| मङ्लबार, कार्तिक २४, २०८३

जिसस गोरखाका पदाधिकारीद्वारा सपथ ग्रहण

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीदलखनकी लिला परियार चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा बारपाक सुलिकोटका मोहन ढकाल, भिमसेन थापा गाउँपालिकाका मोहम्मद हकिम, गण्डकी गाउँपालिकाका शिवप्रसाद रेग्मी, अजिरकोट गाउँपालिकाबाट इन्दिरा देवकोटा, सिरानचोक गाउँपालिकाबाट मिरा उपरकोटी, धार्चे गाउँपालिकाबाट परमिना घले, पालुङटार नगरपालिकाबाट गंगाबहादुर बयलकोटी चयन भएका छन् ।

प्रमुख, उपप्रमुख सहित सदस्यहरुमा एकल उम्मेदवारी परेपछि सवै पदमा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भए ।
११ वटा स्थानीय तह रहेको गोरखामा जिल्ला समन्वय समितिमा मतदाता पालिका अध्यक्ष र उपाध्यक्ष गरी २२ जना हुन्छन् । उम्मेदवार बन्न भने गाउँ तथा नगर सभा सदस्यहरुले पाउनेछन् । २२ मध्ये माओवादी केन्द्रबाट बिजयी बनेका १५ जना प्रमुख उपप्रमुख छन् भने कांग्रेसबाट बिजयी ७ जना मात्रै छन् ।

माओवादी केन्द्रको दोब्बर मतदाता रहेकाले कांग्रेसले समन्वय समितिमा उम्मेदवारी दिएन ।
नव निर्वाचित समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरलाई मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले सोमवार एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा प्रमुख थापा मगरले उपप्रमुख र सदस्यहरुलाई सपथ ग्रहण गराए ।

मुख्य निर्वाचन अधिकृत बरालले निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । साथै उनले निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मद्धत गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा समितिलाई प्रशंसा पत्र प्रदान गरे ।

सपथ ग्रहण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सकिएको बताउँदै भने ‘जनताको आशा भरोसा जनप्रतिनिधिहरु सँग छ, विश्वास कायम राखेर सुख दुःखमा सहमती हुनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’ साथै उनले पूर्वाग्रह र खराब भावना राखेर काम नगर्न सुझाब दिए । निर्वाचनमा दलको तर्फबाट सहभागी भएपनि सपथ ग्रहणपछि सबैको भएकाले गोरखा जिल्लाको बिकासका लागि रुखो भावना नलिई अघि बढ्न अनुरोध गरे ।

स्थानीय तह निर्वाचन सम्पन्न गर्न सघाउने राजनीतिक दल, नागरिक समाज, सर्वसाधारण, कर्मचारी, सुरक्षाकर्मी सबैलाई उनले धन्यवाद दिए ।

कार्यक्रममा सांसद हरिराज अधिकारीले जनप्रतिनिधिहरुलाई जनताको सेवा र सहभागीतामा ध्यान दिन अनुरोध गर्दै आगामी कार्यकालको सुभकामना ब्यक्त गरे । साथै उनले गोरखा जिल्लाको निर्वाचन ब्यवस्थित रुपमा सम्पन्न गरेको भन्दै निर्वाचन गराउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्