
पालुङ्टारको ११ औं नगरसभा : स्मार्ट नगरपालिका बनाउने अठोट
गोरखाको पालुङटार नगरपालिकाको ११ औ नगरसभा विहिबार सम्पन्न भएको छ । नगरप्रमुख विवश चिन्तनले आगामि वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न भएको हो ।
नीति तथा कार्यक्रममा पालुङटारलाई कृषिमा आधुनिकीकरण गर्दै व्यवसायीकरण तर्फ उन्मुख गराउन कृषि सामाग्री (मेसिनरी, उन्नत वीउ बिजन) खरिदमा अनुदानको ब्यबस्था गर्ने, पालुङटार वहुउदेश्यीय कृषि प्रवर्धन कार्यक्रम संचालनमा ल्याइने जनाएको छ ।
३ वर्षभन्दा बढी बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरुप प्रतिरोपनीका दरले कार्यविधि बनाई अनुदान दिईने, वडा नं ६, ७ र ८ लाई लिची पकेट क्षेत्रको रुपमा विकास गर्ने र पशु चौपाया र पशुपंक्षी तथा फलफूल खेतीको वीमा प्रणाली यसै वर्षदेखि सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाको सुब्यबस्थित विकासको लागि आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, ऐतिहासिक, पर्यटकीय स्थल लगायतको क्षेत्रलाई समेटर नगर चक्रपथको निर्माण गर्ने र जलाधार क्षेत्रको कमी भएका सुख्खा क्षेत्रका लागि थोपा सिंचाई, पोखरी निर्माण लगायत इनार निर्माण अन्य प्रविधिको बिकास तथा बिस्तार गरी सिंचाई सुबिधाको बिस्तार गरिने ११ औ नगरसभामा मेयर चितन्तले बताए ।
सामाजिक विकासतर्फ लैगिक समानता तथा सामाजिक समावेशीकरण र दलित एवं बाल बिकासका लागि चेतनामुलक कार्यक्रमहरु संचालन गरिने र सीमान्तकृत जातिहरुसाथै बिपन्न वर्गहरुको लागि बिशेष कार्यक्रम ल्याइने उनले बताए ।
शिक्षातर्पm प्रविधियुक्त डिजिटल शिक्षा नीति अबलम्बन गरिनेछ र विद्यालयहरुलाई प्रविधिमैत्री बनाई प्राविधिक र जीवन उपयोगी शिक्षालाई प्रोत्साहन गरिनेछ र एक बिद्यालय एक उद्यम कार्यक्रम संचालन गरिने जनाएको छ ।
स्वास्थ्य तर्फ पालुङटार नगरपालिकाको एक मात्र आँपपिपल अस्पताललाई आम जनताको पहुँचको अस्पतालको रुपमा पुनसंरचना गरी विकास गरिने र बच्चा जन्मिए लगत्तै नवजात शिशुको नाममा बैंक खाता (बालखाता) खोली रु दुईहजार जम्मा गरिने कार्यलाई निरन्तरता दिईने उनले बताए । गर्भवती महिलालाई बच्चा जन्माउनका लागि अस्पताल र बर्थिङ सेन्टरसम्म पुग्न निशुल्क एम्बुलेन्सको सुविधा दिइने जनाएको छ ।
पर्यटन विकास तर्फबाट लिगलिग कोटमा गन्धर्व संग्राहलय सहित थप पर्यटकीय पूर्वाधार विकास गरिने, विभिन्न पर्यटकीय स्थानको पूर्वाधार निर्माण गरी होमस्टे, प्राचीन साँस्कृतिको अध्ययन केन्द्र मनोरन्जनात्मक वातावरणको बिकास गरिने कार्यक्रममा उल्लेख छ ।
जलश्रोतको दीगोपनाका लागि सबै वडाहरुमा एक वार्ड एक पोखरी निर्माणको नीति लिई पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षण र बिरुवारोपण नीतिलाई अबलम्बन गरिने जनाएको छ ।
विपदको अवस्थामा तत्काल उद्दार तथा सुरक्षित वासस्थानको पहिचान र ब्यबस्थापनको लागि बजेटको ब्यबस्था गरिने उनले बताए ।
त्यस्तै, युवा, खेलकुद, साहित्य, कला, संस्कृति अन्तरगत नगर भित्रका लेखक, साहित्यकार तथा कलाकारहरुको प्रोत्साहन र विकासका लागि युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यक्रम संचालन गरिने र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितार मेयर कप र वडा स्तरीय खेलकुद र बिद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई नियमित संचालन गरिने उनले जानकारी दिए ।
हालको विपदको महामारी परिस्थितिवाट प्रभावित सामाजिक तथा आर्थिक क्षेत्रलाई पुनर्जीवन दिई बिकास निर्माणलाई तिब्रता दिई स्मार्ट नगरपालिका बनाउने उनले उद्घोष गरेका थिए ।




