
भच्चेक स्वास्थ्यचौकीमा २४ घण्टे स्वास्थ्य सेवा सुरु
अजिरकोट गाउँपालिका केन्द्र भच्चेकमा रहेको भच्चेक स्वास्थ्यचौकी २४ घण्टा संचालन हुने भएको छ । स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा दिनकालागि २४ घण्टा स्वास्थ्य संस्था खुल्ला गरिएको गाउँपालिका उपप्रमुख अनिता भुजेलले बताइन् ।
गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले आइतबार एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् । यसअघि बर्थिङ सेवाबाहेक अन्य स्वास्थ्य सेवा २४ घण्टा उपलब्ध थिएन । साउन १ गतेदेखि २४ घण्टा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सबै सेवा पाउने उनले बताइन् । स्वास्थ्य संस्थाबाट हाल भिडियो एक्सरे सेवा, इसिजि, ल्याब, इमर्जेन्सीलगायतका सेवा उपलब्ध गराउदै आएका छन् ।
एक जना एमविविएस डाक्टर, नर्स सहितको ८ जना स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा कार्यरत छन् । उनीहरुबाट नै पालैपालो गरेर सेवा दिइने उनले बताइन् । यहाँ घ्याचोक, खरिबोट, हंसपुर, सिम्जुङ, मुच्चोक, सिरानचोकको विभिन्न वडा र लमजुङबाट पनि उपचार गर्न आउने गरेको छ ।
भच्चेकमै ५ शैयाको आधारभूत अस्पातल निर्माणको चरणमा रहेको पनि उनले बताइन् । नयाँ अस्पतालन हुँदासम्म पुरानै स्वास्थ्य चौकी भवनलाई स्तरउन्तनी गरेर संचालन गरिने उनले जानकारी दिइन् ।




