| मङ्लबार, कार्तिक २४, २०८३

‘गठबन्धनका कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा’

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धनका कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पुगेको बताएकी छिन् । जिल्ला कमिटि गोरखाले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

वर्तमान राजनीतिक शक्ति सन्तुलन र पार्टीको भूमिका अभिवृद्धि विषयमा कार्यकर्तालाई प्रशिक्षण गर्दै उनले देशको आन्तरिक राष्ट्रियतामाथि पनि गठवन्धन सरकारले खेलवाड गरेको दावी गरिन् । केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक सहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरेको थियो’ उपाध्यक्ष शाक्यले भनिन् ‘जमिन फिर्ता लिने प्रक्रिया चलिरहेको थियो, तर अहिले प्रधानमन्त्री कार्यालयले प्रकाशन गरेको पुस्तकमा पुरानै नक्सा छ ।’

गठवन्धन सरकारलाई हटाउनु पर्ने भन्दै उनले खराब पक्ष पर्दाफास हुँदै गएमा ढिलो चाँडो गठवन्धन आफैं भत्किने बताईन् । नेपालमा कम्युनिष्टहरुलाई स्थापित हुन नदिने चलखेल हुँदै आएको भन्दै उनले चिन्ता ब्यक्त गरिन् ।

कार्यक्रममा नेकपा एमालेकी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनताको बहुदलीय जनवादका मान्यताको आधारमा पार्टी निर्माण र परिचालन, पोलिटब्युरो सदस्य एवम् सांसद मनकुमारी केसीले स्थानीय तह निर्वाचनको सिकाई र आगामी निर्वाचनको तयारी, केन्द्रिय सदस्य रामशरण वस्नेतले संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन एवम् गण्डकी प्रदेश कमिटि उपसचिव रश्मी अचार्यले जनप्रतिनिधि र पार्टी विचको सम्वन्धका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा जिल्ला, क्षेत्र, पालिकाका पार्टीका पदाधिकारीको सहभागीता रहेको थियो ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

नेकपा एमाले गोरखाले स्थानीय तहमा पार्टीबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला कमिटिले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

स्थानीय तह निर्वाचनमा गोरखामा एमालेका ५१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा १० जना वडाध्यक्ष र अन्य ४१ जना वडा सदस्य रहेको जिल्ला सचिव काजीराम रोकाले बताए । जनप्रतिनिधिहरुलाई सम्मान गर्दै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जनताको मत जितेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिईन् । ‘यस्तो विषम अवस्थामा स्थानीय तह निर्वाचनमा गोरखामा प्राप्त उपलब्धी सन्तोषजनक छ, यसलाई बचाउने र बढाउने गरि गर्नुपर्नेछ’, उनले भनिन् । कार्यक्रममा एमाले जिल्ला इन्चार्ज रामशरण बस्नेत, सम्झना देवकोटा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्