| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीमा स्वीकृतिप्राप्त माध्यमिक तहको विद्यालय छैन

दुर्गममा रहेको चुमनुब्री गाउँ पालिकाकाका नवनिर्वाचित अध्यक्ष निमा लामा तथा संघीय सांसद हरिराज अधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटी पालिकाभित्र सञ्चालनमा रहेको विद्यालयलाई स्थायी स्वीकृति प्रदान गरिदिन माग गरे ।

थै सो गाउँपालिकामा सञ्चालित आवासीय विद्यालयहरुमा हिमाली आवासीय छात्रवृत्ति कोटा बढाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराए । दुर्गमका विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चितताका लागि पहल गर्न आफूहरुले मन्त्रीको ध्यानाकर्षण गरेको अध्यक्ष लामाले जानकारी दिए ।

‘अहिले हाम्रो पालिकामा चार सय २० वटा हिमाली आवासीय छात्रवृत्ति कोटा छ यसमा तत्काल दुई सय थप गर्न माग गरेका छौँ’, लामाले भने, ‘भौगोलिक रुपमा विकट, सडक सञ्जाल नजोडिएको पालिका भएकाले चुमनुब्रीका विद्यार्थीलाई विद्यालय आउजाउमा निकै समस्या छ । बढ्दो विद्यार्थीको चापको आधारमा अहिले भएको कोटाले माग धान्न चुनौती छ ।

’ गाउँपालिकामा सञ्चालित वुद्ध मावि पुग्न विभिन्न बस्तीबाट विद्यार्थीलाई दुई दिनसम्म लाग्ने भएकाले आवासीय छात्रवृत्ति कोटा बढाउनु जरुरी रहेको उनको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका, अविभाबक नभएका, धेरै टाढाबाट विद्यालय धाउनुपर्ने विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रावासलाई थप ब्यवस्थित बनाउने गाउँपालिकाको योजना रहेको लामाले बताए । चुमनुब्रीको समस्या समाधान गर्न शिक्षा मन्त्री पौडेल सकारात्मक रहेको र तत्काल छात्रवृत्ति कोटा थप गर्ने आस्वाशन दिएको उनले बताए ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कक्षा १० सम्म पढाई हुने दुईवटा विद्यालय छन् । स्थानीयहरुको पहलमा वडा नं. ३ को वुद्ध मावि र वडा नं. २ को ल्हो माविमा कक्षा १० सम्म पढाइ हुन्छ । वडा नं. ४ गपस्थित नुब्री आधारभूत विद्यालयमा कक्षा आठसम्म पढाइ हुन्छ ।
२२ वटा विद्यालय रहेको त्यहाँका १९ वटामा कक्षा ५ सम्म मात्रै पढाई हुन्छ । यी सबै विद्यालयमा गरी एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

१० कक्षासम्म सञ्चालन भए पनि दुवै माध्यमिक विद्यालयमा सो तहको शिक्षक दरबन्दी छैन् । ‘निमावि तहमा एउटा स्थायी दरबन्दी छ’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम पाठकले भने, ‘४६ जना प्रावि तहको दरबन्दीमा शिक्षक हुनुहुन्छ ।

अन्य सबै रिक्त छ ।’ सरकारी स्थायी दरबन्दी नपाएपछि पालिकाले मावि राहत दरबन्दीमा चारजना र निमावि राहत दरबन्दीमा दुईजना शिक्षकको व्यवस्था गरेको छ । ‘यही जनशक्तिबाट पठनपाठन चलिरहेको छ’ शिक्षा शाखाका प्रमुख पाठकले भने ।

शिक्षा ऐन, नियमावलीमा हिमाली क्षेत्रका एउटा कक्षामा औसतमा २५ जना विद्यार्थी हुनुपर्ने बाध्यकारी व्यवस्था गरेकोे छ । ‘यो नियमले चुमनुब्री जस्तो दुर्गम ठाउँमा दरबन्दी थपिँदैन’, गाउँपालिकाका अध्यक्ष लामाले भने ‘भौगोलिक बिकटता भएको ठाउँमा विद्यार्थी अनुपातमा भन्दा दुरीको आधारमा दरबन्दी दिने ब्यवस्था गर्नुपर्छ ।’

एउटा कक्षामा २५ जना पु¥याउन सक्ने अवस्था दुर्गममा नहुँदा विद्यालयलाई स्थायी दरबन्दी दिनुपर्ने अध्यक्ष लामाले पेश गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

दरबन्दी थप नभएको उनले बताए । ‘कतिपय विद्यालयमा १० कक्षासम्म सञ्चालित ४० जना छन्’, उनी भन्छन्, ‘एउटै कक्षामा २५ जना पु¥याउन सम्भव छैन । अर्को विद्यालयमा जान दिनभरि समय लाग्छ, त्यहाँ दरबन्दी नदिने हो भने विद्यालय चलाउन मुस्किल पर्छ’ अध्यक्ष लामाले भने ।

चुमनुब्री गाउँपालिका ३ को बुद्ध मावि आबासीय विद्यालय हो । त्यहाँ पाँच सय भन्दाबढी विद्यार्थी पढ्छन् । ल्हो माविमा करिब ९÷१० मा एक सय हाराहारी विद्यार्थी छन् ।

‘गाउँपालिकाको बजेटबाट शिक्षकको गुणस्तर बढाउन केही बजेट बिनियोजन भईरहेको छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने ‘दरबन्दीपूर्ति भए त्यो बजेट विद्यालयको भौतिक, प्राविधिक, आधुनिक शिक्षक सिकाईको क्षेत्रमा खर्च गर्न सकिन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्