
औतारी लामाको नयाँ अवतार
पढ्ने, पूजा गर्ने समय अघिपछि उनी सखाहरुसित गुम्बाको पेटीमा खेलिरहेका भेटिन्छन् । आँगन वा कतै छेउकुनामा आफ्नै तालसुरमा मस्त पनि देखिन्छन् । बालसुलभ चकचक गर्छन्, जान अञ्जानमा बिज्याइँ पनि गर्छन् । कुनै बेला मोबाइल फोनमा गेम खेल्छन् ।
हिनाङमा मोबाइल फोनको नेटवर्क छैन त्यसैले फोटो खिच्न, गेम खेल्न मात्र मोबाइल फोनको प्रयोग हुन्छ । बालबय न हो, दौतरीेहरुसित घचेटाघचेट, धकेलाधकेल पनि स्वभाविक मान्नुपर्छ ।
जब गुम्बामा पूजा समय हुन्छ, औपचारिक कार्यक्रमहरु हुन्छन्, लामा गुरुहरु उनको पाउमा पर्छन् । उनलाई खादा चढाउँछन् । दाम राखेर ढोग्छन् । आफूलाई चढाएको खादा ठूला लामा गुरुहरुले झैँ उनी चढाउनेहरुलाई नै फर्काउँछन् । यस्ता दृश्यले संगसंगै खेलिरहेका साथीहरु जिल्ल पर्छन् । खेल्दा जेजस्ता व्यवहार भए पनि सखीहरु उनीसामु नतमस्तक भएर दर्शन गर्छन् ।
उनी अर्थात पासाङ ङिमा । उनी नुब्री हिनाङ पुङ्चे गुम्बामा बस्छन् । अहिले पासाङ ङिमाको उमेर १० बर्ष पुग्यो । उनी लोपेन छेवाङ नोर्वु रिम्पोछेका अवतार हुन् । उनी यहाँ आएको दुई महिना मात्र भयो ।
यो गुम्बा नुब्री क्षेत्रकै प्राचीनमध्यको एक हो । जानकारहरुका अनुसार यो दुईसय बर्ष पुरानो गुम्बा हो । यहाँ माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरु आवासीय रुपमा बस्छन् । अरु धेरै भिक्षु, भिक्षुणीहरु पनि यहाँ छन् । गाउँबस्तीबाट धेरै टाढा, जंगल अग्ला पहाडको बीचमा रहेकाले यो गुम्बा विशेष गरी ध्यानकेन्द्रको रुपमा प्रसिद्ध छ ।
पासाङ ङिमा तीनबर्षको हुँदा उनकी आमा काल्तेन छ्योतमको निधन भयो । उनको मृत्यू भएपछि बुबा साम्डुपले उनलाई मामा लाक्पा नुर्बुको संरक्षणमा छाडेर भारतको मैसुर गुम्बामा गए ।
बिहे गर्नुअघि उनका बुबा आमा साम्डुप र काल्तेन छ्योतम दुवै मैसुर गुम्बाका भिक्षु, भिक्षुणी थिए । उमेर पुगेपछि उनीहरु गुम्बाबाट बाहिरिएर बिहे गरे । गुम्बा जीवन छाडेर गृहस्थी जीवन बिताउन गोरखाको चुमनुब्री गाउँपालिका २ स्यो गाउँमा आए । स्यो उनीहरुको पैत्रिक थलो थियो । जब काल्तेन छ्योतमको मृत्यू भयो, गृहस्थी जीवन नफापेको भन्ने ठानेर तीनबर्षे पासाङ ङिमालाई मामा लाक्पा नुर्बुको काखमा छाडी साम्डुप फेरि मैसुर गुम्बामा गए ।
त्यसयता उनी थानकोट गुम्बामा रहेको ङाग्युर ङिङ्मा मेमोरियल आवासीय विद्यालयमा पढिरहेका थिए । सो विद्यालय सरकारबाट मान्यताप्राप्त गुम्बा विद्यालय हो । यहाँ नेपाली, अंग्रेजी र तिब्बती भाषा(सम्बोता लिपि)मा पढाइ हुन्छ ।
