
वाहा ! गोरखा झल्काउने ‘आर्ट’ (फोटो फिचर)
पुरानो गोरखा बजार र संग्रहालय । बिरता झल्काउने गोर्खाली खुकुरी, रामशाहको न्याय दिने चौतारो । त्यसमाथि मनास्लु हिमालको मनै लोभ्याउने दृष्य । अहिले यो दृष्य सामाजिक सञ्जालमा धेरैले पोष्ट गरेका छन् । धेरैले आफ्नो तस्विर सहित सञ्जालमा राख्न थालेपछि सबैको चासो बढेको छ ।


यो हो गोरखा झल्काउने ‘आर्ट’ । गोरखा सदरमुकाम स्थित पुरानो बसपार्कदेखि बिपी चौतारो तर्फ जाँदै गर्दा बायाँपट्टि पर्खामा यो आर्ट बनाइएको छ । गोरखाको झल्को दिने गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले सुन्दर आर्ट बनाइएको हो ।


बसपार्क देखि विपि चोक सम्म निर्माण गरिएको पर्खालमा मध्य भाग सम्म विभिन्न आकृति बनाइएका छन् । आठ हजार एक सय ५६ मिटर उचाई रहेको गोरखाको मनास्लु हिमाल देखि पुरानो ऐतिहासिक गोरखा बजार आर्टमा देखिन्छ । पर्खालमा निर्माण गरिएको चित्रमा मनास्लु लगायका गोरखामा रहेका विभिन्न साना ठूला हिमालहरु, पहाडहरुसँगै त्यहाँको गाउँबस्तीको झल्को दिने गरी बनाइएको छ ।

चित्रकारले गोरखा बजारको रमणीय दृश्यलाई पर्खालमा रङ्ग्याएका छन् । चौतारोमा बसेर न्याय दिने राजा राम शाहाको आकृती झल्कने गरी तस्विर बनाइएको छ । दृष्यमा उनले चौतारीमा बसेर स्थानीयहरुलाई न्याय र नापतौलका बारेमा प्रशिक्षण दिइरहेको देख्न सकिन्छ । पहिलो र दोस्रो विश्ययुद्धमा भिक्टोरिया क्रस प्राप्त गोरखाकालीहरुको बिरता देखाइएको छ ।

बसपार्कबाट उकालो सुरु हुन अगावै हामीले पुरानो गोरखा बजारको फोटो देख्न सकिन्छ । जहाँ वि.स. १९५७ साल तिरको गोरखा बजार फोटो चित्रमा देखाइएको आर्ट निर्माण अभियानका स्थानीय रन्जित श्रेष्ठले बताए । गोरखा नगरपालिकाले विनियोजना गरेको साढे दुई लाखले पर्खालमा गोरखाको झल्को दिने ‘आर्ट’ निर्माण गरिएको उनले बताए । बजेट कम बिनियोजन भएकाले पर्खाल सबै समेट्ने गरी आर्ट गर्न नसकिएको उनले बताए ।

‘फोहोर भित्ता हेर्नुका सट्टा गोरखालाई चिनाउन र गोरखा बजारको सौन्दर्यता बढाउनका लागि गोरखा झल्काउने चित्र बनाइएको हो, पर्यटकहरु गोरखा आउदा यसबाट थप जानकारी पाउनेछन’ उनले भने । पोखराबाट आएको दुई जना चित्रकारले एक साता लगाएर चित्र बनाएका हुन् । उक्त बाटो भएर गोरखा दरवार जाने वा हिड्ने यात्रीहरु फोटो खिच्न भिडमभिड गरिरहेका देखिन्छन् ।






