
आफन्तको नामको ट्रस्टमा आफ्नै आम्दानीबाट मात्र दान गरौँ, राज्यको ढुकुटी खर्च नगरौँ
जसको हातमा डाडुपन्यू छ, उसले आफ्नो भाग मात्र ताक्यो भने एकातिर अरु भोकै हुन्छन्, अर्कातिर आफुले बदनाम सहनुपर्छ ।
गण्डकी प्रदेश सरकारको बजेटमा डाडुपन्यू हातमा हुनेले आफ्नै भागमा उधुम खन्याएर ढुकुटी स्वाहा पारे भन्ने आरोप बेस्सरी खेप्नुप¥यो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, गोरखाकी सांसद धनमाया लामा, बाग्लुङकी सांसद पियारी थापाले आफ्ना आफन्तको नामका ट्रस्टहरुलाई ५०÷५० लाख रुपैयाँ विनियोजन गरे । त्यस्तै सांसद विनोद केसी, पर्वतका कांग्रेसका प्रभावशाली नेता अर्जुन जोशी, कुश्मा नगरपालिकाकी पूर्वउपप्रमुख सीता काफ्लेले पनि आफन्तको नाममा बजेट बिनियोजन गरे ।
समाचार र सामाजिक सञ्जालमा प्रचार भएपछि गण्डकी सरकारले आफन्तको ट्रष्टका नाममा बिनियोजित बजेट फिर्ता गर्ने निर्णय त ग¥यो तर यतिले सुख पाएन ।
ट्रस्ट, फाउण्डेशन, प्रतिष्ठान, गुठी जेजे भनेर स्थापना गरेका, सञ्चालन गरेका भए पनि त्यो आफ्नो परिवारको हो । त्यसैले त्यसलाई जसरी सञ्चालन गर्ने हो, आफ्नो र आफन्तको कमाइबाट दान गरेको पैसाले सञ्चालन गर्ने परम्परा बसालौँ । किनभने त्यो सरकारले स्थापना गरेको संस्था होइन । त्यसमा राज्यको ढुकुटी खर्च नगरौँ ।
मृत्यू भएका व्यक्ति सबैका लागि प्यारो हुन्छ । उनका नाममा सरकारी पैसा खर्च गर्ने हो भने तीन करोड नेपालीका सबैका आफन्त नमरेका छैनन् । सबैले उनीहरुको नाममा प्रतिष्ठान बनाउँदै सरकारी बजेट बिनियोजन गर्न माग गरे भने एकातिर त्यो धानिसाध्यै हुदैन, अर्कातिर एउटालाई दिने, अर्कालाई नदिने गर्न पनि मिल्दैन । सरकारी ढुकुटीमा पहुँच हुनेले सरकारी ढुकुटीको पैसा त्यसमा खर्च गर्न पाउने, पहुँच नहुनेले नपाउने भन्न त मिल्दैन होला ।
तसर्थ यदि कसैले मृत्यू भएका आफन्तको नाममा ट्रस्ट बनाएका छन् भने आफ्नो र आफन्तको आम्दानीबाट संकलित रकम मात्र त्यसमा राख्ने गरौँ, राज्यको ढुकुटी खर्च नगरौँ । यसले राम्रो संस्कारको विकास हुन्छ ।




