
गोरखा अस्पताललाई ‘हब अस्पताल’ बनाउन सम्झौता
गोरखा अस्पताललाई हब अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
अस्पताललाई निक साइमन्स इन्स्टिच्यूटको उपचारात्मक सेवा सहयोग कार्यक्रमअन्तरगत हब अस्पतालको रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्य अनुरुप यो सम्झौता भएको बताउँदै उनले भने, ‘हब अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई जनाउँछ ।
यस अन्तरगत अस्पतालको स्तर (सेकेण्डरी ए स्तरको अस्पताल ) बाट प्रदान गरिनु पर्ने विषेशज्ञलगायत अन्य जनशक्ति, उपकरण तालिम र कर्मचारी आवासको व्यवस्थापन पर्दछ ।’ हब अस्पताल बनाउनुको उद्देश्य सेकेण्डरी ए स्तरको गोरखा अस्पतालबाट प्रदान हुनुपर्ने सम्पूर्ण सेवाको निरन्तरता र गुणस्तरीय सेवा प्रवाह गर्नु रहेको उनले जानकारी दिए ।
उनका अनुसार यो कार्यक्रम सम्झौता भए अनुसार यहि श्रावणदेखि कार्यान्वयन हुनेछ । यसको समयावधि ५ बर्षसम्म रहेको बताउदै २०८३ आषाढ मसान्तसम्म कार्यक्रम संचालन हुने उनले बताए ।
यस्तै, गोरखा अस्पताल भुकम्पपश्चात पुननिर्मित सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन पश्चात एकपछि अर्को सेवा सञ्चालनमा ल्याउने क्रममा हाल मध्यम खालका अप्रेशन, प्रयोगशालामा कल्चर, सेवा संञ्चालनमा आएको सूचना अधिकारी ढकालले बताए । यसै गरी निकट भविष्यमा नै थाइराइड, हर्मोन जाँच सेवा, डायलाइसिस, एचडियु, आइसियु लगायतका सेवा सञ्चालन अन्तिम तयारीमा रहेको अस्पताले जनाएको छ ।




