
गुणस्तर सुनिश्चितता पाएको खुशीयालीमा बाजागाजा र नाचगान
गोरखाको पहिलो सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन(क्यूएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितता पाएको खुशीयालीमा क्याम्पसले बुधबार नाचगान गरी खुशीयाली मनाएको छ ।
१० बर्ष लामो प्रयासपछि गत असार २९ गते क्यूएए प्राप्त गरेपछि क्याम्पसले बुधबार उत्सव मनाएको हो । सो अवसरमा बुधबार विहान सदरमुकामको ठूलो आँगनदेखि हरमटारीसम्म बाजागाजा, विभिन्न प्लेकार्ड सहित प्रभातफेरि गरिएको थियो । क्याम्पसका शिक्षक, विद्यार्थी, सञ्चालक समिति, शिक्षाप्रेमीहरु सो ¥यालीमा सहभागी थिए ।
दिउसो क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नाचगान गरेर उत्सव मनाएका थिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, पूर्व मेयर राजनराज पन्त, क्याम्पस प्रमुख रामचन्द्र दुवाडी, क्याम्पसका शिक्षक कुशललाल श्रेष्ठ, महालक्ष्मी माविका प्रअ चुडामणि काप्री, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, क्याम्पसका नेविसंघ इकाइका शरण श्रेष्ठ, स्ववियूका शिवहरि तिमिल्सिना, अखिल क्रान्तिकारीका अनिश अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरुले क्यूएए प्रमाणपत्र एकपटक पाएपछि सँधैलाई नपुग्न भएकाले प्राप्त उपलव्धीको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए । ‘द्रव्यशाह बहुमुखी क्याम्पसले ३८ वर्षको लामो यात्रापछि बल्लतल्ल क्यूएए प्राप्त गरेको छ’, उनले भने, ‘गुणस्तर मापदण्ड प्राप्त गर्न निरन्तर मिहिनेत गर्नुहुने प्राध्यापक, सञ्चालक समिति, विद्यार्थी सबै धन्यवादका पात्र छन् । तर यसलाई निरन्तरता दिनु चुनौति छ । निरन्तरता दिन पनि शुभकामना व्यक्त गर्दछु ।’
द्रव्य शाह दौडेर राजा भएजस्तै अव शैक्षिक क्षेत्रमा पनि क्याम्पस प्रथम हुनुपर्ने उनको भनाइ थियो ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले यहाँबाट शिक्षा र ज्ञान आर्जन गरी जाने विद्यार्थीको भविष्य पनि उज्ज्वल रहने विश्वास व्यक्त गरे ।
‘द्रव्यशाह क्याम्पसले क्यूएए प्राप्त गर्नु समग्र गोरखा र गोरखा नगपालिकाका लागि गौरव कुरा हो’, उनले भने, ‘आगामी दिनमा क्याम्पसको भौतिक र शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि क्याम्पसका पदाधिकारीहरुसँग छलफल, समन्वय र सहकार्य गरेर नै नगरपालिका अगाढि बढ्न तयार छौँ ।’ गोरखा नगरपालिकालाई शैक्षिक हव बनाउने उद्देश्य रहेको उनले बताए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोबर्धन आचार्यले क्याम्पसमा पर्याप्तमा मात्रामा पुस्तकालय, पिउने पानी, पठनपाठनका लागि पर्याप्त मात्रामा भवनहरु भएकाले क्यूएए मान्यता प्राप्त गरेको बताए । २०४२ सालमा स्थापना भएको द्रव्यशाह क्याम्पस क्यूएए प्राप्त भएपछि गोरखाको शैक्षिक क्षेत्रमा गुणस्तरीय क्याम्पसका रुपमा खडा भएको उनले बताए ।
स्याट कमिटीका कोर्टिनेटर तथा विभागीय प्रमुख कृष्ण पराजुलीले क्यूएएको महत्व, यसका फाइदा लगायतका बारेमा जानकारी दिएका थिए । विश्वविद्यालय अनुदान आयोगको तीन चरणको निरीक्षण तथा छलफलपछि क्यूएए प्राप्त भएको उनले बताए । शैक्षिक अवस्था गुणस्तररुमा प्रत्याभूति गर्न सकिन्छ भन्नु नै क्यूएए मान्यता प्राप्त गर्नु रहेको उनले बताए ।
हालसम्म देशभर द्रव्यशाह क्याम्पस सहित ७१ वटा क्याम्पसले मात्र क्यूएए प्राप्त गरेको उनले जानकारी दिए ।
यसलाई अवसर र चुनौतीको रुपमा लिएको बताउदै अव क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नियमित कोर्शका साथसाथै अन्य अतिरिक्त क्रियाकलापहरु अझ धेरै संचालन हुने उनले बताए ।
कार्यक्रममा क्याम्प प्रमुख रामचन्द्र दुवाडीले क्याम्पस र विद्यार्थीको आश्वयकता शिक्षामा गुणस्तर कायम राख्न आवश्यक आवश्यक पुर्वाधार थप्दै जाने बताए ।









