
बाढीमा बग्दै विकास : असार लागेपछि मात्र सुरु हुन्छ पूर्वाधार निर्माण
शिव उप्रेती
चालु आर्थिकबर्षमा एकअर्ब ११ करोड ७८ लाख रुपैयाँको कार्यक्रम गर्ने पूर्वाधार विकास कार्यालय गोरखाले बिगत ११ महिनामा ७१ करोड ६७ लाख रुपैयाँ खर्च ग¥यो ।सो कार्यालयले असारको २० दिन यता मात्र ६३ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका अनुसार सो कार्यालयले दैनिक तीन करोड रुपैयाँ भन्दा धेरै भुक्तानी गरेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बिगत ११ महिनामा ४३ करोड २२ लाख खर्च गरेकोमा बिगत २० दिनमा छ करोड खर्च गरेको छ ।
त्यस्तै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ११ महिनामा पाँच करोड ५७ लाख रुपैयाँ खर्च गरेकोमा असारको २० दिनमा मात्र तीनकरोड खर्च गरेको छ ।
११ किलो भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयले बिगत ११ महिनामा १० करोड १२ लाख खर्च गरेकामा असारको २० दिनमा चार करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ ।
पूर्वाधार निर्माणको काम व्यवस्थित हुन नसक्दा कार्यालयहरुले ११ महिनामा भन्दा एक महिनामा धेरै खर्च गर्ने गरेका छन् । ‘हिँजो आज पूर्वाधार निर्माण गर्ने कार्यालयहरुमा दैनिक एक करोड भन्दा धेरै भुक्तानी जान्छ’, प्रमुख कोष तथा लेखा नियन्त्रक महेन्द्रप्रसाद भण्डारी भन्छन्, ‘असारको २४ गतेभित्र मात्र निकासा गर्नुपर्ने व्यवस्था छ ।
अबको पाँच दिनभित्र यो दर झन बढेर जान्छ ।’ बिगत बर्षको अनुभव सुनाउँदै उनले भने, ‘२४ गतेभित्र भुक्तानी दिन नसकेपछि असार मसान्तसम्म पुनः म्याद थप हुन्छ ।’
निर्माण व्यवसायीहरुले समयसीमाको पालना नगर्दा असार महिनामा भुक्तानीको चाप बढेको हो । ११ महिनासम्म काम नगरी बस्ने व्यवसायीहरु जब असार लाग्छ, तब पूर्वाधार निर्माणको कामका लागि दौडधुप गर्छन् ।
पालुङ्टार नगरपालिकाको आँपपीपल, मकुनडाँडा हुँदै बराहीगाउँ जोड्ने सडक स्तरोन्नतिको काम गत जेठ ३१ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने थियो । तर पूर्वाधार विकास कार्यालयले वैशाख २५ गतेदेखि लगालग फोन र पत्राचार गरेर ताकेता गर्दा पनि वौद्धेश्वर निर्माण सेवाले समयमा काम सुरु गर्न सकेन ।
‘निर्माण कम्पनीका जीवन बानियाँलाई पटक पटक फोन गर्दा पनि नउठाउने, मेसेज गर्दा पनि प्रतिउत्तर नआउने भएपछि पत्राचार गर्न थाल्यौँ’, पूर्वाधार कार्यालयका सूचना अधिकारी अजय श्रेष्ठले भने, ‘अहिले असार मसान्त पनि सक्किन लागिसक्यो । कामको प्रगति केही छैन, म्याद थप गरिदिनुप¥यो भनेर पिरोलेर हैरान छ ।
’ काम नगर्ने ठेकेदारले म्याद थप गर्न भने गतिलै मिहिनेत गर्ने उनले बताए ।
जेठ ३१ मा सम्पन्न गर्ने गरी लक्ष्मी कन्स्टूक्शन कम्पनीका राजकुमार श्रेष्ठले पपनेफाँट रानीटार, माझथर, परेनडिही सडक स्तरोन्नतिको ठेक्का लिएको पनि लामै समय भयो, तर समयमा सुरु गरेनन् । अवधि सकिँदासम्म कामको पनि खासै प्रगति नभएको पूर्वाधार कार्यालयले जनाएको छ । ‘अहिले हर्जना लगाएर काम गराइरहेका छौँ’, कार्यालयका सूचना अधिकारी श्रेष्ठले भने ।
गोरखा कालिका कन्स्टूक्शन कम्पनीले जेठ ३१ भित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको झ्याल्ला, मुच्चोकटार, कुसुण्डे, मल्ले, फाल्पु सडक, तेज निर्माण सेवाले जिम्मा लिएको सीता गुफा सडक पनि निर्धारित समयमा काम सुरु नगर्दा निर्धारित समय सीमाभित्र सम्पन्न भएनन् ।
पूर्वाधार कार्यालयले यसबर्ष ठेक्का प्रक्रियाबाट ३५ र समितिबाट ६३ वटा काम गर्ने प्रक्रियामा थियो । तर ठेक्का प्रक्रियाअन्तर्गतको १७ वटा र समितिअन्तर्गतको १९ वटा योजनाको काम असार मसान्तसम्म सकिने अबस्थामा नरहेको कार्यालयले जनाएको छ ।
‘बेलामा काम गर्दैनन् । जब जेठको आधाउधी बित्छ, अनि बल्ल साइटमा जान्छन्’, श्रेष्ठ भन्छन्, ‘अनि कोही समय पुगेन भन्छन्, कोही बाढी, पहिरोले सामान ढुवानी गर्न डिस्टर्ब ग¥यो भन्छन् । कोही आफ्नो साइटअघि अरुले संरचना बनाइदिएर डिस्टर्ब गरे भन्छन् ।’ बहुबर्षे योजना पनि र एकैबर्षभित्र सक्नु पर्ने काम पनि जब समय गुज्रिँदै जान्छ अनि मात्र साइटमा आएर झारा टार्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ छ ।
हिउँदभरि काम नगर्ने, एक्कासी असारे बाढी पहिरो सुरु भएपछि थालिएका काम गुणस्तरीय नहुने सिँचाइ डिभिजन कार्यालय गोरखाका सूचना अधिकृत विष्णुप्रसाद अधिकारीको भनाइ छ ।
‘एउटै ठेकेदारले धेरैतिर कामको जिम्मा लिएका हुन्छन्, अनि समयमा काम सुरु गर्दैनन्’, उनी भन्छन्, ‘ताकेता लाउँदा(लाउँदा बल्लतल्ल जेठ, असार लागेपछि काम सुरु गर्छन् । हतारमा गरिएको कामको गुणस्तर पनि खस्किन्छ, अनुगमन गर्न पनि कठिन हुन्छ ।’ बर्षौँदेखि यही अबस्था रहेको उनको भनाइ छ ।
तर निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष सूर्य भण्डारी भने निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र गाली गर्न नहुने तर्क गर्छन् । ‘साउन, भदौको बर्षाको मौसममा कागजी प्रक्रिया सबै दुरुस्त बनाउने र जब दशै तिहार सिद्धिन्छ, अनि धमाधम टेण्डर गरेर व्यवासायीहरुलाई साइटमा पठाउने व्यवस्था गर्नुपर्छ’, भण्डारी भन्छन्, ‘टेण्डर नै माघ, फागुनमा खुल्छ अनि व्यवसायीले कसरी समयसीमाभित्र काम गर्न सक्छन् ?’ आर्थिक बर्ष पनि परिवर्तन गर्नुपर्ने उनले सुझाव दिए ।




