
गोरखामा ब्लड बैङ्क संचालन गर्ने तयारीमा
गोरखामा रक्त संचार केन्द्र(ब्लड बैङ्क) संचालनका लागि तयारी थालिएको छ । रक्त संचार केन्द्र संचालनका लागि आवश्यक मेसिन सबै उपलब्ध भइसकेको नेपाल रेडक्रस सोसाइटी गोरखा जनाएको छ ।
‘ब्लड बैक संचालनका आवश्यका लागि मेसिन लगायतका सामाग्री सबै उपलब्ध भइसकेको छ । यसका लागि दुई जनाले आवश्यक तालिम लिएर आइसक्नु भएको छ । अव सबै प्रक्रिया पूरा गरे ब्लड बैंक संचालनका लागि तयारी गर्र्दछौँ’, शाखाका सचिव सुवार घिमिरेले भने । अस्टूेलियाको ग्याप भन्ने संस्थाले करिब तीन करोड लागत पर्ने मेसिन उपलब्ध गराएको उनले जानकारी दिए । अब केही सा–साना सामान आउने प्रक्रियामा रहेको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाबाट आएका टोली गोरखाको ब्ल्ड बैङ्कको रिपोट केन्द्रमा बुझाउने उनीहरुबाट निर्णय भएपछि ब्लड बैङ्क संचालनमा आउने उनले बताए । ब्लड बैङ्क संचालनका लागि पाँचजना जनशक्ति चाहिने तर तत्काल दुईजना मात्र राखेर संचालन गर्ने तयारीमा रहेको उनले बताए ।
आर्थिक स्रोत नहुँदा दीर्घकालीन रुपमा संचालन गर्नका लागि भने स्थानीय तहहरुसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए । गोरखामा दैनिक रुपमा दुई पोका रगत खपत हुने उनले बताए । यसअघि पनि रेडक्रस सोसाइडी गोरखा शाखाले विभिन्न कार्यक्रमहरु गरी रगत संकलन गर्दै आइरहेको छ ।
रक्त संचालन सेवा संचालनका लागि मंगलबार गोरखा सदरमुकाममा सरोकारवाला निकायहरुसँग छलफल समेत गरेको थियो । विपद व्यवस्थापन तथा रक्तसंचार सेवा संचालन सम्बन्धी सरोकारवालाहरुसँग वैठकमा सहभागीहरुले जिल्लाका सबै स्थानीय तह, संघसंस्थाहरुको समन्वयमा ब्लड बैङ्कलाई दिर्घकालीनसम्म संचालन गर्न मिल्ने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
गोरखामा ब्लड बैङ्क संचालनका गर्न अति आवश्यक रहेको गोरखाका अस्पतालका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कृष्ण ढकालले बताए । ब्लड बैङ्क संचालन नहुँदा गोरखा अस्पतालमा भर्ना भएका सुत्केरी, सवारी दुर्घटना, दीर्घ रोगी लगायतका विरामीहरुको अप्रेशन गर्न समस्या हुने गरेको उनले बताए ।
त्यस्तै, गोरखा अस्पताल २०६९ सालका ५० शैयाको स्वीकृत प्राप्त गरे पनि अप्रेशन लगायतका कार्य गर्न आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन नहुँदा समस्या भएको समेत उनले बताए । यदि जिल्लामै ब्लड बैङ्क संचालन भएमा चिकित्सकहरुले ढुक्कसँग अप्रेशन गर्ने वातावरण निर्माण हुने र विरामीहरु पनि अप्रेशनका लागि टाढाटाढा धाउन नपर्ने उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा केन्द्रका उपनिर्देशक प्रकाशकुमार यादवले व्यवस्थित रुपमा ब्लड बैङ्क संचालल गर्न चुनौती रहेको र यसमा सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नु पर्ने बताए । ब्लड बैङ्कबाट सुलभ, गुणस्तरीय, मर्यादित रुप सेवा प्रवाह गर्नु पर्ने समेत उनले जोड दिए ।
कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले गत २६ गतेको बर्षापछि बाढीका कारण पालुङटारको वडा ४, ६, ७ र ९ वडामा धेरै क्षति पु¥याएको बताए । बाढीले बाटोघाटो, धान र मकैबालीमा क्षति पु¥याएको बताउँदै अवरुद्ध बनेको सडक भने नगरपालिकाको विपद व्यवस्थापन समितिको वैठकबाट तत्काल खोल्ने निर्णय गरेको उनले जानकारी दिए ।
तर बाढीका कारण गाउँबस्ती जोखिममा परेको बताउँदै ती जोखिम बस्ती स्थानान्तरणका लागि स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी गोरखा आवश्यक योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले विपद व्यवस्थानका लागि हरेक घरघरमा विपद व्यवस्थापन कोष स्थापना गर्नुपर्ने बताएका थिए । कार्यक्रममा रेडक्रस शाखा गोरखा विगत देखि संचालन आएका शाखा गतिविधिहरु बारेमा प्रस्तुतीकरण गरेका थिए ।




