
गोरखा नगरपालिकाको सार्वजनिक सुनुवाइ : फुटपाथ अव्यवस्थित भएको, धमिलो पानी खानु परेको गुनासो
गोरखा बजारको फुटपाथ अव्य वस्थित भएको स्थानीयबासीले गुनासो गरेका छन् ।
गोरखा बजार जिल्लाको अनुहार भएकाले यसलाई श्रृङ्गारपटार गर्नुपर्ने, जिल्लाको इज्जत बढाउन गोरखा बजारको शोभा बढाउनु पर्ने उनीहरुको जोड थियो ।
गोरखा नगरपालिकाको कार्य सम्पादनका बिषयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासो राख्दै नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेतले बजार क्षेत्रको फुटपाथ ब्यवस्थित नहुँदा नागरिकलाई परेको अप्ठ्यारोलाई नगरपालिकाले नजरअन्दाज गरेको गुनासो गरेका थिए । फुटपाथमा जथाभावी पार्किङ गर्ने र ब्यवसायीले सामान राख्ने गरेकाले अपांगता भएका ब्यक्तिहरु हिड्नै मुस्किल रहेको र दुर्घटना समेत निम्त्याउने गरेको भन्दै तत्काल यससम्बन्धी समस्या समाधानमा ध्यान दिन आग्रह गरे ।
त्यस्तै गोरखा नगरपालिका ६ कि पूजा रोकाले ढुंगेधाराहरुको संरक्षण गर्न माग गरेकी छिन् ।
नगरक्षेत्रको फोहोर संकलनलाई ब्यवस्थित बनाउनुपर्ने भन्दै उनले बनेका संरचनाको संरक्षणमा स्थानीय सरकारले ध्यान ध्यानाकर्षण गरिन् । गोरखा नगरपालिका ६ कै राममाया श्रेष्ठले पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले बर्खायाममा समेत नियमित पानी दिन नसकेको दुखेसो गरिन् ।
पानी आएपनि धमिलो आउने गरेको गुनासो गर्दै उनले तत्काल समन्वय गरी समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिन् । त्यस्तै रामबाबु अर्यालले ठेक्काबाट हुने र समितिबाट हुने विकास योजनाका काममा कार्यालयले भेदभाव गर्ने गरेको आरोप लगाए । ठेक्काबाट भएको कामले तत्काल भुक्तानी पाउने तर समितिको भुक्तानी प्रकृया झण्झटिलो रहेको आरोप उनको थियो । वडा नम्बर ७ की मैना रोकाले पद अनुसारको जिम्मेवारी निर्वाहमा सबै सचेत हुनुपर्ने तर्क गरिन् ।
पहुँच नपुग्दा विपन्नले सुत्केरी पोषण भत्ता समेत नपाएको गुनासो चन्द्रविर विश्वकर्माको छ ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोग तथा नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा भएको नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजना भएको थियो ।
कार्यक्रममा उठेका साथै सर्भे र अध्ययनबाट प्राप्त गुनासाहरुको नगरप्रमुख कृष्णबहादुर राना, उपप्रमुख मसलीमाया थोकर र प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले सम्बोधन गर्दै समस्या समाधानका लागि पहल कदमी लिने प्रतिवद्धता ब्यक्त गरेका थिए । ब्यवस्थित नगर बनाउन आफु दृढ रहेको बताउदै नगरप्रमुख रानाले नगरपालिकाले गर्ने हरेक निर्णय कार्यान्वयन गराउने दायित्व सबैको भएको बताए ।
जनताका अपेक्षा र आवश्यकता अत्याधिक रहेको तर स्रोत साधन सीमित भएकाले तत्काल सम्बोधन गर्न कठिन अवस्था रहेको समेत उनले बताए । कार्यक्रममा बोल्दै नगरउपप्रमुख थोकरले पारदर्शिता र जवाफदेहिताका सवालमा नगरपालिका प्रतिवद्ध रहेको बताइन् ।
उनले नगरले दिने हरेक सेवालाई सहज र सरल बनाउन पहल गर्ने समेत प्रतिवद्धता ब्यक्त गरिन् । शासन गर्ने भनेको नियन्त्रण गर्ने नभई सेवा दिने रहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत ढकालले नगरवासीको करबाट सुविधा लिएपछि नगरवासीको सेवामा पनि इमान्दार बन्न कर्मचारीलाई निर्देशन दिए ।




