
माछाखोला डिपोमा चामल छैन : उत्तरी गोरखामा २५ सय क्विन्टल चामल ढुवानीको ठेक्का आह्वान
धार्चे गाउँपालिकाको माछाखोला डिपोमा खाद्यान्न(चामल) सक्किएको छ । आर्थिक वर्ष २०७८\७९ मा दुई सय ८० क्विन्टल ५० किलो चामल ढुवानी भएको र सबै बिक्री भईसकेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ ।
चालुवर्ष सुशान्ति निर्माण सेवाले खाद्यान्न ढुवानी गरेको थियो । असार १५ गतेभित्र उक्त चामल ढुवानी गरेको कम्पनीले जनाएको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा भने तीन हजार पाँचसय क्विन्टल ढुवानी भएको थियो ।
गोरखास्थित लिमिटेडको कार्यालयबाट दुई हजार र तनहुँको बिमलनगरबाट एक हजार पाँच सय क्विन्टल चालु वर्ष ढुवानी भएको कम्पनीका निमित्त प्रमुख शिव सुनारले बताए । अहिले सिर्दिबास डिपोमा छसय क्विन्टल चामल बाँकी छ ।
सिर्दिवासमा सोना मन्सुली ५२, स्टिम जीरा मसिनो ६६, अरुवा मकवानपुर ५२ रुपैयाँ प्रतिकिलोमा सर्वसाधारणलाई कम्पनीको डिपोले बिक्री गर्दै आएको छ भने माछाखोलामा स्टिम जिरा मसिनो प्रतिकिलो ६४ मा बिक्री हुने गर्छ ।
हरेक वर्ष खाद्यान्न ढुवानीको ठेक्का लाग्न मुस्किल हुनेगर्छ । यसवर्ष गोरखास्थित कम्पनीको शाखा कार्यालयले २०७९÷८० कालागि टेण्डर आह्वान गरिसकेको छ । माछाखोलाका लागि पाँचसय क्विन्टल र सिर्दिबासका लागि दुई हजार क्विन्टल ढुवानीका लागि बोलपत्र आह्वान गरिएको हो । साउन १७ गतेसम्म टेण्डर दाखिला गर्ने म्याद रहेको छ । गतवर्ष तीन पटक सूचना निकालेपछि मात्र ठेक्का लागेको थियो ।
समयमै चामल ढुवानी गर्ने उद्देश्यले टेण्डर आह्वान गरिसकिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख शिब सुनाले बताए ।




