| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका सबै पालिकाले बजेट, नीति तथा कार्यक्रम ल्याए

गोरखाका ११ वटै स्थानीय तहले निर्धारित समय सीमाभित्रै आगामि आर्थिक वर्षमा सञ्चालन गरिने बजेट तथा कार्यक्रम ल्याएका छन् ।
सबैभन्दा धेरै गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ९४ करोड छ लाख ६० हजार पाँचसय रुपैयाँ वजेट प्रस्ताब गरेको छ । वित्तीय समानीकरण अनुदानबाट २४ करोड ७७ लाख, सशर्त अनुदानबाट ३८ करोड २९ लाख अनुमान गरिएको छ । आन्तरिक आम्दानी, संघ, प्रदेश सरकारले दिने रोयल्टी, आन्तरिक आम्दानीलाई स्थानीय तहहरुले बजेटको स्रोतको रुपमा लिएको उप प्रमुख मसलीमाया थोकरले बताइन् ।

पालुङटार नगरपालिकाले ८२ करोड ६० लाख रुपैयाँ बजेट ल्याएको उपप्रमुख बन्दना पाण्डेले बताइन् । ‘कृषि पूर्वाधारलाई, शिक्षामा प्राथमिकता दिएर बजेट आउँछ’, उनले भनिन्, ‘पूर्ण बजेटको लागि विषयगत समितिमा छलफल गरेर अन्तिम टुङ्गो लगाउँछौँ ।’ पालुङटार नगरपालिकाले दुई करोड ८६ लाख आन्तरिक आम्दानीको प्रक्षेपण गरेको उपप्रमुख पाण्डेले बताइन् ।

शहीदलखन गाउँपालिकाले ६९ करोड ८ लाखको बजेट प्रस्ताब गरेको छ । योमध्ये सबैभन्दा धेरै पूर्वाधार निर्माणमा १८ करोड ३५ लाख र सामाजिक विकासमा ११ करोड ३७ लाख बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले आन्तरिक आम्दानी एक करोड २५ लाख अनुमानित गरेको बजेट गाउँसभामा उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्तुत गरिन् ।

भीमसेन थापा गाउँपालिकाले ६२ करोड २६ लाख बजेट बिनियोजन गरेको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष अमृता वस्तीले संक्षिप्त बजेट प्रस्तुत गर्दै जानकारी गराइन् । ‘शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता दिनेछौँ, पूरा बजेट असार महिनाभित्र आउँछ’, उनले भनिन् ।
गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड ११ लाख बजेट प्रस्ताब गरेको छ । गाउँ सभामा उपाध्यक्ष ललिता अधिकारीले आगामि वर्षको बजेट प्रस्ताब गर्दै संघीय सरकारको वित्तीय समानीकरण अनुदानमा १४ करोड ९१ लाख र सशर्त अनुदानमा २६ करोड ६३ लाख रहेको बजेट पेश गरिन् ।

गाउँपालिकाले आन्तरिक आम्दानीबाट दुई करोडभन्दा बढि संकलन गर्ने लक्ष्य लिएको उपाध्यक्ष अधिकारीले बताइन् ।
आरुघाट गाउँपालिका ५१ करोड १८ लाखको बजेट प्रस्ताब गरेको उपाध्यक्ष कल्पना नेपालीले बताइन् । गाउँपालिको ८५ लाख आन्तरिक आम्दानीको अनुमान गरेको छ । ‘वडागत र विषयगत रुपमा कति बजेट बिनियोजन गर्ने भन्ने टुङ्गो बैठक बसेर केही दिनमा लाग्नेछ’, उनले भनिन् ।

धार्चे गाउँपालिकाले आगामि वर्षका लागि ४५ करोड ३७ लाख रुपैयाँ बजेट प्रस्ताब गरेको प्रवक्ता राकेश गुरुङले बताए । ‘बजेटलाई पूर्ण रुप दिन भने बाँकी छ’, उनले भने, ‘प्रक्रिया मात्रै सुरु भएको हो ।’
अजिरकोट गाउँपालिकाले आगामि वर्षका लागि ४८ करोड २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताए ।

सिरानचोक गाउँपालिकाले ९० करोड ३० लाख रुपैयाँ अनुमानित बजेट बिनियोजन गरेको छ । २८ करोड बजेट पूराना गौरवका योजनामा बिनियोजन गरिएको उपाध्यक्ष रिता देवकोटाले बताइन् । गाउँपालिकाले एक करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । पालिकाले पूर्वाधार तर्फ तीन करोड ३१ लाख, सामाजिक विकास तर्फ दुई करोड ६० लाख बिनियोजन गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले गाउँसभामा ५५ करोड ५१ लाखको बजेट प्रस्ताब गरेकी छिन् । ‘कुन क्षेत्रमा कति बजेट बिनियोजन गर्ने भन्ने छलफल चलिरहेको छ, अन्तिम रुप दिन बाँकी छ’ उनले भनिन् ।
चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले आगामि वर्षका लागि ४३ करोड ३० लाख बजेट गाउँ सभामा प्रस्ताब गरेकी छिन् । पालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्