
गोरखामा पारिवारिक बिवादका मुद्दा धेरै
गोरखा जिल्ला अदालतमा पारिवारिक बिवादका मुद्दा धेरै दर्ता हुने गरेको छ । २०७८÷०७९ को एक वर्षमा पाँच सय ८३ पारिवारिक बिवादका मुद्दा परेको थियो । तीमध्ये चारसय ३४ मुद्दा सम्बन्ध बिच्छेदका रहेका छन् । अदालतमा दैनिकजसो सम्बन्ध बिच्छेदको मुद्दा पर्ने गरेको छ । पारिवारिक बिवादमा दोस्रो धेरै एकसय ४० वटा मुद्दा अंशबण्डाको रहेको जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले बताए । पारिवारिक बिवादका चारसय ३५ मुद्दा गत आर्थिक वर्षभित्रै फस्र्यौट भएको मंगलवार आयोजित पत्रकार भेटघाटमा जिल्ला न्यायधीश बरालले जानकारी दिए ।
गोरखा जिल्ला अदालतमा २०७८÷०७९ मा पाँचसय ९१ मुद्दा दर्ता भए भने त्यसअघिको वर्ष बाँकी रहेको तीनसय पाँचसहित आठसय ९६ मुद्दा थिए । गत आर्थिक वर्ष छसय ४६ थान फस्र्यौट गरेको र दुईसय ५३ थान मुद्दा अझै बाँकी रहेको जिल्ला न्यायधीश बरालले बताए । ‘करणी सम्बन्धी मुद्दा पनि यहाँ धेरै छन्’, बरालले भने, ‘५५ थान करणी सम्बन्धी मुद्दामध्ये ३८ थान गएको आर्थिक वर्षमा फस्र्यौट भएको छ ।’ अझै १७ थान मुद्दा बाँकी छ । यसभित्र पनि हाडनाता करणीका ३६ थान मुद्दा रहेको अदालतले जनाएको छ ।
सम्पत्ति सम्बन्धी मुद्दा गतवर्ष अदालतमा ८१ वटा दर्ता भएको छ । लेनदेन, जग्गा, लिखत बदर सम्बन्धी मुद्दा धेरैपर्ने देखिएको छ । बिवाह सम्बन्धी, ज्यानसम्बन्धी, चोरी तथा डाँका, लागु औषधलगायत विषयमा जिल्ला अदालतमा मुद्दा पर्ने गरेका छन् ।
अदालतका अनुसार फैसला भएका मुद्दाको पाँचसय ५१ वर्ष एकमहिना ११ दिन कैद सजायँ भुक्तान गर्न बाँकी छ । यीमध्ये दुईसय ६० वर्ष पाँचमहिना २४ दिन गतवर्ष फैसला भएका मुद्दा हुन् भने जिम्मेवारी सरेरका आएका कार्यान्वयन हुन बाँकी दुईसय ९० वर्ष सातमहिना १७ दिन सजायँ भुक्तान हुन बाँकी छन् । जिल्ला अदालतबाहेक अन्यत्र फैसला भएर गोरखामा कार्यान्वयन गर्ने मुद्दा पनि यस अन्तरगत पर्ने अदालतले जनाएको छ ।
अदालतले जरिवाना बापत १८ करोड ९१ लाख २९ हजार ९४ रुपैयाँ असुल गर्न बाँकी छ । गतवर्ष फैसला भएका मुद्दाको चार करोड २९ लाख र त्यसअघि जिम्मेवारी सरेको १४ करोड ६२ लाख रहेको न्यायाधीश बरालले बताए ।




