| सोमवार, कार्तिक २३, २०८३

गोरेटो बाटो बनाउँदै घरेलु विकास कार्यालय

घरेलु तथा साना उद्योग विकास कार्यालयले गोरेटो बाटो निर्माण गर्ने भएको छ । उद्योग दर्ता, नवीकरण, बजार अनुगमन तथा उद्योगी ब्यवशायीमैत्री सिप विकास तालिम दिँदै आएको कार्यालयमा चालु वर्ष पदमार्गको योजना धेरै रहेको छ ।

‘पदमार्ग बनाउने योजना यसअघि थिएन’, कार्यालय प्रमुख सूर्य भुजेलले भने, ‘हामीसँग प्राविधिक जनशक्ति नहुँदा कसरी यी योजना सम्पन्न गर्ने अन्यौलमा छौँ ।’ चालुवर्ष गण्डकी प्रदेश सरकारले घरेलु कार्यालय गोरखामा पठाएकामध्ये सबैभन्दा धेरै पदमार्गको योजना छ । पर्यटन मन्त्रालयको कार्यक्रम घरेलु तथा साना उद्योग विकास कार्यालयमार्फत गर्न लागिएको हो ।

१६ वटा पदमार्ग निर्माणका योजना छन् भने १२ वटा पर्यटन पूर्वाधार र पार्क निर्माणका योजना छन् । दुई करोड ५० लाखका यी योजना कार्यान्वयनमा भने चुनौति छ ।

चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित दूधपोखरी पर्यटन पदमार्ग निर्माणका लागि १० लाख, चुमनुब्री गाउँपालिका ३ र ६ को फिलिम, आङ्गासस्र्यू, लोक्पा पदमार्ग निर्माणमा ३५ लाख, वडा नम्बर ३ कै न्याकदेखि एकसयआठ धारा जाने पर्यटकीय पदमार्ग निर्माणका लागि ३० लाख, चुमनुब्री २ को स्यालादेखि डाङमाङ हुँदै पुङ्गेन गुम्बा पर्यटकीय पदमार्ग निर्माणमा रु २० लाख बिनियोजन भएको छ ।

यस्तै भीमसेनथापा गाउँपालिका ३ को जोगिगाडे(सिद्धकाली मन्दिर पर्यटक पदमार्गमा रेलिङ निर्माणका लागि दशलाख, गोरखा नगरपालिका ३ होल्सिङदेखि नारेश्वरसम्मको पदमार्ग निर्माणका लागि १५ लाख, गोरखा नगरपालिका ३ होलसिङ झाँक्रीको गुफा पर्यटन प्रवद्र्धन र गुफासम्म जाने पदमार्ग निर्माणलाई १० लाख, बारपाक सुलिकोट ४ को भण्डारीगाउँ सरान्जीदेखि शिम्भुसम्म पदमार्ग निर्माणका लागि पाँचलाख बजेट चालु वर्ष बिनियोजन भएको छ ।

अजिरकोट गाउँपालिका १ धन्सिराबाट चिसाङसम्म जाने सिँढी पदमार्गका लागि पाँचलाख, सिरानचोक गाउँपालिका ६ अमरेखोल्सीबाट ठुलोगाउँसम्म पुग्ने सिँढीबाटोका लागि पाँचलाख, सोही ठाउँको ओलाङ–सिस्ने–खिम्ती–गुडेघारी–पदुई छबीसे हुँदै दुधपोखरी पदमार्ग निर्माणका लागि पाँचलाख, बारपाक सुलिकोट २ को तुम्सिका देविथानदेखि सेप्रङसम्म पदमार्ग निर्माणका लागि पाँच लाख, भीमसेन थापा ४ को तान्द्राङकोट मन्दिरसम्म जाने पदमार्गका लागि पाँचलाख, बुलाङ बेनिगाउँ सिद्धास्थान भैरवी पर्यटन पदमार्गका लागि पाँच लाख, सिरानचोक ४ महादेवखोलाबाट महादेव मन्दिर जाने पदमार्गका लागि पाँच लाख बिनियोजन गरिएको छ ।
चालु वर्ष संचालन गर्ने कार्यक्रम भित्र यी पदमार्ग समेटिएका छन् ।

यस्तै पार्क र पर्यटन पूर्वाधार तर्फ बारपाक १ मा रक गार्डेन निर्माण बारपाक स्टोन पार्कका लागि १५ लाख, गण्डकी गाउँपालिका ८ मा थामपाखा पर्यटकीय पूर्वाधार निर्माणका लागि सात लाख, सिरानचोक ५ मा ऐतिहासिक चित्रेपोखरी पर्यटन पूर्वाधारका लागि पाँच लाख बिनियोजन गरिएको छ ।

बारपाक सुलिकोट २ मा इपिसेन्टरपार्क निर्माणका लागि १० लाख, गोरखा नगरपालिका ८ मा रानिवन हरियाली शहीदपार्कका लागि पाँचलाख, भीमसेनथापा ४ स्थित धावामा चौतारी निर्माणकालागि पाँचलाख, आरुघाट गाउँपालिकामा रमाईलोडाँडा पर्यटकीय पार्क निर्माणका लागि १० लाख, गोरखा नगरपालिका ८ स्थित गोरखक्षनाथ मन्दिर परिसरमा पर्यटकीय पार्क निर्माणमा पाँच लाख, गण्डकी गाउँपालिका ६ भैरवीचौर पर्यटन पूर्वाधार निर्माणका लागि पाँच लाख, धार्चे गाउँपालिका ३ ऐतिहासिक खोर्लाकोट क्षेत्रको पर्यटन पूर्वाधार निर्माणका लागि पाँचलाख, बारपाक सुलिकोट ७ मुलाबारी थामडाँडा पार्क निर्माणका लागि पाँचलाख, शहीदलखन गाउँपालिका सन्तानेश्वर मन्दिर परिसरमा पर्यटन पूर्वाधार निर्माणका लागि आठ लाख बिनियोजन भएको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख भुजेलले बताए ।

‘यस वर्ष पर्यटन पूर्वाधार, पार्क र पदमार्गका निर्माणका धेरै योजना रहेको छ । यो बाहेक उद्यमशिलता विकास साझेदारका लागि पाँच लाख, सिप विकास तालिम र गोष्ठीकालागि १० लाख, दलित बिपन्न तथा परम्परागत सिप भएकाहरुको ब्यवशायिक विकासका लागि पाँचलाख, साझेदारीमा उद्योगलाई उपयुक्त प्रविधि हस्तान्तरणमा पाँच लाख बजेट प्राप्त भएको घरेलु कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्