
आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु
गोरखामा आजदेखि मतदाता नामावली दर्ता र अद्यावधीकको काम सुरु हुने भएको छ ।
निर्वाचन आयोगले सबै जिल्लामा नामावली संकलन र अद्यावधिक गर्न निर्देशन गरेसँगै जिल्ला निर्वाचन कार्यालय गोरखाले आजदेखि फोटोसहितको मतदाता नामावली संकलन थालेको हो ।
‘जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन सुरु हुन्छ’, जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईरालाले भने । इलाका प्रशासन कार्यालय सिर्दिबासमा पनि मतदाता नामावली संकलन सुरु गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ । दुर्गम ठाउँ रहेको र त्यहाँ नामावली संकलन गर्न जाने कर्मचारीलाई तालिम पनि दिनुपर्ने भएकाले केही दिनपछि मात्रै दर्ता प्रक्रिया सुरु हुने कार्यालयले जनाएको छ ।
‘विवरण लिने र नामावली संकलन गर्ने काम केहीदिनमा कर्मचारी पुगेपछि सुरु गर्ने योजनामा छौँ’, निर्वाचन कार्यालयका प्रमुख कोईरालाले भने । आयोगले जिल्ला प्रशासन, निर्वाचन र इलाका प्रशासनबाट नामावली संकलन गर्ने निर्णय गरेको हो । त्यस्तै अस्थाई बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिनेछ ।
अन्यत्र जिल्लाका नागरिकले आफु बसेको ठाउँबाटै आफ्नो नामावली स्थायी ठेगानामै दर्ता गराउन सक्ने आयोगले जनाएको छ । मतदाता नामावलीमा नाम छुटेका, अन्यत्र नामावली भएका, नाम ठेगानामा त्रुटी भएका, नामावली सार्नुपर्नेहरुले पनि सेवा लिन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।