एकबर्षअघि एकदिन नुब्री हिनाङ पुङ्चे गुम्बामा सिक्किमस्थित अ देउराली गुम्बाका दोटुपछेन रिम्पोछेले पठाएको पत्र प्राप्त भयो । पत्र पाएपछि यहाँका लामा गुरुहरु तीनछक परे ।
चिठीमा थानकोटको ङाग्युर ङिङ्मा मेमोरियल स्कूलमा अध्ययनरत पासाङ ङिमा १६ बर्षअघि मृत्यू भएका नुब्री हिनाङ पुङ्चे गुम्बाका लोपेन छेवाङ नोर्बु रिम्पोछेको नयाँ अवतार हुन् भनेर पुष्टि गरिएको थियो ।
तिब्बतबाट सिक्किममा आएका दोटुपछेन रिम्पोछेलाई ङिङ्मापा संप्रदायका सबैभन्दा ठूला र सबैभन्दा शक्तिशाली गुरु मानिन्थ्यो । केही महिनाअघि उनको निधन भएको छ ।

गुम्बा पूजामा औतारी लामा पासाङ ङिमालाई सम्मानका साथ अघि लगाउँदै लामा गुरु। तस्बिर : शिव उप्रेती
सिक्किम देउराली गुम्बाको लेटरप्याड र छापमा दोटुप रिम्पोछेले पठाएको पत्रमा उनी छेवाङ नोर्बु रिम्पोछेको अवतार भन्ने प्रमाणित गरिएको प्रमाणपत्र पनि संलग्न थियो । सो चिठी प्राप्त भएको एकबर्षपछि हालसालै पासाङ ङिमालाई हिनाङस्थित पुङ्चे गुम्बामा ल्याइएको हो । अहिले उनलाई लोपेन छेवाङ नोर्बु रिम्पोछेको आसनमा बसाइएको छ । हरेक वारियता क्रममा उनलाई छेवाङ नोर्बु रिम्पोछेकै स्थान दिने गरिएको छ । लोपेन छेवाङ नोर्बु रिम्पोछेको १६ बर्षअघि निधन भएको थियो । उनको निधन भएपछि पुङ्चे गुम्बाले सबैभन्दा भरोसा गर्ने गरेको सिक्किमको देउराली गुम्बाका मुख्य लामा लामालाई पत्राचार गरी नयाँ अवतार पहिचान गरिदिन अनुरोध गरेको थियो ।
‘सोधेको तीनबर्षपछि रिम्पोछेबाट जवाफ आएको हो’, पुङ्चे गुम्बाका लोपेन लाक्पा नुर्बु लामा भन्छन्, ‘उहाँ छेवाङ नुर्बु रिम्पोछेको अवतार हो भन्ने भन्ने थाहा भएपछि हालसालै उहाँलाई यहाँ ल्याएका छौँ । उहाँले यहाँ रहेका छेवाङ नुर्बु रिम्पोछेले प्रयोग गर्ने गरेका डूम, बेल, माला, ढ्याङ्ग्रो, पुस्तकलगायत पूजामा प्रयोग हुने सामग्रीहरु ‘यो मेरो हो’ भनेर प्रयोग गर्ने गर्नुहुन्छ । यहाँ आउने बित्तिकै मेरो छोरी कन्छोक डोल्मा कहाँ छिन् भनेर सोध्नुभयो ।
अनि मैसुरमा छिन् भनेर जवाफ दिएपछि ए, अँ, अँ भन्नुभयो ।’ पासाङ ङिमामा बेलाबेला छेवाङ नुर्बु रिम्पोछेमा रहेको बानी छोटो समयका लागि देखा पर्छ । ‘अरु बेला त साथीहरुसित खेलिरहनुहुन्छ तर बेलाबेला करिब ३० सेकेण्डजति छेवाङ नुर्बु रिम्पोछेको बानी देखिन्छ’, लोपेन लाक्पा नुर्बु लामाले भने, ‘छेवाङ नुर्बु रिम्पोछे हाम्रो नुब्री क्षेत्रको धेरै ठूलो लामा गुरु हो । अहिलेका धेरै रिम्पोछे, टुल्कु, खेन्पो, लोपेनहरु उहाँका चेला हुनुहुन्छ ।’ रिम्पोछेले हिनाङस्थित एक गुफामा ३० बर्षसम्म ध्यान गरेको उनले बताए ।
औतारी लामा भनेको के हो
