| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्रीको नीति तथा कार्यक्रम : वातावरण मैत्री सांस्कृतिक संरक्षणमा जोड

गोरखाका दुर्गम पालिका चुमनुब्री गाउँपालिकाले ११ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शासन विकास, सेवा प्रवाहलाई ब्यवस्थित गर्न गाउँपालिकाले गुरुयोजना निर्माण गर्ने नीति लिएको अध्यक्ष निमा लामाले बताए ।

श्याग्या/अहिंसा ऐतिहासिक सताब्दी महोत्सव संचालन गर्ने, आफ्नै प्रशासनिक भवन निर्माण गर्ने वर्ष २०७९/८० का लागि प्रस्तुत गरेका नीति कार्यक्रममा उल्लेख छ ।
बातावरण मैत्री सांस्कृतिक संरक्षण, गुणस्तरीय शिक्षा लगायत नागरिक मैत्री सेवाका लागि ‘जनता सँग अध्यक्ष कार्यक्रम संचालन गर्ने, गाउँपालिका र फिलिम बजार जोड्ने मोटरेबल पुन निर्माण गर्ने, सबै गाउँमा सडक सञ्जाल बिस्तार गर्ने अध्यक्ष लामाले बताए ।

पालिकामा शिक्षा समिति गठन गरिने, वुुद्ध माविमा कक्षा १२ सम्म पढाई हुने ब्यवस्था गरिने, ब्यवशायीक शिक्षा दिने, ब्यवशायीक रुपमा भेडा पालन गर्दै आएका किसानलाई उन्नत जातको भेडा पालनका लागि सहयोग गर्ने कार्यक्रम गाउँपालिकाको छ ।

साविक सिर्दिबास गाविस ७ देवल क्षेत्रको पहिरो नियन्त्रणका लागि संघीय सरकारसँग पहल गर्ने, गाउँपालिकाभित्र नापी छुट भएका जग्गा दर्ता, अब्यवस्थित बसोबास र सुकुम्बासी समस्याको समाधान गर्न पहल गर्ने नीति चुमनुब्री गाउँपालिकाले लिएको छ ।

पर्यटनतर्फ गणेश हिमाल बेस क्याम्प जाने ट्रेकिङ रुटको सुधार तथा सेल्टर निर्माण, चुम्चेत हुँदै नुब्री भ्यालीको बिही जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने योजना गाउँपालिकाको छ । दुर्घटना तथा विपत्तिबाट मृत्यू भएकाको परिवारलाई काजकिरिया खर्च बापत १० हजार तत्काल उपलब्ध गराउने नीति पालिकाले लिएको अध्यक्ष निमा लामाले बताए ।

चुम र नुब्री भ्यालीमा हेल्थ असिस्टेन्ट दरबन्दी सहितको प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने, चुम र नुब्री तर्फको दुबै नाका खोली सिमा वारपार ब्यापार वृद्धि गर्न चीन सरकारसँग कुटनीतिक पहल गरिने भएको छ ।

सबै आधारभूत तहमा अंग्रेजी माध्यम संचालनको पहल गर्ने, जडिवुटी प्रशोधन केन्द्र स्थापन गर्ने, बाहिरबाट आउने मदिरा ब्यवस्थापन गरी स्थानीय स्तरमा उत्पादित मदिराका ब्राण्डिङ गर्ने, अति बिपन्न परिवारलाई जिविकोपार्जनमा सुधार हुने गरी सिप तालिम तथा बिउ पुँजी उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।

११ औँ गाउँ सभामा अध्यक्ष लामाद्वारा प्रस्तुत नीति कार्यक्रममा सिर्दिबासमा कृषि बिकास बैंक स्थापना गरी किसानलाई सहुलिय ऋण उपलब्ध गराउन पहल गर्ने, प्रत्येक वडामा गाउँघर क्लिनिक संचालन गर्ने, एक घर एक धारा र एक घर एक शौचालय निर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ ।

जनताको भावना अनुसार आवस्यकताका आधारमा ‘दिगो बिकास अनुपम संस्कृति, उन्नत पर्यटन समृद्ध चुमनुब्री’ को सोचलाई पूरा गर्ने नीति कार्यक्रम ल्याइएको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्