| मङ्लबार, कार्तिक २४, २०८३

सुरक्षित खोपका लागि स्थानीय तहमै कोल्डचेन जरुरी

बालबालिकाले लगाउने नियमित खोपदेखि बिभिन्न समयमा फैलन सक्ने भाईरल रोगको बिरुद्ध लगाईने खोप स्थानीय तहमै सुरक्षित भण्डारण गर्दा प्रभावकारी हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय गोरखाले बुधवार सदरमुकाममा गुणस्तरीय खोप तथा कोल्डचेन ब्यवस्थापनका लागि पालिका स्तरीय अभिमुखिकरण गरेको छ ।

‘अहिले स्वास्थ्य कार्यालयबाट खोप उपलब्ध गराइँदै आइएको छ, यसो गर्दा धेरै खेर गएकाले पालिकामै कोल्डचेन भयो भने सजिलो हुन्छ’, जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले भने । अहिले गोरखाको पालिकाहरुसँग एक हप्तासम्म खोप भण्डारण गर्ने क्षमता छ । त्यो पनि ठुलो परिमाणमा भण्डारण गर्न भने सक्दैनन् ।

कोल्डचेन शाखा बनाउने, जनशक्ति थप गर्ने, मापदण्ड अनुसारका ठुलो क्षमता भएको रेफ्रिजिरेटर खरिद गर्ने, नियमित विद्युत आपूर्तिको ब्यवस्था गर्ने हो भने पालिकाहरुले खोप भण्डारण गर्न सक्छन् । जन्मेदेखि बिभिन्न चरणमा खोप लगाउनुपर्ने शिशुहरुलाई पालिकाको स्वास्थ्य संस्थाले टोलटोलमा पुगेर खोप लगाउँदै आएका छन् ।

पालिकालाई सँधै स्वास्थ्य कार्यालयबाट खोप पठाउँदा खेर जान सक्ने, स्टोर गर्ने क्षमता कम हुने, बढी भएको खोप फिर्ता पठाउन समस्या हुने कारणले स्थानीय तहमा केही समय भण्डारण गर्ने गरी कोल्डचेन बनाउन प्रभावकारी हुने स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरीले बताए । कोल्डचेन बनाउन सकेको खण्डमा सरकारको लक्ष्य र अपेक्षाअनुसार गुणस्तरीय खोप प्रदान गर्न सकिने उनले बताए ।

सोही विषयमा जानकारी दिन स्वास्थ्य कार्यालयले बुधवार स्थानीय तहका प्रमुखहरु, स्वास्थ्य शाखाका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतलाई अन्तरक्रियाका लागि बोलाएको थियो । स्वास्थ्य शाखाका कर्मचारी सबै पालिकाको सहभागी भएपनि प्रमुखहरु भने सहभागी थिएनन् ।

सोही अवसरमा स्वास्थ्य कार्यालयले सकारात्मक सोच तथा उत्प्रेरणात्मक सेमिनार पनि गरेको छ । डाक्टर ताराप्रसाद गिरीले सकारात्मक सोचका बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्