नेपाली शव्दकोष र विकिपिडियामा औतारी लामाको अर्थ ‘इच्छाअनुसार जन्म लिने र अघिल्लो जन्मको कुरा जान्ने भनी लोकधारणाले मानेको तिब्बती धर्माचार्य’ उल्लेख छ ।
वौद्ध धर्म संस्कृतिमा हिनायाना, महायाना र बज्रयाना गरी लामा गुरुलाई तीन प्रकारमा वर्गीकरण गर्ने गरिन्छ ।
खेन्पो चुल्त्रिम तेन्तरका अनुसार हिनायाना संप्रदायमा तन, मन र वचनलाई प्राथमिकता दिइन्छ । यो संप्रदाय सुत्रमा विश्वास गर्छन् । हिनायानामा विवाह वा गृहस्थ जीवन बर्जित छ ।
महायाना मन र चित्तमा आधारित छ । उनीहरु शुत्रमा विश्वास राख्छन् । यो संप्रदायमा बिहे गर्न अनुमति छ ।
बज्रयाना तन्त्रमा विश्वास राख्छन् । यस संप्रदायमा पनि बिहे गर्न अनुमति छ ।
गोरखाको नुब्री क्षेत्रमा ङिङ्मापा संप्रदायको बाहुल्यता छ ।
खेन्पो चुल्त्रिम तेन्तर भन्छन्, ‘वौध धर्म संस्कृतिमा अवतार अथवा पुनर्जन्मको गहिरो विश्वास छ । औतारी लामा भनेको दिवंगत भएका शक्तिशाली लामा गुरुहरु पुनर्जन्म भएर आएका लामा गुरु हुन् । पुनर्जन्म सबैको हुन्छ । शक्तिशाली लामा गुरुहरुको नयाँ अवतारको घनिभूत खोजी हुन्छ र पत्ता लाग्छ । अरु सामान्य व्यक्तिको खासै खोजी हुदैन, त्यसैले पत्ता नलागेको हो ।’ नयाँ अवतारले पूर्वजन्मको स्मरण गर्छन् । पूर्वजन्ममा प्रयोग गरेका सामग्रीको प्रयोग गर्छन् । पूर्वजन्मका आफन्तहरुको खोजी गर्छन् ।
औतारी लामालाई नेपाल सरकारले पहिचान दिएको छ । आधिकारिक संस्था गुम्बा विकास समितिले औतारी लामाको पहिचान गरी आफ्नो विनियममा औतारी लामाको काम कर्तव्य र अधिकारको सुनिश्चितता गरेको छ । परम्परागत रुपमा गुम्बामा संचालन हुने दैनिक वा चाडपर्वहरुमा गर्ने पूजापाठको निर्धारण गरी पूजापाठ, अभ्यास गर्ने र प्रशिक्षण दिने जिम्मेवारी औतारी लामाको हो भनेर समितिको विनियममा उल्लेख छ ।
त्यस्तै बौद्ध धर्म, संस्कृति, परम्पराको संरक्षण तथा संबद्र्धन गर्न बुद्ध जयन्ती, त्रिपिटिका पाठ र अन्य कार्यक्रमहरुको वार्षिक पात्रो तयार गरी संचालन गर्ने, अभिषेक (वाङ), आगम (लुङ) र व्यख्यान (ठि) प्रदान गर्ने गुरुको व्यवस्था गर्नेछ, गुम्बाको भौतिक पूर्वाधार निर्माणमा बौद्ध कला र संस्कृति झल्काउने र आवश्यक पूजापाठको सामाग्री खरिद गर्न कार्य समितिमा सल्लाहकारको भूमिका निर्वाह गर्ने, बौद्ध धर्मको परम्परा अनुसार समुदायमा पर्ने जन्म(न्वारन, मृत्यु(फोवा लगायत अन्य पूजापाठ गर्ने वा व्यवस्था गर्ने, नव प्रवेश अ गरेको विद्यार्थीहरुलाई आवश्यक प्रवज्या, शिल दिनेवा आवश्यक शिल दिने गुरुको व्यवस्था गर्ने लगायतका जिम्मेवारी विनियममा औतारी लामाको रहेको छ ।




