| मङ्लबार, कार्तिक २४, २०८३

जिसस प्रमुख मोहन भन्छन्, ‘दोहन रोक्छु’

गोरखा जिल्ला समन्वय समिति(जिसस) का नवनिर्वाचित प्रमुख मोहनबहादुर थापाले जिल्लकाा विभिन्न स्थानीय तहमा बढिरहेको नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गर्ने बताएका छन् ।

आइतबार जिससका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणका क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले अवैध नदीजन्य पदार्थ दोहनलाई रोक्न प्रभावकारी रुपमा अनगुमन गर्ने बताए ।

‘मैले विगतमा मिडियाहरुमा देख्दा, सुन्दा गोरखामा नदीजन्य पदार्थको ज्यादै दोहन भएको छ । यहाँ अनुगमन भएन, भएर पनि केही काम भएन भन्ने सुनिन्छ’, उनले भने, ‘अव यसलाई कसरी हुन्छ जनताको अगाडि, जनताले अनुभूति गर्ने गरी प्रभावकारी रुपमा अनुगमन गर्ने योजनामा छु ।’

तर अनुगमन गर्ने क्रममा जिससलाई कारवाही गर्ने अधिकार कम भएको उनको गुनासो छ । उनले भने, ‘जिससलाई अधिकारचाहिँ कम भएको हो कि जस्तो लागिरहेको छ, किनभने अनुगमन गरेपछि जसले अनुगमन गरेको हो उसले नै कारवाही गर्नुपर्छ । तर अनुगमन मात्रै गर्ने कार्यान्वय गर्न नपाउने रहेछ । त्यसले गर्दा अलि अपाङ्ग भए जस्तो भयो ।’

जिससमा विगत पाँच वर्षको अवधि प्राविधिक विहिन भएरै बितेको बताउदै अव छिट्टै परिपूर्ति गर्ने उनले प्रतिबद्धता जनाए । ‘अव प्राविधिक परिपूर्ति गर्ने कामलाई प्राथमिकता दिनेछु’ उनले भने ।

जिल्ला भित्रका गाउँपालिका, नगरपालिका, संघ, प्रदेशलाई समन्वय गरेर जनताको हित, समृद्धि र विकासका लागि काम गर्ने र सोहि अुनसार योजना बनाएर अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्