
पुस्तक–संवाद : नियात्राकार अर्याल भन्छन् : ‘श्रीमती मेरी साहित्यिक गुरुआमा हुन्’
चुकी निमा रिम्पोछे भन्दा उनका भाइ चुक्लिन रिम्पोछे दीक्षामा अगाडि थिए । ‘मभन्दा भाइ सिनियर’ भनी चुकी निमा स्वीकार्थे । यस्ता उदाहरण बग्रेल्ती छन् । जब कसैले आत्मासात गर्छ, साइनो सम्बन्ध पनि यता उता पर्छ ।
नियात्राकारद्वय गीता रेग्मी र दीपक अर्यालमा यस्तै अर्को उदाहरण स्थापित भएको छ । नाता साइनोले उनीहरु दुई दम्पत्ति हुन् । साहित्यिक कीर्तिका हिसाबले गीता अग्रणी छिन् । त्यसैले शुक्रबार गोरखा सदरमुकाममा आयोजित ‘पाठकका अदालतमा’ पुस्तक संवाद कार्यक्रममा बोल्दै पाइलाका चुम्बन नियात्रा संग्रहका लेखक दीपक अर्यालले आफ्नी अर्धाङ्गिनी प्रसान्तको तीरैतीर नियात्रा संग्रहकी कृतिकार गीता रेग्मीलाई आफ्नो ‘साहित्यिक गुरुआमा’ सम्बोधन गरे ।
गीताका छ वटा कृति प्रकाशित भइसकेका छन् । दीपकको पहिलो कृति पाइलाका चुम्बन हालै प्रकाशन भएको छ ।
गीताको पछिल्लो कृति प्रशान्तको तीरैतीर र दीपकको पहिलो कृति पाइलाका चुम्बन एकैसाथ बजारमा आएका हुन् । दुवै पुस्तकको बिषयमा शुक्रबार आयोजित ‘पाठकको अदालतमा पाइलाका चुम्बन र प्रशान्तको तीरैतीर’ कार्यक्रममा समालोचकहरुले चर्चा गरेका थिए ।
गोरखा क्याम्पसका अध्यापक ईश्वर चौहानले प्रशान्तको तीरैतीर पुस्तकका बिषयमा समालोचना गरेका थिए । उपप्राध्यापक इन्द्रकुमारी देवकोटा र कल्पना तिमिल्सिना(अर्याल)ले पाइलाका चुम्बनका बारेमा कार्यक्रममा टिप्पणी गरेका थिए ।

कार्यक्रममा बोल्दै चौहानले नियात्राकार गीता रेग्मी स्वयं एउटा ‘आन्दोलन’ भएको टिप्पणी गरे । एउटा महिला, एउटा आमा, एउटा सहकारी अभियन्ता कसरी सशक्त लेखिका बनेर स्थापित हुन सक्छ भन्ने कुरा गीताका रेग्मीको जीवनीबाट थाहा हुने उनको भनाइ थियो । साथै उनको लेखनीबाट विदेश र नेपालको शासन व्यवस्थाको अन्तरका बारेमा उनका पुस्तकबाट सरल ढंगले जानकारी पाइने उल्लेख गरेका थिए ।
त्यस्तै समीक्षक इन्द्रकुमारी देवकोटाले दीपक अर्यालको पहिलो कृति भएर पनि नेपाली साहित्य भण्डारका लागि अत्यन्त परिपक्क सामग्री भएको दाबी गरिन् । उनका नेपालभित्रको यात्रापछि लेखिएका आठ र अन्तर्राष्ट्रिय स्तरको भ्रमणका बारेमा लेखिएका आठवटा नियात्रा नेपाली साहित्यका स्थापित लेखकको जत्तिकै दमदार रहेको तर्क गरेकी थिइन् ।
गोरखा साहित्य संगमका अध्यक्ष शिव उप्रेतीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा लेखक रामचन्द्र आचार्य, बद्री मास्के, रामबाबु श्रेष्ठ, सुनील अर्याल, सुनिता सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।




