| मङ्लबार, कार्तिक २४, २०८३

इन्टरनेट नचलेपछि धार्चे गाउँपालिकाको मुकाम खोर्लाबेशी

केही दिनका लागि धार्चे गाउँपालिकाको मुकाम खोर्लावेशी सारिएको छ ।
माछाखोलास्थित गाउँपालिकाको कार्यालयमा इन्टरनेट नचलेपछि केही दिनका लागि कार्यालयको काम खोर्लाबेसीबाट सुरु गरिएको गाउँपालिकाले जनाएको छ । बिल भुक्तानीको चटारोका बेला इन्टरनेट र फोनसमेत अवरुद्ध भएपछि बिहिबारबाट कार्यालयको काम खोर्लाबेशीबाट सञ्चालन गरिएका प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए । बिल भरपाई फस्र्यौट तथा भुक्तानीको डेडलाइन सकिन लागेकाले पालिकाका केही कर्मचारीहरु खोर्लाबेसी गएर पालिकाको काम थालेको उनले बर्ता ।

‘माछाखोलामा तीन–चार दिनदेखि इन्टरनेट चलेको छैन’, आलेले भने, ‘त्यसैले हामी चार–पाँच जना कर्मचारी खोर्लाबेशीमा आएर सेवा सुरु गरेका छौँ । माछाखोलामा नेट कहिले बन्छ थाहा छैन । माछाखोलामा राम्रोसँग नेट नचलेसम्म यहिँबाट सेवा दिनुपर्ने हुन्छ ।’ खोर्लाबेसीमा महालेखा नियन्त्रक कार्यालयले लागु गरेको ईएफटी (इलेक्ट्रोनिक फण्ड ट्रान्सफर) र शुत्र सफ्टवेयर राम्रोसँग काम गरिरहेको उनले बताए ।

सबै काम माछाखोलाबाट भइरहेको र मुख्य चार÷पाँच जना मात्र खोर्लावेशी आएर काम गरिरहेको उनले बताए । ‘लेखा, योजना, प्रशासनिक र प्राविधिक कर्मचारीहरु यहाँ आएका छौँ’, उनले भने, ‘हामीले सेवाग्राहीलाई दुख नहुने गरी आवश्यक कागजात सबै माछाखोलामा नै पूरा गरी सबै फाइल पालिकाकै कर्मचारीले यहाँ ल्याउनुहुन्छ । काम सकेर माछाखोला नै पठाइदिन्छौँ ।’

सेवाग्राहीलाई दोहोरो हिड्न नपर्ने गरी फाइल खोर्लावेशी ल्याउने र माछाखोलामा पु¥याउने काम कर्मचारीले नै गर्दै आएको उनले बताए । कागजपत्र पूरा भएपछि चेक सबै माछाखोलामा नै लगेर बाँड्ने गरेको उनको भनाइ छ ।

आउँदो असार २४ गतेसम्म बिल भरपाई फस्यौट तथा भुक्तानी दिइसक्नुपर्ने कानूनी सीमा रहेको छ । सोहि अनुसार काम गरिरहेको पनि उनले जानकारी दिए । उनका अनुसार पालिकाको हालसम्म करिब २० प्रशिशत भुक्तानी दिन बाँकी रहेको उनले बताए ।

माछाखोलामा इन्टरनेट कनेक्सनका लागि विद्युत र इन्टरनेटको प्राविधिकलाई समेत खबर गरिसकेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । ‘माछाखोलामा नेट चलेन, त्यहि भएर खोर्लाबेसीबाट पालिकाको काम भइरहेको छ’, उनले भने, ‘अझै कहिलेसम्म यहाँबाट काम गर्नुपर्ने हो, थाहा छैन’, उनले भने, ‘उहियामा रहेको नेपाल टेलिकमकको टावरमा समस्या आएका कारण माछाखोलामा इन्टरनेट अवरुद्ध भएको हो । टावरको अवस्था बुझन माछाखोलाबाट एक जना प्राविधिक पठाइसकेको छु ।’

प्रतिक्रिया दिनुहोस्