
चुमनुब्रीमा हेलिकप्टरबाट पैसा ढुवानी
सडक सञ्जाल नजोडिएको गोरखाका चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट पैसा ढुवानी गरिएको छ । गाउँपालिका केन्द्रमा रहेको एक मात्र कुमारी बैंकले पालिकाको चालु वर्ष सञ्चालन भएको योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका पाँच करोड रुपैयाँ हेलिकप्टरबाट ढुवानी गरेको हो ।
‘गाडी आउने बाटो छैन, हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका हौँ’ कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले भने । पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट संचालित योजनाको भुक्तानी धमाधम भईरहेको उनले बताए । ‘दुर्गम ठाउँ भएकाले यहाँ डिपोजिट त्यती हुँदैन, पैसा ल्याएर नै दिनुपर्छ’ म्यानेजर पोखरेलले भने ‘ऋण लगानी पनि हुँदैन, मुख्य काम नै गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता र योजनाको हो ।’ सरकारले हरेक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा राख्ने योजना अनुसार चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा कुमारी बैंकको शाखा संचालनमा आएको हो । उक्त बैंकले यस अघि पनि सामाजिक सुरक्षा भत्ता हेलिकप्टरबाट ल्याएर बितरण गरेको थियो ।
बैंकको शाखा रहेको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता बैंकबाट र अन्य वडामा बैंकका कर्मचारी वडा कार्यालय पुगेर बितरण गर्ने गरेको बैंकका म्यानेजर पोखरेलले बताए । ‘बर्खा भएकाले अन्य वडामा दशैँ अघि र सिर्दिबासमा साउन महिनामा सामाजिक सुरक्षा भत्ता बितरण हुन्छ’ उनले भने ।
बैंकमा पैसा सकिँदा एक सातादेखि पालिकाको योजनाहरुको भुक्तानी हुन सकेको थिएन । ‘बैंकलाई पटक पटक आग्रह गरेपछि हेलिकप्टरबाट पैसा ल्याएर बितरण थालेको छ’ चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने । अहिले लगिएको पाँच करोडले केही महिना कारोबार संचालन हुने भएकाले स्थानीयलाई सहज हुने उनले बताए ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका तिब्बत सँग सिमाना जोडिएको पालिका हो । मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने उक्त ठाउँमा हेलिकप्टर लैजान गृहमन्त्रालयबाट अनुमती लिनुपर्छ । स्थानीय तह, जिल्ला प्रशासन, गृहमन्त्रालय हुँदै अनुमती प्रक्रिया पुरा गरेपछि मात्रै हेलिकप्टर उँडाउन पाउने ब्यवस्था छ ।




