
बारपाकको भूकम्प पीडित १५ घरधुरी दलित परिबारलाई सट्टा जग्गा दिने निर्णय
भुकम्पको केन्द्रबिन्दु बारपाकमा आरसियूपी टोलमा बसोबास गर्दै आएका १५ परिबारलाई निजी आवास बनाउन सट्टा जग्गा दिने नेपाल सरकारले निर्णय गरेको छ ।
भूकम्पबाट बिस्थापित भई आरसियुपी टोलमा टहरो बनाई बसेका उनीहरुलाई ‘भुकम्प स्मृति पार्कको नाममा हुन आउने जग्गा दिने’ निर्णय भएको हो । त्यसबापत उनीहरुको नाममा रहेको साविक पुरानो थलोको जग्गा भूकम्प स्मृति पार्कको नाममा नामसारी गर्ने पनि निर्णय भएको छ ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भुकम्प स्मृति पार्क निर्माणका दलित बस्तीको जग्गा दिने र त्यसको साँटो उनीहरुलाई अन्यत्र जग्गा उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका थिए ।
मन्त्रिपरिषदको १३ वटा निर्णय मध्ये १० नम्बर निर्णयमा साविक बारपाक ५ स्थित १५ जना जग्गा धनीको नाममा रहेको छ रोपनी १० आना तीन पैसा जग्गा नेपाल सरकारले भुकम्प स्मृति पार्क निर्माण गर्नका लागि प्राप्त गर्ने भनिएको छ । साथै भुकम्प स्मृति पार्कको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनका लागि सहमति प्रदान गर्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीले बताए ।
सरकारले स्विजरल्याण्डबाट प्राप्त ९५ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ । युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँको अनुदान सहायता पनि स्वीकृत गरिएको बताए ।




