
११ महिनापछि आएको मल हारालुछ
केशव गुरुङ :
११ महिनासम्म एक दानो पनि मल नपाएका गोरखा नगरपालिकाका किसानले सोमबार अपरान्ह एकाएक बोराका बोरा मल देखे । गोरखा बजारको शक्तिचोकस्थित अनिता एग्रोभेट पसलमा एक ट्रक मल आएपछि किसानहरु दौडादौड गर्दै झुम्मिए ।
आवश्यकता र आयातको सन्तुलन नमिल्दा व्यापारीले किसानहरुलाई पाँच–पाँच किलो मात्र मल दिए । पाँच किलो मल हात्तिको मुखमा जीरा हुने भए पनि किसानहरुको त्यहाँ हारालुछ थियो । घण्टौँ लाइन बसेर उनीहरुले पाँचपाँच किलोका दरले मल पाएका छन् ।
पर्याप्त मल नपाउँदा खेतीबाली गर्न समस्या भइरहेको गोरखा नगरपालिका–७ नयाँबजारका स्थानीय डिलबहादुर श्रेष्ठले बताए । ‘एक जनाले पाँच केजी मात्र पाउने रहेछ । त्यो भन्दा बढी लान पाउदैन रे । यति मलले के पुग्ला र खै’, उनले दुखेसो गरे, ‘यसमा कुखुराको गाइबस्तुको मल हालेर पनि पुग्दैन । यो मल भिटानमिन जस्तो हो, मकैमा मल हाल्यो भने मकैमा ठूलो घोका लाग्छ र धानमा पनि बाला लामो फल्छ ।’ यदि मल नहालेमा मकै धानको बोट नै सानो हुने र घोका तथा बाला सानो हुने उनले बताए ।
गत साउनमा मल लिन आए यता ११ महिना पछि बल्ल मल लिन आएको तर नपाएको उनको गुनासो छ । ‘हातमा पैसा लिएर मल खोज्न हिँड्दा पनि कतै एक दानो मल पाइएन । अघिल्लो वर्षको साउनमा मल बाँडेको थियो । त्यस पछि ११ महिना पछि आज मल लिन आएको छ ।’ ११ महिनासम्म जनताले मल पनि नपाएको उनले बताए ।
यस्तै, लक्ष्मी बजारका चन्द्रसिंह बस्नेत पनि मल लिन लाइनमा बसिसरहेको थिए । पाँच केजी मल लिन एक डेण्ढ घण्टादेखि लाइनमा बसेको उनले बताए । सोमबार बाँडेको मल नपुग्ने बताउदै अरु मल मिसाएर हाल्नुपर्ने उनको भनाइ छ । बस्नेतको जग्गा दश रोपनी भन्दा बढी रहेको तर एग्रोभेटबाट बाँडिएको मल जम्मा दुई रोपनीलाई मात्र पुग्ने बताए ।
त्यस्तै, मल पाउनकै लागि घण्टौ लाइनमा कुरेर बस्नु परेको तर पर्याप्त मल नपाएको ठिँगुरेस्वाराका स्थानीय सिता कुँवरले बताइन् । ‘मल पाउनकै लागि दिनै खेर फालेर यहाँ आउन परेको छ । तर मल जम्मा पाँच किलो पाउने रहेछ । यसले त केही पुग्दैन । हाम्रो चार रोपनी भन्दा बढी जमिन छ । पाँच केजी मलले जम्मा दुई रोपनीलाई हुन्छ,’ उनले भनिन् । मल नपाउदा बालीनाली राम्रो नहुने उनको भनाइ छ ।
गोरखा नगरपालिका वडा नं ५, ६ र ८ नम्बर वडाका कृषकहरुलाई अनिता एग्रोभेटबाट मल वितरण हुदै आएको छ । सोमबार यहाँ डिएपी र युरिया मल ४०÷४० बोरा प्राप्त भएको सो एग्रोभेटका प्रोपाइटर रामशरण कोइरालाले बताए । उनका अनुसार सोमबार मात्र करिब २ सय १० जना भन्दा बढीले मल लिएर गएका छन् ।
‘सरकार मल कम पठाएको छ । त्यसैले सबैलाई पु¥याउने गरी प्रत्येक व्यक्तिलाई पाँच÷पाँच केजीका दरले मल वितरण गर्दै आएका छौँ । यहाँको तीन वटा वडाका लागि यो धेरै अपुग हो,’ उनले भने । युरिया मल एक केजीका २५ र डिएपी मल एक केजीलाई ५५ रुपैयाको दरले वितरण गर्दै आएको उनले बताए ।
छ महिना पछि पहिलो पटक मल आएको तर किसानलाई चाहिने जति मल नआएको उनको भनाइ छ । तीन वटाका लागि युरिया मल ४ हजार दुई सय बोरा, डिएपी मल २ हजार एक सय बोरा र पोटास मल ११ सय बोरा आवश्यक पर्ने उनले बताए । सरकारले समयमै मल नपठाउनु र पर्याप्त मल नपठाउदा किसानहरु मर्कामा पर्ने गरेको उनले बताए । अव कहिले आउने ठेगान नभएपनि उनले बताए ।




