
बिर्दी सेराका विद्यार्थीको समस्याका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण
गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले पालुङ्टार नगरपालिका ९ बिर्दी र सेराका विद्यार्थीहरुले भोग्नु परेको समस्याका बारेमा संसदको ध्यानाकर्षण गराएका छन् ।
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशनको अठारौँ बैठकमा बोल्दै दवाडीले त्यहाँका खारखोला र चुदी खोला बढेका बेला विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित हुने गरेको भन्दै सो समस्या समाधान गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘बर्खाको यो समयमा गोरखाको पालुङटार नगरपालिका वडा नं. ९ को धर्मोदय मावि र त्यहाँकै त्रिवेणी माविमा पढ्न जाने विद्यार्थीहरु आवतजावत गर्नलाई अप्ठ्यारो परेर अहिले विद्यार्थीहरु विद्यालय जाने अबस्था छैन’, संसदमा बोल्दै उनले भने, ‘त्यतातर्फ प्रदेश सरकारको ध्यान नपुगेको महशुस भएको छ । सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउँदछु ।’
सोही बैठकमा बोल्दै उनले जग्गाको अंशवण्डा तथा नामसारीमा करको दर वृद्धि भएकोप्रति असहमति जनाए । ‘आफ्ना छोराछोरीलाई एउटा जग्गा पास गरेर दिँदा अर्को जग्गा बेचेर कर तिर्नुपर्ने जस्तो अनुभूति भएको छ’, उनले भने, ‘धितोबन्धक राख्दा पनि पाँच प्रतिशत, सातप्रतिशतसम्म करको दर वृद्धि भएको छ । यसले सर्वसाधारणमा आर्थिक भार थोपरिन गएको अनुभूति भएको छ ।’
कतिपय शीर्षकमा वृद्धि भएको करको दरलाई पुनरावलोकन गर्न उनले सुझाव दिएका छन् ।




