
बारपाक सुलीकोट गाउँपालिकाको बेरुजु : बिना प्रतिस्पर्धा सिधै खरिदका शीर्षकमा बेरुजु धेरै
बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को लेखा परीक्षणबाट तीनकरोड ५९ लाख ७९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट एक करोड ४२ लाख १४ हजार फस्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने रू ११ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू १ करोड २४ लाख ५ हजार, नियमित गर्नुपर्ने रू ८० लाख ३७ हजार र पेश्की रू २ लाख रहेको छ ।
सो भन्दा अघिल्लो आर्थिकवर्ष रु ७ करोड ९८ लाख ३७ हजार बेरुजू बाँकी रहेकोमा ०७७।०७८ मा समायोजन र सम्परीक्षणबाट फछ्यौंट एवं नयाँ कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू रु ८ करोड १४ लाख ६८ हजार रहेको छ ।
गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।
गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७६ मा सवारी साधन उपलब्ध नगराउने पदाधिकारीलाई यातायात सुविधा उपलब्ध गराउने उल्लेख भएकामा यस कार्यालयले अध्यक्ष र उपाधयक्षलाई समेत यातायात सुविधा उपलब्ध गराएको छ । कार्यालयले अध्यक्ष र उपाध्यक्षलाई प्रतिमहिना बाह्र हजार रुपैयाँका दरले १२ महिनासम्म यातायात सुविधा उपलब्ध गराएको देखाएको छ ।
जसअनुसार भुक्तान गरिएको दुईलाख ८५ हजार राजस्वमा दाखिला गर्न सुझाव गरिएको छ । कार्यालयमा गाडी रहेको तथा आवश्यकता अनुसार नियमित रुपमा एक गाडी भाडामा समेत लिएको अबस्थामा यातायात सुविधा रकम लिनु नियमसम्मत नदेखिएको महालेखाको सुझाव छ । गाउँपालिकाले एक विज्ञप्ति प्रकाशित गरी सो बेरुजु रकम गत २०७८।१२।०१ मा राजस्वमा वैँक दाखिला गरी बेरुजु फस्र्यौट गरिसकेको जनाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६को दफा २८(१) अनुसार जिम्मेवारी आफ्नो नाममा आएको सरकारी जिन्सी मालसामान भए सातदिनभित्र यथास्थानमा दाखिला गरी श्रेस्ता खडा गर्नुपर्ने व्यवस्था छ । तर सो पालिकाका चार वटा विद्यालयले खरिद गरेका जिन्सी सामानहरु दाखिला गरिएको छैन ।
जसबापत १० लाख ७१ हजार रुपैयाँ बेरुजु देखिएको छ । पालिकाका विभिन्न चार सामुदायिक सिकाइ केन्द्रका सामाजिक परिचालकलाई स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा हाजिरी प्रमाण वेगर भुक्तानी गरिएको छ । तर नियमि विपरीत भुक्तानी गरिएको दुईलाख रुपैयाँ बेरुजु भएको छ । विभिन्न पाँच विद्यालयले पुस्तकालयका लागि खरिद गरेको ५० हजार रुपैयाँ बराबरका पुस्तक खरिद गरेको बिल बिजक पेश नभएकाले सो दुईलाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
१३ करोड ६१ लाख ६९ हजार रुपैयाँ लागतमा १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्यका लागि एक करोड १७ लाख ६८ हजार रुपैयाँ मोबिलाइजेशन पेश्की भनेर उल्लेख गर्नुपर्नेमा भुक्तानी भनेर लेखिएको छ, जसले गर्दा एक करोड १७ लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको छ । ७६ लाख ९१ हजार लागतमा भ्यूटावर निर्माणका लागि बारपाक सिराइचुली निर्माण कम्पनीले भुक्तानी लिएको तर पेश्की फस्र्यौट गर्न बाँकी ११ लाख ३६ हजार बेरुजु देखाइएको छ ।
