्रदेशमा पठाउनु पर्नेमा नपठाएकाले सो रकमलाई बेरुजु देखाइएको छ । विभिन्न पदाधिकारीहरुलाई पारिश्रमिक दिँदा असुल गर्नुपर्ने कर कट्टी नगरेकाले रु ५ हजार २१६ रुपैयाँ बेरुजु देखाइएको छ ।

विद्यालय सुधार योजना नबनाई यो सुविधा पाएका विभिन्न ११ वटा विद्यालयको एकलाख ८० हजार रुपैयाँ बेरुजु देखाइएको छ । विद्यालय सुधार योजना बनाई पेश गरेका प्रमाण पेश गरेपछि मात्र बेरुजु फस्र्यौट हुने सो प्रतिवेदनमा उल्लेख छ । हिमालय माविको तलबभत्ता निकासा गर्दा २८ लाख ७० हजार माग गरिएकामा २८ लाख ८३ हजार निकासा गरिएकाले १४ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।
कोभिड महामारीका बेला अनलाइन पढ्न प्रतिविद्यार्थी प्रति महिना १२५ रुपैयाँका दरले अनुदान दिने कार्यक्रम अनुसार पालिका भरिका २४ वटा विद्यालयलाई कूल आठलाख ५२ हजार निकासा दिएकोमा अनलाइन कक्षा सञ्चालन नभएकाले सो रकम फिर्ता गर्नुपर्ने देखिन्छ । तर फिर्ता नगरेकाले सो रकम बेरुजु देखिएको छ ।

कुनै पनि शीर्षकमा खर्च गर्दा खर्च पुष्टि गर्ने बिल, भरपाई, डोर हाजिरीजस्ता प्रमाण, कागजात संलग्न हुनुपर्ने अनिबार्य छ । तर सो व्यवस्थालाई लत्याई गाउँपालिकाले बालकक्षा सञ्चाल नका लागि खरिद गरेका २३४ प्रकारका सामग्रीबापत अनुग्रह फाउण्डेशन प्रालिलाई चारलाख ९३ हजार रुपैयाँ भुक्तानी दिइएको छ । तर पालिकाले सो सामग्री वितरण नगरी स्टोरमा थन्क्याएर राखेको पाइकाले सो शीर्षकमा गरिएको खर्चलाई पनि महालेखाले बेरुजु देखाएको छ ।

त्यसैगरी अजीरकोट गाउँपालिकाले पुँजीगत तथा चालु प्रकृतिका बस्तु वा सेवा खरिद गर्दा प्रतिष्पर्धात्मक सेवा नअपनाई सोझै खरिद गरी भुक्तानी गरेको १६ लाख ८८ हजार रुपैयाँ महालेखाले बेरुजु देखाएको छ । सो पालिकाले बिना प्रतिस्पर्धा बारम्बार गोरखकाली अफसेट प्रेस प्रालि, सिम्को बिजनेश सिस्टम प्रालि, मध्यनेपाल सामुहिक भेट फर्मा र ढकाल भेटनरी फर्मासित सामग्री तथा सेवा खरिद गरेको पाइएको छ । ओलीज स्टोर्स प्रालि, बिथ्री, आरडी र मेडिहेल्थ सर्जिकलसित पनि प्रतिस्पर्धा नगरी नियम विपरीत सोझै सामग्री खरिद गरिएकाले आठलाख ७५ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।

त्यसैगरी पालिकामा कृषि तथा पशु अनुदान शीर्षकमा ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ । अनुदानबाट प्राप्त लाभ तथा प्रतिफल विश्लेषण नगरी निरन्तर अनुदान दिइएको, बिभिन्न बिउहरु जिल्ला दररेट भन्दा बढि मुल्य कायम गरी खरिद गरेको लगायतको त्रुटी महालेखाले औल्याएको छ । वुद्धज्योति आधारभूत विद्यालय र ज्ञानज्योति माविमा पालिकाको अनुदानबाट खरिद भएको जिन्सी सामग्री यथास्थानमा दाखिला गरी स्रेस्ता खडा गर्नुपर्नेमा नगरिएकाले छ लाख ९७ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।

पालिकासित कारोबार गरेको मुनस्टार कन्स्टूक्शन प्रालि, डब्लुआरसी इञ्जिनियर्स प्रालि र भच्चेक विल्डर्स एण्ड सप्लायर्स प्रालिले पालिकासित भुक्तानी लिएको रकमको भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरेको पाइएकाले सो बापतको पाँचलाख ७९ हजार रुपैयाँ बेरुजु देखाइएको छ । त्यस्तै तज टूेडिङ एण्ड कन्स्टूक्शन प्रालिले ८३ हजार भ्याट नतिरेकाले सो रकम बेरुजु देखाइएको छ । गाउँपालिकाको वडा नं. ४ मा सौर्य उर्जा जडान गर्न दुईलाख ९७ हजार रुपैयाँ निकासा भएकोमा सो उपकरण खरिद तथा जडान भएको प्रमाण पेश नभएकाले सो रकम बेरुजुमा देखाइएको छ ।

साथै महालेखाले तत्काल प्रमाण पेश गर्न निर्देशन गरेको छ । धनसिरा साउनेपानीका पहिरो पिडित पाँच घर परिबारलाई सुरक्षित स्थानमा प्रतिस्थापन गर्ने कार्यक्रम अन्तर्गत प्रतिघर तीनलाख रुपैयाँका दरले रकम निकासा भएको छ । तर सो अनुदान रकम खर्च भएको प्रमाण पेश नभएकाले १५ लाख रुपैयाँ बेरुजु देखाइएको छ । साथै महालेखाले लागत अनुमान, मूल्यांकन बिल, कार्य सम्पन्न प्रतिवेदन लगायतका प्रमाण पेश गर्न निर्देशन गरेको छ । विभिन्न सात वटा विद्यालयमा उपभोक्ता समितिमार्फत गराउन नपर्ने काममा पनि उपभोक्ता समितिमार्फत ४३ लाख ७८ हजार रुपैयाँ बराबरको काम भएकाले यस्ता काम नियन्त्रण गर्न आग्रह गरिएको छ ।

सालबोट सोताखोला अधुरो सडक निर्माण नापी किताबको चेनेजमा भएको कार्यको परिमाण फरक पारी नरम चट्टान कटानमा बढि भुक्तानी भएको पाइएको छ । हुनुपर्ने भन्दा २४ हजार रुपैयाँ बढि भुक्तानी भएकाले सो रकमलाई बेरुजु ठहर गरिएको छ ।

त्यस्तै अकला टोल विकास संस्थाबाट धादिङगरा, वडा कार्यालयसम्मको सडकको अधुरो काममा हुनुपर्ने भन्दा ९६ हजार रुपैयाँ बढि भुक्तानी दिइएको छ । सो रकमलाई बेरुजु देखाई महालेखाले यथासीघ्र असुल उपर गर्न आग्रह गरेको छ । त्यस्तै विभिन्न ११ वटा योजनाको काममा पनि कर कट्टी नगरी रकम भुक्तानी दिएको पाइएको छ । त्यसबापत १५ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्