| मङ्लबार, कार्तिक २४, २०८३

लोकप्रिय मत आयो, अन्तरघातले हा¥यौँ : गोरखा कांग्रेस

नेपाली कांग्रेस गोरखाले लोकप्रिय मत धेरै आउँदा आउँदै अन्तरघातले स्थानीय तहको निर्वाचनमा कांग्रेसले अपेक्षाकृत विजयी हाँसिल गर्न नसकेको जनाएको छ । सोमवार र मंगलवार उम्मेदवारहरुसँग स्थानीय निर्वाचनको विषयमा अन्तरक्रिया गरेको कांग्रेस गोरखाले बुधवार पत्रकार सम्मेलन गर्दै पार्टीका उम्मेद्वार बिरुद्ध पार्टी भित्रका ब्यक्तिले काम गर्दा चुनावमा पराजित भएको निश्कर्ष निकालेको हो ।


‘पार्टीका उम्मेदवारबिरुद्ध काम गरेकाहरुलाई अनुशासनको दायरामा ल्याउनुपर्ने माग भएको छ’, जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘यो विषयमा जिल्ला कार्यसमितिले गम्भीर अध्ययन गरिरहेको छ, विधान बिपरीत काम भएको भेटिएमा अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाउँछ ।’


कांग्रेस गोरखाले मतको विश्लेषण गर्दै पालिका प्रमुख पदमा तीन हजार नौ सय २७ मतले माओवादी केन्द्र भन्दा कम रहेको जनाएको छ । केही पालिकामा घोषित वा अघोषित रुपमा अन्य पार्टीहरु बीच तालमेल भएकाले प्रमुख पदमा मतान्तर धेरै देखिए पनि वडामा भने आफ्नो मत धेरै रहेको दावी कांग्रेसले गरेको छ ।


वडा अध्यक्षमा कांग्रेसले ४८ हजार दुई सय १२ मत प्राप्त गरेको जनाएको छ । यस्तै माओवादी केन्द्रले ४७ हजार पाँचसय ४२ मत प्राप्त गरेको छ । यो मतलाई आधार बनाएर कांग्रेसले प्राविधिक रुपमा प्रमुख, उपप्रमुखमा केही मत कम ल्याएपनि लोकप्रिय मतमा भने अघि रहेको जिल्ला सभापति न्यौपानेले दावी गरे ।


गोरखामा स्थानीय तहको चार सय ८७ सिट मध्ये कांग्रेसले दुई सय १६ र माओवादी केन्द्रले दुई सय पाँच, एमालेले ५०, जनता समाजवादी पार्टीले १५ र स्वतन्त्र एक जना बिजयी भएका छन् ।


कांग्रेस जिल्ला कार्यसमितिले गरेको समीक्षा बैठकमा सबैजसो नेता कार्यकर्ताले पार्टी भित्रकै अन्तरघात चुनाव पराजित हुनुको मुख्य कारण रहेको बताएका छन् । निर्वाचनबाट प्राप्त परिणामलाई स्वीकार गर्दै पार्टी संगठनलाई थप मजबुद बनाउँदै अघि बढ्ने निर्णय जिल्ला कार्य समितिले गरेको सभापति न्यौपानेले बताए ।


स्थानीय निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई कांग्रेसले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्