| मङ्लबार, कार्तिक २४, २०८३

कारागार भित्रको ब्यवस्थापन र समस्या

No description available.
केदार खनाल,
प्रहरी उपरीक्षक,
जिल्ला प्रहरी कार्यालय गोरखा


कारागार एउटा यस्तो स्थान हो, जुन राज्यले कानून प्रदत्त अधिकारको प्रयोग गरी अपराधमा संलग्न व्यक्तिहरुलाई सजायका साथै सुध्रने मौका स्वरुप राखिने सुधार केन्द्र हो । अपराधमा संलग्न व्यक्तिहरुलाई भावी जिवनका बिषयमा सोच्न बाध्य बनाउने कारागार जुन मानव अधिकारले नदेखेको, स्वंय व्यक्तिले नचाहेको र राज्यको चौतर्फी बाध्यता भित्रको यथार्थता हो, मानवीय संवेदनाहरु अवचेतन हुँदा समाजमा श्रृजना हुने बिग्रह, रुअशान्ति र अनियन्त्रणका बावजुत मानिसले गर्ने अस्वभाविक क्रियाकलाप कानूनको बर्खिलाप गर्नु हो, बर्खिलापको अर्थ कानून नमान्नु वा कानूनले निर्धारण गरेका ब्यवस्थाको उल्लङ्घन गर्नु अपराध हो भनि जान्नु जरुरी छ ।

यसरी हेर्दा समाजका मूल्य मान्यता, सामाजिक धर्म, मर्यादाहरुलाई उल्लङ्घन गर्ने जमातनै कारागार भित्र रहन्छन् । यसमा व्यक्तिको कुनै जात, धर्म, वर्ण, रंग जस्ता कुनै कुराले बाध्न सक्दैन तसर्थ पनि उनीहरु कुनै कालखण्डमा घटित अपराधका पक्ष पोषक तथा साक्षी हुन भन्न फरक पर्दैन ।

जे होस, व्यक्तिमा आएको क्षणिक आवेग, महत्वकांक्षा, अवोधपन प्रेम वासना लगायत विकृति विसङ्गतिलाई कारण मानी गरिएका क्रियाकलापहरुले मुलुकको कानूनको बर्खिलाप गरेको तथ्यहरु हुँदा हुँदै पनि भविष्यका निमित्त कति सचेत र सकारात्मक छन् भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । कुनै कालखण्डमा आफ्नै कारण वा परिबन्धबाट कानूनको दायरामा आएका भए पनि उनीहरु भावी दिनका लागि सकारात्मक बन्न कति तयार छन् र जीवनलाई नयाँ दिशा दिन चाहन्छन भन्ने कुरामा राज्यले दृढता साथ सोच्न जरुरी छ ।

शुरुमा व्यक्तिलाई कारागार भित्रको जनजीवन, वातावरण नितान्त एकाङ्की एवं भयंकर त्रास दिए पछिको सन्नाटा जस्तो लाग्न सक्छ । चिनजान ब्यवहार सम्बन्धहरु नयाँ स्थापित गर्नुपर्ने अवस्थाका बीचमा निराशा हिनता बोध र नकारात्मकताले उनीहरुलाई गाजेको हुन्छ । अर्को तर्फ घटनाका अवस्थामा प्राप्त प्रमाणहरु उनीहरुका बिरुद्ध प्रमाणको रुप प्रस्तुत भई रहँदा त्यसले पनि उनीहरुलाई हरक्षण झस्काई रहेको हुन्छ । जानेर, नजानेर वा योजनागत ढंगले गरिएका अपराधहरुले समाजलाई निश्चय नै त्रसित बनाएको हुन्छ भने स्वंय कर्ताका काम कु(कर्तुतले दिएको अपराधिक दर्जाबाट स्वंय उनीहरु पनि सशंकित चाही हुन्छन् तर कानुनतस् अपराध गरि सकेपछि त्यस बापतको सजाय भोग्नुका बिकल्प उनीहरुसँग अर्को केही रहदैन ।

