
गोरखा सदरमुकामका औषधी पसलहरुको अनुगमन
बुधवार गोरखा सदरमुकामका औषधी पसलहरुको अनुगमन गरिएको छ । बिभिन्न १६ वटा पसलको अनुगमन गरिएको मध्ये केही औषधी पसल, मेडिकल हल घरेलु तथा साना उद्योग कार्यालयमा बिवरण दर्ता गराउन बाँँकी रहेको देखिएको छ । ति पसलहरुलाई बिवरण दर्ता गराउन भनिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुर्य भुजेलले बताए ।
अनुगमनका क्रममा गाडीमा औषधी बिक्री गर्दै हिड्नेहरुलाई पनि सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । न्यू अभिषेक ब्रदर्स इन्टरप्राईजेटको प्यान बिल लिएर गोरखा अस्पताल आसपास औषधी बिक्री गरिरहेकालाई सचेत गराएर फिर्ता पठाइएको थियो । औषधी सप्लायर्सको कागजात सहित नियम कानुन पुरा गरेर मात्रा बिक्री गर्न भनिएको सहायक प्रजिअ भण्डारीले बताए ।
अनुगमनका क्रममा औषधी पसलको दर्ता, नबिकरण, कागजात, चिकित्सकको अनुमतीमा बिक्री गर्नुपर्ने औषधीको रेकर्ड, तथ्याङ्क राखे, नराखेको, म्याद नाघेको औषधी भए नभएको बारे निग्रानी गरिएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजना एवं जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालय, गोरखा, गोरखा अस्पताल, स्वास्थ्य कार्यालय, गोरखा नगरपालिका स्वास्थ्य शाखा, गोरखा उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिको उपस्थितीमा गण्डकी प्रदेश सरकार मातहतको जिल्ला बजार अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय गोरखाका उद्योग अधिकृतसूर्य भुजेलको संयोजकत्वमा रहेको बजार अनुगमन टोलीले गोरखा जिल्लाको गोरखा बजार क्षेत्रमा सञ्चालित औषधि व्यवसायसँग सम्बन्धित मेडिकल हल, औषधि पसल, क्लिनिक, पोलिक्लिनिकहरु, गोरखा एपोलो र आमा बा अस्पतालको पनि अनुगमन गरेको थियो ।
समितिले चालु वर्ष छ पटक बजार अनुगमन गरेको छ । गोरखा, पालुङटार बजार, पालुङटारको बिर्दी, सेरा बजार क्षेत्र अनुगमन, मनकामना क्षेत्रमा अनुगमन गरेको थियो । फेन्सी तथा कपडा, मासु पसल, होटल, किराना पसलहरु, औषधी पसलहरुको बिभिन्न चरणमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भुजेलले बताए ।




