| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको खानेपानीमा कोलिफर्मको मात्रा उच्च, गोरखा नपाका ३५ मध्य ३२ मा, पालुङ्टार र बारपाक सुलीकोटका सतप्रतिशतमा कोलिफर्म

केशव गुरुङ :

स्वास्थ्य कार्यालय गोरखाले एकबर्ष लगाएर जिल्लाभरका खानेपानीको गुणस्तरबारे अध्ययन गरेको थियो । नमूनाको रुपमा जिल्लाभरका १०६ वटा स्रोतको अध्ययन गर्दा ८४ वटा स्रोतमा कोलिफर्मको मात्रा उच्च भेटिएको हो ।


दिसामा पाइने किटाणु(कोलिफर्म) देखिएमा पानी दूषित भएको मानिने कार्यालयका ल्याप टेक्निसियन नारायणबाबु अर्याल बताउँछन् ।


जिल्लाका ११ स्थानीय तहमै पुगेर खानेपानीको मुहान तथा धाराको पानी परीक्षण गरिएको हो । जसमा नमूनाका लागि परीक्षण भएका १०६ मध्य २२ वटा स्रोतको पानी मात्र पिउन योग्य रहेको उनले बताए । गोरखा नगरपालिका भित्रका ३५ वटा धारामा परीक्षण गरिएकोमा ३२ वटा धारामा कोलिफर्म देखिएको थियो । पालुङटार नगरपालिका र बारपाक सुलिकोटका पाँच–पाँच वटा मुहानमा परीक्षण गरिएको सबैमा कोलिफर्म फेला परेको उनले जानकारी दिए ।


भीमसेन थापा गाउँपालिकाका १० वटा परीक्षण गरिएकामध्य ६ वटा, सिरानचोकका १४ वटा पानीका मुहानमध्ये १२ वटामा, शहिदलखनमा १० वटामध्ये ९ वटामा, अजिरकोटका ८ वटा मध्ये ३ वटामा र चुमनुब्री गाउँपालिकामा ११ वटा मध्ये ७ वटा पानीको मुहानमा कोलिफर्म देखिएको अर्यालले जानकारी दिए ।


यस्तै, धार्चे गाउँपालिकाका ८ वटा मुहान परीक्षण गरिएकोमा ५ वटा,साथै कार्यालयले एक वटा पानी कम्पनीको जारको पनि परीक्षण गरिएको तर त्यस भने कोलिफर्म नभेटिएको उनले बताए ।


‘पानीको मुहान आपैm फोहोर हुदैन, मानिसका विभिन्न क्रियाकलापले नै फोहोर हुने हो’, मानिसहरुले खुल्ला ठाउँमा दिसापिसाब गर्ने, सेफ्टि टयाङकी फ्ट्ने, पानीको भलहरु पानीको मुहानमा मिसिन्छ त्यसले नै पानीको मुहान दुषित हुन्छ,’ उनले भने ।


मानव दिसामा हुने ‘कोलिफर्म’युक्त पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपाटाइटिस रोगहरुको संक्रमण हुनसक्ने उनले बताए । ‘कोलिफर्म’को मात्रा देखिएका ठाउँहरुको पानीलाई तत्काल शुद्धीकरणका उपाय नअपनाए जुनसुकै बेला महामारी फैलिन सक्ने उनी बताउँछन् । कोलिफर्म’ देखिएका मुहानको पानी उपभोग गर्ने उपभोक्तालाई सरसफाइ गर्न, पानी शुद्धीकरण गरेर र पानी उमालेर मात्रै पिउन आग्रह गर्ने गरिएको छ ।


स्वच्छ पानीका लागि मुहानको वरिपरि दिसापिसाब निषेध गर्ने, नियमित सरसफाई गर्ने, मुहान संरक्षण गरी भलपानी पस्नबाट रोक्ने, नजिकको सेफ्टिट्याङ्कीबाट हुने लिकेज नियन्त्रण गर्ने तथा फुटेका पाइपहरुको समयमा नै मर्मत गर्ने आदि कार्यहरु गरेमा पानीलाई कोलिलफर्म मिश्रणबाट जोगाउन सकिन्छ । साथै पानी प्रयोग गर्दा उमाल्ने, सोडिस, क्लोरिनेसन, फिल्टर मध्ये एक विधि अपनाएरमा समुदायलाई पानी जन्य रोगहरुबाट बचाउन सकिन्छ ।

स्वच्छ पानी उपभोगका लागि पानी गर्नका लागि वडा र पालिकाले विभिन्न जनचोता मुलक कार्यक्रमहरु संचालन गरी पानीको शुद्धीकरणका उपायका बारेमा स्थानीय र खानेपानी उपभोक्ता समितिलाई जानकारी गराउनुपर्ने उनले बताए ।

के हो कोलिफर्म ?

कोलिफर्म मानिस, गाईबस्तु, चराचुरुङ्गी जस्ता तातो रगत भएका पशुपंक्षीको दिसामा पाइन्छ । कोलिफर्म भनेको कुनै एउटा व्याक्टेरिया मात्र नभई दर्जनभन्दा बढी ब्याक्टेरियाहरुको समूह हो ।
कुनै पानीमा कोलिफर्म भेटिनु भनेकै मानिस लगायत कुनै न कुनै पशुपंक्षीको दिसा मिसिनु भन्ने हो, कोलिफर्मको मात्रा कति मिसिएको छ भन्ने कुराले त्यस्तो पानी पिउन हुने वा नहुने भन्ने निर्धारण गर्छ ।

यसरी मिसिन्छ खानेपानीमा कोलिफर्म

पहिलो कारण : बर्षायाममा परेको पानी भेलको रुपमा परिणत भएर भिरालो जमिनबाट खोंचतिर बहन्छ । खोंचमा पानीको मुहान हुन्छ । भिरालो पाखा भित्तामा मानिसले खुला दिसा गरेको हुनसक्छ वा मानिसको मात्र नभएर पशुचौपायाको गोबर तथा चराचुरुङ्गीको बिष्टा पनि हुनसक्छ ।
यसरी हावा तथा पानीको माध्यमबाट खुला ठाउँको दिसा तथा गोबर पानीमा मिसिन्छ र परीक्षण गर्दा खानेपानीमा कोलिफर्म भेटिन्छ ।

दोस्रो कारण : बर्षायाममा जताततै पानीको मूल फुट्छ । मानिसहरु अस्थायी पानीको स्रोत प्रयोग गर्न थाल्छन् । नियमित पानी खाने पधेंरा नभएकाले अस्थायी पानीको स्रोत खुला तथा संरक्षित हुँदैन । घर नजिकै फुटेको पानीको मूलमा पशुचौपाया, कुखुरा लगायतको प्रवेश हुन्छ र पानीमा कोलिफर्म मिसिन्छ ।

सामान्यतयः पानीमा कोलिफर्म हुनु भनेको पानी प्रदुषित वा पिउन अयोग्य हुनु हो । कोलिफर्म आँखाले देख्न सकिन्न तर कोलिफर्म मिसिएको पानी पिउँदा मानिसमा झाडापखाला लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्