| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा आत्महत्या गर्नेहरुमध्य १८ देखि २५ वर्ष उमेर समूहका धेरै

गोरखामा आत्महत्या गर्नेहरुमा १८ देखि २५ वर्ष उमेर समुहका युवा धेरै देखिएका छन् । गत साउनदेखि असार दोस्रो सातासम्म ६३ जनाले आत्महत्या गरेकोमा १८–२५ वर्ष उमेरका १७ जना छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यो संख्या बिगत तीन वर्ष यताकै धेरै हो ।
आत्महत्या गर्नेमा ६० वर्ष उमेर माथिका १० जना रहेको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए । २५ देखि ३५ वर्ष समूहका १० जना, ३६–४५ उमेर समुहका ९ जना, ४६–६० वर्षका ९ जनाले यो वर्ष आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । १८ वर्ष उमेर मुनिका पनि आठ जना छन् ।

‘युवा अवस्थाका धेरैले आत्महत्या गर्ने गरेको देखियो’, एसपी खनालले भने । गतवर्ष गोरखामा ७९ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा बालिका र पुरुषको संख्या धेरै छ । यो वर्ष ३२ जना पुरुष, २३ जना महिला, एकजना बालक र आठजना बालिका आत्महत्याको शिकार बनेका छन् । बालिका आत्महत्याको घटना तीन वर्ष यताकै धेरै हो ।
‘गोरखा नगरपालिका, पालुङटार, भीमसेन थापा, बारपाक सुलिकोट लगायतका पालिकामा आत्महत्याका घटना धेरै छन्’, एसपी खनालले भने, ‘लैङ्गिक असमानता, विभेद, पारिवारिक बिखण्डन, बैदेशिक रोजगार, गरिबी, लागु पदार्थको प्रयोग प्रत्यक्ष कारणका रुपमा देखिएका छन् ।’

आधुनिक प्रविधिको दुश्परिणामस्वरुप आत्महत्याको संख्या बढेको प्रजिअ शंकरहरि आचार्यको तर्क छ । ‘प्रविधिको दुरुपयोग, अस्वभाविक अपेक्षा, अरुको प्रलोभन र माया प्रेमको प्रपञ्चमा फँस्ने जस्ता कारणले आत्महत्या धेरै भएका छन’, सोमवार गोरखामा आयोजित आत्महत्या न्यूनिकरण सम्बन्धी कार्यक्रममा प्रजिअ आचार्यले भने ।

भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले अभाव र तनाबले आत्महत्याको घटना बढेकाले त्यसलाई न्यूनिकरण गर्ने तरिका सिकाउनुपर्ने बताए । जिल्ला समन्वय समिति उपप्रमुख लीला परियारले सचेतनाका कार्यक्रममा टोलटोलमा, महिलासमुह, आमा समुह, युवा क्लवलाई दिनुपर्ने बताइन् ।

घर परिवार, आफन्तले फरक ब्यवहार, भावना देखाएको परिवारका सदस्यबारे बुझ्ने, मनोबल बढाउने कुरा, काम गर्ने, उत्साह थप्ने, हतोत्साहित हुन नदिने, उत्प्रेरण जगाउन सकियो भने आत्मावल बढाउन र आत्महत्या न्यूनिकरणमा मद्धत पुग्नेमा सहभागीले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्