
गोरखा बजार र बारपाकको ढल ब्यवस्थापनको ठेक्का लागेन
पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक(ठूलोगाउँ)को ढल ब्यवस्थापनका लागि आह्वान गरिएको ठेक्का लागेन । गोरखामा ढल ब्यवस्थापनका लागि आव्हान गरिएको ५७ करोड र बारपाकको ढल ब्यबस्थापनका लागि आव्हान गरिएको ३७ करोड रुपैयाँको टेण्डरमा कसैले पनि बोलपत्र फाराम पेश नगरेका हुन् ।
संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले पहिलोपटक आह्वान गरेको टेण्डरको निर्धारित अवधीमा कुनै कम्पनीले पनि विड नगरेको कर्यालय प्रमुख शेखरचन्द्र केसीले बताए । ‘पहिलो पटक असार २ गते सम्म टेण्डर म्याद थियो’, उनले भने, ‘एउटा पनि दाखिला नभएपछि असार ३ गते पुन १५ दिने सुचना प्रकाशित गरेर दोस्रो पटक टेण्डर आह्वान गरेका छौँ ।’ असार १६ गते खोल्ने गरी चालु वर्षभित्रैबाट काम सुरु गर्ने योजना सहित टेण्डर आह्वान गरिएको उनले बताए ।
गोरखा बजार क्षेत्रको ढल ब्यवस्थापनका लागि ५७ करोड र बारपाकको लागि ३७ करोडमा टेण्डर आह्वान भएको हो । ‘गोरखाको तीन वर्ष र बारपाकको साँढे दुई वर्षभित्र काम सक्ने योजना हो’, उनले भने, ‘टेण्डर नलाग्दा धेरै समय लाग्ने भयो ।’ ठूला ब्यवशायीले पाँचवटा ठेक्का मात्रै दाखिला गर्न पाउने नियम भएकाले पनि ब्यवशायीले दाखिला नगरेको हुन सक्ने कार्यालय प्रमुख केसीले बताए ।
बारपाक र गोरखामा ढलको दीर्घकालीन ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गर्ने गरी संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले काम सुरु गर्न लागेको हो । टेण्डरको प्रक्रिया पूरा गरेर निर्माण कम्पनी छनौट गरेपछि काम सुरु हुनेछ । पहिलो चरणको प्रक्रिया नै अघि नबढ्दा गोरखा र बारपाकको ढल ब्यवस्थापनको प्रोजेक्ट अघि बढ्न सकेको छैन । निर्माण ब्यवशायीले ढलको ठेक्का दाखिला गराउन चासो दिएका छैनन् ।
निर्माण ब्यवशायी संघ गोरखाका अध्यक्ष सुर्य भण्डारी भन्छन् ‘यो दुई, तीन वर्षअघि डिपिआर भएर टेण्डर भएको योजना हो, त्यो बेला र अहिले दररेट फरक छ, पुन नयाँ दररेट नआउँदासम्म ठेक्का लाग्ने सम्भावना कम देखिन्छ ।’ ठूला ब्यवशायीले बजारभाउ अनुसार अहिले काम गर्न नसक्ने बताएको भन्दै उनले दोस्रो पटक पनि टेण्डर दाखिला हुने संभावना कम रहेको बताए ।
‘गोरखामा ढलको काम गर्दा सडक साँघुरो भएकाले बन्द गर्नुपर्छ, यहाँका गाडीहरु पार्किङ गर्ने, गुड्ने बैकल्पिक मार्ग छैन, डाईभर्सन गर्न सहज छैन’, उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज बनाउनुपर्छ ।’ रोड बन्द गरेर काम गर्नुपर्ने बताउँदै उनले त्यसको बिकल्प खोज्न सकिएन भने काम गर्न समस्या हुने बताए ।
गोरखाको सतिपिपलदेखि आहालेसम्मको बस्तीलाई ढल ब्यवस्थापनमा समेट्ने योजना रहेको इन्जिनियर सन्तोष पोखरेलले बताए । ‘अहिले बजारक्षेत्रलाई केन्द्रित गरेर टेण्डर आह्वान गरिएको हो’, उनले भने । अहिले नाली खोल्सीमा फालिएको ढल पाईपलाईनबाट एकैठाउँमा जम्मा गरिन्छ । एकै ठाउँमा जम्मा भएको ढल गोरखा नगरपालिका भन्दा तल वडा नम्बर ८ र ९ को सिमानामा प्रशोधन गरिन्छ । फोहोर प्रशोधन ‘प्लान्ट’ निर्माण गर्न गोरखा नगरपालिकाले जग्गा उलब्ध गराउने छ । करिब १० रोपनी जग्गा नगरपालिकाले उपलब्ध गराउने गोरखा नगरपालिकाका वातावरण अधिकृत ूुव घिमिरेले बताए ।
प्लास्टिकको पाईपबाट ढल संकलन गरेर प्रशोधन गरिन्छ । ढललाई पानीमा मिसाउन योग्य बनाउने गरी ‘प्लान्ट’ ले काम गर्छ । ढल प्रशोधन गरेपछि बजार, बस्ती क्षेत्रको दुर्गन्ध हटाउन मद्धत पुग्छ । भौगोलिक अवस्थाका कारण भने ढल ब्यवस्थापनको योजना पूरा गर्न सहज छैन । पाईपलाईनका कारण सडक संरचना भत्कने खतरा रहन्छ । ‘निर्माणका क्रममा भत्किएका संरचना परियोजनाले निर्माण गर्छ’, इन्जिनियर पोखरेलले भने ।
अहिले जोडिएको पाईप लाईनमा पछि बनेका घरहरुको पनि ढल मिसाउन मिल्ने गरी तयार गरिनेछ ।
बारपाक वडा नम्बर १ र २ को मुख्य बस्तीबाट संकलन भएको ढललाई प्रशोधन गर्नेगरी योजना बनेको छ । बाक्लो बस्ती रहेको त्यहाँ ढल ब्यवस्थापन नगर्दा दुर्गन्धसँगै महामारीको खतरा रहेकाले पनि बारपाक प्राथमिकतामा परेको हो ।
गोरखा र बारपाकमा बन्न लागेको ढलमा बर्षातको पानी भने मिसाईँदैन । वर्षातको पानी पाईपले थेग्न नसक्ने भएकाले त्यसको ब्यवस्थापन चुनौति हुन सक्ने भएकाले ढलको पानी मात्रै ब्यवस्थापन गरिने प्राविधिकहरु बताउँछन् ।