हुँडीखोलाफाँट, खार्चोक, रञ्चोक, बारपाक सडक ग्राभेल गर्न चार करोड ५२ लाख रुपैयाँमा मस्दिङ ओम वुद्ध जेभीले ठेक्का सम्झौता गरेको, बिमाबापत एकलाख राखेकोमा एकलाख ६४ हजार भुक्तानी भएको । बढि भुक्तानी भएको सो ६४ हजार चारसय बेरुजू देखाइएको छ ।
पालिकाभित्र दुई ठाउँमा झोलुंगे पुल निर्माण गर्दा निर्माण सम्पन्न हुनुअघि नै पालिकाले एकलाख ५५ हजार बढि भुक्तानी दिएको छ ।
यो नियम सम्मत नभएकाले महालेखाले बेरुजु देखाएको छ । गाउँपालिका प्रशासकीय भवन निर्माण गर्दा प्रतिघनमिटर दुईसय रुपैयाँका दरले भुक्तानी गर्ने सम्झौता भएकामा तीनसय रुपैयाँका दरले भुक्तानी गरिएको । त्यसबापत बढी भुक्तानी भएको ९५ हजार नौसय ६७ रुपैयाँ बेरुजु देखिएको छ ।
गाउँपालिकाले राजस्व तिर्न भुक्तानी दिएको रकम पनि स्पोर्टस वल्र्ड कन्स्टूक्शन, सोम एण्ड अमर कन्स्टूक्शनले रीत पूर्वक कर बिजक बेगर भुक्तानी भएको चारलाख १८ हजार बेरुजू देखिएको छ । कम्पनीहरुबाट दररेट माग गरी कम दररेट भएको कम्पनीसित खरिद गर्नुपर्ने कानूनी व्यवस्था लत्याई पालिकाले माथिल्लो लघुजलविद्युत परियोजनाको ५० केभीएको टूान्सफर्मर खरिद गर्दा सिधै कम्पनीसंग खरिद गर्दा दुईलाख ५४ हजार बेरुजु रहेको छ । ८० वटा ग्याभिन जालीमा ढुंगा भर्ने काममा लागत अनुमान, मूल्यांकन बिल, कार्यसम्पन्न प्रमाण पेश नहुँदै भुक्तानी दिइएको एकलाख ६० हजार पनि बेरुजु देखाइएको छ ।
बारपाकको वुद्धपार्क निर्माण गर्दा कोटेशन, शिलबन्दी दरभाउपत्र तथा बोलपत्र बेगर बिना प्रतिस्पर्धा सिधै २० लाखमा वुद्ध मूर्ति र पाँच लाखको प्रयर ह्वील खरिद गरिएकाले सो रकम बेरुजु देखाएको छ ।
बिभिन्न छ वटा योजनाका उपभोक्ता समितिलाई बिना प्रमाणित कागजात भुक्तानी दिइएको १० लाख ४२ हजार बेरुजु देखिएको छ । विभिन्न १७ वटा योजनाका उपभोक्ता समितिलाई सिमेण्ट खरिद गर्दा बिल बिजकमा उल्लेखित दर भन्दा बढि दरमा भुक्तानी भएको देखाइएको छ । त्यसबापत चारलाख ३४ हजार रुपैयाँ बढि भुक्तानी दिएको पाइएको छ ।
त्यस्तै विभिन्न तीनवटा योजनामा इट्टा खरिद गर्दा बिजक मूल्यमा भन्दा बढि मुल्य राखेर दररेट निर्धारण गरिएको छ । बेरुजु देखिएको दुईलाख २१ हजार रुपैयाँ नियमानुसार असुल उपर गरिलिन आग्रह महालेखाले गरेको छ ।
विभिन्न दुई योजनामा माटो खन्ने दरमा पनि बढाएर भुक्तानी गरिएको ६५ हजार दुईसय रुपैयाँ असुल गर्न आग्रह त्यस्तै ३० जनालाई डूाइभिङ सिकाइएको भनी अक्स्फोर्ड डूाइभिङ टूेनिङ सेण्टरलाई बिना बिल, बिजक, बिल, भरपाई चारलाख ९६ हजार भुक्तानी गरेको र एकसय पिस त्रिपाल खरिद गरेको भनी दुईलाख ७६ हजार भुक्तानी दिएको छ ।
सो बापत सातलाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिस्पर्धात्मक विधि नअपनाई बारम्बार एउटै भेण्डरसित सिधै गरिएको मसलन्द, त्रिपाल, राजपत्रलगायत विभिन्न छपाइ, गरेबापतको ३३ लाख रुपैयाँ बेरुजु देखाइएको छ ।