सामान्यतया अपराध गरी सकेपछि अपराधको सजायबाट बच्न फरार हुने, आफू संलग्न नभएको जिकिर गर्ने देखी बिभिन्न शक्तिहरुलाई गुहार्ने काम पनि हुने गर्दछ । तथापी, अपराध शास्त्रका अनुसार अपराध गरी सकेपछि कुनै न कुनै दशी घटनास्थलमा छोड्नुले उनीहहरुको बचावका हरेक बाटाहरु निश्प्रभावि हुन पुग्दछन् । यो अवस्था भनेको निजहरुका लागि कारागार बास नै हो । एउटा युवा अवस्थाको नवजवान देखी ७० बर्ष उमेर कटेका वृद्ध व्यक्तिहरु समेत अपराधमा संगल्न हुँदा कारागार भित्र विविध आचरण ब्यवहार चरित्रहरुको समायोजन भएको पाईन्छ । एकै चोटी भिन्न परिवेश वातावरण र समाजको बावजुत घटित अपराधले एक ठाँउमा जम्मा हुँदा शुरुवाती दिनहरु निराश आत्मग्लानि पश्चताप देखी हिनता बोध सम्मले उनीहरुमा मानसिक पिडा प्रबल भएर आएको हुन्छ ।

यसले उनीहरुको केही दिनहरु त निश्चयनै कष्टकर हुन्छन् नै तथापी बस्दै जाँदा कारागार भित्रको अनुशासित वातावरणले उनीहरुलाई सहजता र सामिप्यताका साथ समूहमा सम्मिलित भई अघि बढ्न मद्दत पनि गर्दछ । त्यसका अलावा कारागार भित्र उपलब्ध हुने पत्रपत्रिका पुस्तक देखी भित्रै संचालनमा रहेका शीपमुलक कार्यक्रम घरेलु सामान उत्पादन सम्बन्धी गरिने क्रियाकलापहरुले उनीहरुलाई केही हद सम्म ब्यस्त बनाई सकारात्मकता प्रदान गर्दछ । कतिपय कारागार भित्र संचालनमा रहेका मन्दिर पुस्तकालय विविध खेलकुद आदिले उनीहरुको मनबहलाउन सहज बनाएको हुन्छ । दिनभर उनीहरु ब्यस्त रहेता पनि रात्री समयहरु उनीहरुको आफ्नै बिगतको अपराध बोध र कुन्ठाले छटपटी खिन्नता र पीडाका बिच बित्नेमा शंङ्का छैन ।

अपराध बोधले धेरै दिन पछ्याई रहन्छ तर बिस्तारै दिनहरु बित्दै जाँदा आन्तरिक परिवेशले सबैले नै अपराध गरेर आएका हुन भन्ने धारणा सबल बन्दै जाँदा चित्त बुझाउने ठाँउ केही हद सम्म प्राप्त हुन सक्छ । यसमा पनि अपराधको गम्भिर्यताले उनीहरुलाई संबेदनशिल बनाउन मद्दत गर्दछ, जघन्य अपराधको सजाय बढी नै हुने हुँदा सामान्य अपराध गर्नेहरु भन्दा उनीहरुमा बिगतका दिनहरु प्रति हिनता बोध र आउने दिनहरु प्रति निराशा ब्याप्त हुन सक्छ । समय क्रम सँगै कारागार भित्रको वातावरणमा घुलमिल हुँदै क्रमश हिजोका घटनाहरु बिर्सदै जाने र भावी दिनहरुमा सकारात्मक सुधार आई परिवर्तन हुन प्रेरित गर्दछ ।

अन्त्यमा कारावासमा रहेका व्यक्तिहरुलाई सकारात्मक भूमिका तर्फ लैजानु नै राज्यको दायित्व हो, कारागार भनेको शास्ति दिने ठाँउ हो, भन्ने पुरानो मानसिकताबाट मुक्त भई यसको भौतिक संरचना देखी स्वास्थ्य सेवा स्वच्छ खानेपानी स्नान गृह, आन्तरिक तथा बाह्य खेलकुदका क्रियाकलाप शीपमुलक कार्यक्रम, योग, ब्यायाम, जस्ता कार्यक्रम एवं गतिविधिहरुको उपलब्धताले सकारात्मक प्रभाव पर्न गई यिनीहरुमा समाज प्रतिको दायित्य बोध हुन जान्छ । जसले उनीहरुलाई सजाय भुक्तान गरी पुनस् समाजमा स्थापित गर्न सहज हुने हुँदा राज्यले यस्ता प्रयासहरुलाई जीवन्त राख्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्