
गोरखा कारागारका ६२ जनाको निशुल्क आँखा परीक्षण
गोरखा कारागार भित्र रहेको कैदीबन्दीहरुलाई निशुल्क आँखा जाँच गरिएको छ ।
लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखाकालिका, लियो क्लव अफ गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा कारागारभित्र बुधबार आँखा शिविर सम्पन्न संचालन गरिएको हो ।
शिविरमा ५२ जना पुरुष र १० जना महिला गरी ६२ जनाले सेवा लिएको लायन्स अस्पताल गोरखा कार्यालयका सचिव बालकृष्ण पोखरेलले जानकारी दिए ।
आँखा जाँच गरिएकामध्ये दुई जनामा मोतियाबिन्दु देखिएको छ । उनीहरुलाई लायन्स आँखा अस्पतालमा हरेक महिनाको १९ गते नियमित रुपमा संचालन हुदै आएको शिविरमा अप्रेशन गर्ने उनले जानकारी दिए ।
उक्त शिविरमा लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मणबाबु आचार्य, लायन्स क्लब अफ गोरखा कालिकाका अध्यक्ष कल्पना श्रेष्ठ, लियो क्लव अफ गोरखाका अध्यक्ष बालकृष्ण परियार, गोरखा कारागारका प्रमुख गणेशप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए । क्लवले यसअघि कारागारमा पानी छान्ने मेसिन वितरण गरिएको थियो । सो अवसरमा उनीहरुको आँखा चेक गरिदिन अनुरोध गरेपछि बुधबार निशुल्क आँखा शिविर संचालन गरिएको गोरखा आँखा अस्पतालले जनाएको छ ।




