| मङ्लबार, कार्तिक २४, २०८३

निर्माण ब्यवशायीलाई ‘कम्फर्टेबल’ हुनेगरी गोरखा र बारपाक ढलको तेस्रो पटक टेण्डर

दुई पटकसम्म सूचना प्रकाशित गर्दा टेण्डर दाखिला नभएपछि गोरखा सदरमुकाम र बारपाकको ढल ब्यवस्थापनको ठेक्का तेस्रो पटक खुलेको छ । निर्माण ब्यवशायीलाई केही सजिलो हुने गरी संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले टेण्डर आह्वान गरेको हो । ‘तेस्रो पटक एक महिनाको म्याद राखेर टेण्डर आह्वान गरेका छौँ, साउनको १७ गते खोल्छौँ’ कार्यालय प्रमुख शेखरचन्द्र केसीले भने ।

खरिद नियमावलीको १२ औँ संशोधन आएकाले दुईवटा विषयमा लचिलो भएर टेण्डर आह्वान गरिएको उनले बताए । यसअघि निर्माण ब्यवशायीले टेण्डर दाखिला गर्न बैंकबाट ‘लाईन अफ क्रेडिट’ जारी गर्नुपथ्र्यो । तेस्रो पटकको टेण्डरमा यो जरुरी छैन । टेण्डर दाखिला गर्न उस्तै काम ६० प्रतिशत गरेका ब्यवशायीले पनि पाउने बनाइएको छ । तेस्रो पटकको सुचनामा यो पनि लचिलो बनाइएको हो ।

‘निर्माण ब्यवशायीलाई केही सजिलो भएको छ, अब टेण्डर भएर प्रक्रिया अघि बढ्नेमा आशावादी छौँ’, कार्यालय प्रमुख केसीले भने । गोरखामा ढल ब्यवस्थापनका लागि आव्हान गरिएको ५७ करोड र बारपाकको ढल ब्यबस्थापनका लागि आव्हान गरिएको ३७ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको हो ।

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा गोरखा बजार र बारपाकगाउँको ढल ब्यवस्थापन अघि बढेको हो । दुईपटक बोलपत्र आह्वान हुँदा कुनैपनि कम्पनीले टेण्डर दाखिला नगरेपछि अनिश्चित बनेको आयोजना तेस्रो पटक दाखिला हुने नहुने यकिन भने भएको छैन । ‘अनलाईन बिडिङ भएकाले साउन १७ गते मात्रै कति दाखिला भयो, प्रक्रिया पूरा भयो भने, ठेक्का लाग्छ लाग्दैन थाहा हुन्छ’, कार्यालय प्रमुख शेखरचन्द्र केसीले भने । ‘गोरखाको तीन वर्ष र बारपाकको साँढे दुई वर्षभित्र काम सक्ने योजना हो’, आयोजना प्रमुख केसीले भने, ‘टेण्डर प्रक्रिया पूरा हुनै समय लाग्यो ।’

बारपाक र गोरखामा ढलको दीर्घकालीन ब्यवस्थापनका लागि प्रशोधन केन्द्रसहितको ढल निर्माण गर्ने गरी संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले काम गर्ने योजना बनाएको थियो । दुईपटक टेण्डर आह्वान हुँदा समेत निर्माण ब्यवशायीले ढलको ठेक्का दाखिला गराउन चासो दिएनन् ।

निर्माण ब्यवशायी संघ गोरखाका अध्यक्ष सूर्य भण्डारी भन्छन्, ‘यो दुई, तीन वर्षअघि डिपिआर भएर टेण्डर भएको योजना हो । त्यो बेलाको र अहिलेको दररेट फरक छ । पुन नयाँ दररेट नआउँदासम्म ठेक्का लाग्ने सम्भावना कम देखिन्छ ।’ ‘गोरखामा ढलको काम गर्दा सडक साँघुरो भएकाले यातायात सेवा बन्द गर्नुपर्छ, यहाँका गाडीहरु पार्किङ गर्ने, गुड्ने बैकल्पिक मार्ग छैन, डाईभर्सन गर्न सहज छैन’, उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज बनाउनुपर्छ ।’ रोड बन्द गरेर काम गर्नुपर्ने बताउँदै उनले त्यसको बिकल्प खोज्न सकिएन भने काम गर्न समस्या हुने बताए ।

गोरखाको सतिपिपलदेखि आहालेसम्मको बस्तीलाई ढल ब्यवस्थापनमा समेट्ने योजना संघीय कार्यालयको छ । अहिले नाली खोल्सीमा फालिएको ढल पाईपलाईनबाट एकैठाउँमा जम्मा गरिन्छ । एकै ठाउँमा जम्मा भएको ढल गोरखा नगरपालिका भन्दा तल वडा नम्बर ८ र ९ को सिमानामा प्रशोधन गरिन्छ ।

प्लास्टिकको पाईपबाट ढल संकलन गरेर प्रशोधन गरिन्छ । ढललाई पानीमा मिसाउन योग्य बनाउने गरी ‘प्लान्ट’ ले काम गर्छ । ढल प्रशोधन गरेपछि बजार, बस्ती क्षेत्रको दुर्गन्ध हटाउन मद्धत पुग्छ । भौगोलिक अवस्थाका कारण भने ढल ब्यवस्थापनको योजना पूरा गर्न सहज छैन । अहिले जोडिएको पाईप लाईनमा पछि बनेका घरहरुको पनि ढल मिसाउन मिल्ने गरी तयार गरिनेछ । बारपाक वडा नम्बर १ र २ को मुख्य बस्तीबाट संकलन भएको ढललाई प्रशोधन गर्नेगरी योजना बनेको छ । बाक्लो बस्ती रहेको त्यहाँ ढल ब्यवस्थापन नगर्दा दुर्गन्धसँगै महामारीको खतरा रहेकाले पनि बारपाक प्राथमिकतामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्