
कर्मचारी हटाएपछि गण्डकी गाउँपालिका भरिका सबै स्वास्थ्य इकाई बन्द
गोरखाको गण्डकी गाउँपालिकाले करारका कर्मचारी हटाएपछि पालिकाभरका सबै स्वास्थ्य इकाइ बन्द भएका छन् । केही दिनअघि गाउँ कार्यपालिका बैठकले स्वास्थ्यका कर्मचारीसहित ७० जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाएको थियो ।
कर्मचारी हटेपछि पालिकाभित्रका १५ वटा सामुदायिक स्वास्थ्य इकाई बन्द भएका हुन् । साउन १ गतेदेखि करार सम्झौता नगर्ने पालिकाको निर्णयले बिभिन्न वडामा संचालित स्वास्थ्य इकाई, बर्थिङ सेन्टरको सेवा प्रभावित भएको हो ।
‘एउटै वडामा दुई÷तीन वटासम्म स्वास्थ्य इकाई थिए, अहिले कम्तीमा एउटा छ अरु बन्द छ’, प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले भने, ‘एक जना करार कर्मचारीको भरमा सामुदायिक स्वास्थ्य इकाई चलेका थिए त्यो पनि सबै बन्द भए ।’ साउन १ गतेदेखि त्यहाँबाट सर्वसाधारण बिरामीले सेवा पाएका छैनन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सामुदायिक स्वास्थ्य इकाईबाट गर्भवती, सुत्केरी, बृद्धवृद्धा, बालवालिकाले सेवा लिँदै आएका थिए । स्वास्थ्य परीक्षण, उपचार सेवा, परिवार नियोजनका अस्थायी साधन बितरण, निशुल्क औषधी बितरण, बालवालिकाको तौल जाँच, स्वास्थ्य परामर्श सेवा घर नजिकको सामुदायिक स्वास्थ्य इकाईबाट सर्वसाधारणले पाउँदै आएका थिए ।
गाउँपालिका भित्र २५ वटा स्वास्थ्य संस्थामा ६८ जना कार्यरत रहेकोमा अहिले २८ जना मात्रै छन् । ४० जना कर्मचारीको करार सम्झौता नबिकरण नभएपछि पालिकाभरी स्वास्थ्य सेवा प्रभावित भएको गण्डकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बेली श्रेष्ठले बताईन् ।
सामुदायिक स्वास्थ्य इकाई मात्र होईन प्राथमिक स्वास्थ्य केन्द्र, वडामा रहेका स्वास्थ्य संस्थामा पनि जनशक्ति अभाव भएको छ । जसका कारण स्वास्थ्यका नियमित कार्यक्रम सुरु गर्न नयाँ आर्थिक वर्ष लागेदेखि नै समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । साउन १० गतेदेखि हुने नियमित खोप पनि प्रभावित हुने भएको छ ।
कर्मचारी नयाँ नियुक्त गर्ने प्रक्रियाको बारेमा ठोस छलफल हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताए । ‘कहाँ कति स्वास्थ्य इकाई आवश्यक हो भन्ने यकिन गरेर कर्मचारी नियुक्तीको प्रक्रिया अघि बढ्छ, अहिलेसम्म यसबारे कार्यपालिकामा छलफल र निर्णय भएको छैन ।’ गण्डकी गाउँपालिकाको असार ३० गते बसेको कार्यपालिका बैठकले यसअघि करारमा नियुक्त भएकाको सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयले पालिकामा कार्यरत ७० जनाको करार सम्झौता नबिकरण हुन सकेको छैन ।
करारका कर्मचारी हटाउने निर्णयमा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुवास पन्त र ४ का अध्यक्ष राजुबाबु भण्डारीले माईन्यूटमै लिखित असहमती जाहेर गरेका थिए ।




