| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणाका लागि अन्तिम तयारी

गोरखाको गण्डकी गाउँपालिकामा पूर्ण खोप सुनिश्चिता पालिका घोषण गर्नका लागि अन्तिम तयारीमा जुटेको छ ।
अन्तिम तयारीको जिल्ला खोप समन्वय समितिले शनिबार अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक मोहनबहादुर थापामगरको नेतृत्वमा शनिबार पूर्ण खोप सुनिश्चिता घोषणाका लागि पालिकाभित्रका विभिन्न वडाहरुमा पुगी अनुगमन गरेको थियो ।

१५ महिनासम्मका र १६ देखि २३ महिनाका बालवालिका राष्टिूय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरे नगरेको अनुगमन गरिएको हो । गण्डकी गाउँपालिका वडा न. ६ का वनटार, आग्रीडाँडा, आधामाटे, पल्लोटार र वडा नं १ का बुटार लगायतका क्षेत्रमा समितिले अनुगमन गरेका खोप अनुगमन समितिका सदस्य तथा जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरीले बताए । उनका अनुसार पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नका लागि अनुगमन गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मिएको १५ महिना पुग्दा १३ प्रकारका रोग विरुद्धको खोप लगाइसकेको हुनुपर्ने छ । माघ, फागुन चैत्र मसान्त सम्ममा सबै घरधुरी सर्वेक्षण गरी सबै बालवालिकालाई सबै खोप लगाइएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बेलीमाया श्रेष्ठले बताइन् । पालिकाको प्रत्येक वडामा ३ देखि ५ वटा खोपकेन्द्र स्थापना गरी नियमित रुपमा खोप कार्यक्रम संचालन गर्दै आएको उनले बताइन् । त्यस्तै, पालिकाभरि २७ वटा खोप केन्द्रबाट नियमित रुपमा बालबालिकालाई खोप कार्यक्रम संचालन गर्दै आएको श्रेष्ठले जानकारी दिइन् । नियमित रुपमा लगाउनु पर्ने खोप छुटेमा निमोनिया, दादुरा, झाडापखाला, अपाङ्ग हुने लगायतका विभिन्न रोगहरु लाग्ने भएकाले नियमित रुपमा लगाउनुपर्ने खोप छुटाउन नहुने उनको भनाइ छ ।

उनका अनुसार पालिकाभित्र १५ महिनासम्मका तीनसय ४५ जना रहेको र उनीहरु सबैलाई पूर्ण खोप दिइसकेको छ । १५ महिना पूरा भएपछि दिइने दादुरा रुबेला खोप पूरा भएपछि मात्रा पुग्छ । त्यस्तै १६ महिनादेखि २३ महिनासम्मका दुईसय ७२ जना रहेको र उनीहरु सबैलाई पूर्ण खोप दिइसकोे समेत उनले बताइन् ।

वडा खोप समन्वय समितिको बैठकले सबैले खोप लगाएपछि पालिकासँग पूर्ण खोप सुनिश्चितता घोषणा गर्न अनुमति लिनुपर्छ । पालिकाले अनुमति दिएपछि वडा घोषणा हुन्छ । त्यस्तै, पालिका घोषणा गर्दा जिल्ला खोप समन्वय समितिले अनुमति दिनुपर्ने प्रावधान छ । सोहि अनुमति प्रदान गर्नका लागि जिल्ला खोप समन्वय समितिको टोलीले शनिबार पालिकाभित्रका वडाहरुमा अनुगमन गरिएको हो । खोप समन्वय समितिले अनुगमन गरेर पूर्ण खोप लगाइएको भेटिएसँगै पूर्णखोप सुनिश्चिता घोषणा गर्न अनुमति दिने निर्णय भएको छ । आउँदो असार २१ गते पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने तयारीमा रहेको श्रेष्ठले बताइन् ।
गतवर्ष कोभिडका कारण पूर्णखोप सुनिनिश्चित कार्यक्रम हुन नपाएको पनि उनले बताए ।

अनुगमनमा जिल्ला समनवय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक मोहनबहादुर थापामगर, गोरखा अस्पतालका मेडिकल अधिकृत आयुष भण्डारी, स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरी, सोहि कार्यालयकी अस्मी श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सहसचिव केशव गुरुङ, जिससका सदस्य शिवप्रसाद रेग्मी, पालिकाकी जनस्वास्थ्य निरीक्षक बेलीमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्